केपीपछि पौडेल अध्यक्ष ?
वि.सं.२०८३ साउन १५ शुक्रवार
shares
काठमाडौँ ।नेकपा एमालेभित्र देखिएको शक्ति संघर्ष फरक शैलीमा अघि बढेको छ । सम्पत्ति शुद्धीकरणको कठघराबाट उम्किएका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केपी ओलीपछिको अध्यक्ष पद पाउने आशमा एकाएक निष्क्रिय बसेपछि एमाले पुनर्गठनको मुद्दाले फरक रूप लिन थालेको छ । विगतदेखि नै ‘फुटाऊ र राज गर’को नीति लिएका ओली एकपटक पुनः सफल भएको एमालेभित्र चर्चा छ ।
विगतमा विद्या भण्डारीविरुद्ध विष्णु पौडेल र शंकर पोखरेललाई प्रयोग गरेका केपी ओलीले अहिले महासचिव शंकर र विष्णु पौडेललाई जुधाएर फाइदा लिइरहेका छन् । आफू उमेर र स्वास्थ्यका कारण अन्तिम राजनीतिक चरणमा पुगेकाले अबको अध्यक्ष विष्णु पौडेललाई ‘उधारो’मा सुम्पिएर ओली पुनः राज गर्न सफल भएको चर्चा छ । त्यसकारण पनि पौडेल अहिले चुपचाप रहेका छन् । आफूलाई थुनाउन ओलीको पनि हात रहेको खुलेआम बताएका पौडेल अहिले पार्टी एक भएर अघि बढे मात्र प्रतिद्वन्द्वीसँग लड्न सकिने बताउन थालेका छन् ।
त्यसको छनकस्वरूप ओलीले पुष्पकमल दाहालसँग प्रदेशको सम्झौता गर्दा पौडेललाई मात्र साथ लिएको बताइन्छ । अध्यक्ष पदको ‘उधारो’ आश्वासन पाएपछि पौडेल ओलीको पक्षमा लागेको पौडेलनिकट एक नेताले बताएका थिए । लुम्बिनीको मुख्यमन्त्री चयनमा पौडेलले खासै चासो नराख्नुलाई पनि यही सम्झौताको उपज भएको जानकारहरू बताउँछन् ।
यद्यपि, आफ्नो स्वार्थका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने विष्णु पौडेलले महासचिव शंकर पोखरेललाई पाखा लगाउन खोजेको र सोअनुसार सफल भएको लुम्बिनीका एक एमाले नेताले बताए । सुरुमा विद्या भण्डारीलाई उचालेर अघि बढेका पौडेलले विद्यासँग पनि शंकरको पानी बाराबारको स्थिति बनाइदिएको ती नेताको दाबी छ । अहिले पार्टी पुनर्गठनको नाममा शंकरलाई केपीविरुद्ध उचालेर केपी र शंकरबीच पनि दुश्मनी बढाइदिए । त्यसपछि आफू भने ओलीसँग घाँटी जोडेर आगामी अध्यक्ष पदका लागि ‘उधारो’ सम्झौता गरेको ती नेताले बताए ।





























