नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ४० नयाँ मोडल सार्वजनिक हुने
वि.सं.२०८३ साउन २४ आइतवार
shares
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ। एक्स्पोमा सहभागी हुने विभिन्न ब्रान्डका स्टल निर्माण, व्यवस्थापन तथा अन्य आवश्यक तयारीलाई आयोजकले तीव्रता दिएको जनाएको छ।
एक्स्पो सुरु हुन दुई दिन मात्रै बाँकी रहँदा अधिकांश स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ। नाइमा एक्स्पो तयारी समितिका सदस्य निराकर श्रेष्ठका अनुसार व्यवस्थापन पक्ष र प्रदर्शकहरूले आ–आफ्नो जिम्मेवारीअनुसार तयारीलाई तीव्र बनाएका छन्।
उनका अनुसार हालसम्म प्रदर्शनीमा राखिने स्टलहरूको करिब ५० देखि ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। बाँकी काम पनि एक्स्पो सुरु हुनुअघि नै पूरा गर्ने लक्ष्य राखिएको छ।
श्रेष्ठले व्यवस्थापनतर्फका आवश्यक कामसँगै प्रदर्शक कम्पनीहरूले पनि स्टल निर्माणलाई तीव्रता दिएको बताए। हालको प्रगतिअनुसार निर्धारित समयभन्दा अगावै सम्पूर्ण स्टल तयार हुने अपेक्षा आयोजकको छ।
पार्किङ व्यवस्थापनमा विशेष ध्यान
यसपटक एक्स्पोमा आउने दर्शकको सहजतालाई ध्यानमा राख्दै पार्किङ व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ।
भृकुटीमण्डप परिसरको पार्किङलाई व्यवस्थित गर्नुका साथै नेपाल पुलिस क्लब क्षेत्रमा रहेको भूमिगत पार्किङसमेत प्रयोगमा ल्याउने तयारी गरिएको आयोजकले जनाएको छ। यसबाट विगतको तुलनामा पार्किङको समस्या केही सहज हुने अपेक्षा गरिएको छ।
५५ ब्रान्ड, ४० नयाँ मोडल
नाइमा मोबिलिटी एक्स्पो २०२६ को प्रमुख आकर्षणका रूपमा नयाँ मोडलका कार तथा मोटरसाइकल रहने भएका छन्।
आयोजकका अनुसार एक्स्पोमा विभिन्न ५५ वटा ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिनेछन्। तीमध्ये करिब ४० वटा नयाँ मोडल सार्वजनिक तथा लन्च गर्ने तयारी गरिएको छ।
नयाँ सवारीसाधनको सार्वजनिक तथा लन्चिङले यसपटकको एक्स्पोलाई थप आकर्षक बनाउने आयोजकको विश्वास छ।
डिजिटल टिकटमा ५० प्रतिशतसम्म क्यासब्याक
आगन्तुकको सुविधाका लागि यसपटक डिजिटल टिकटको व्यवस्था गरिएको छ। डिजिटल माध्यमबाट टिकट खरिद गर्दा अधिकतम ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी एक्स्पो परिसरमा फुड कोर्ट तथा विभिन्न बेभरेज एक्सपिरियन्सको समेत व्यवस्था गरिनेछ। सवारीसाधन अवलोकनसँगै खानपिन र मनोरञ्जनको सुविधा उपलब्ध गराएर पारिवारिक वातावरण सिर्जना गर्ने तयारी आयोजकको छ।
गत वर्षभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य
नाइमा मोबिलिटी एक्स्पोको यो दोस्रो संस्करण हो। गत वर्ष आयोजना गरिएको पहिलो संस्करणबाट प्राप्त सफलतालाई निरन्तरता दिँदै यसपटक थप ब्रान्ड र नयाँ मोडललाई सहभागी गराइएको आयोजकले जनाएको छ।
गत वर्षको एक्स्पोमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेको बताउँदै आयोजकले यसपटक त्योभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य राखेको छ।
एक्स्पोमा सवारीसाधनको प्रदर्शनी र नयाँ मोडलको लन्चिङसँगै अटोमोबाइल उद्योगसँग सम्बन्धित ज्ञान तथा सूचना आदानप्रदानका कार्यक्रम पनि सञ्चालन गरिनेछन्। यस्ता कार्यक्रमले विद्यार्थी, अटोमोबाइलप्रेमी तथा उद्योगका विभिन्न सरोकारवालालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
नयाँ मोडलका सवारीसाधनको सार्वजनिक, विभिन्न ब्रान्डको सहभागिता, डिजिटल टिकटमा क्यासब्याक, फुड कोर्ट तथा अटोमोबाइल क्षेत्रसम्बन्धी ज्ञान आदानप्रदानका कार्यक्रमलाई यसपटकको एक्स्पोका मुख्य आकर्षणका रूपमा हेरिएको छ।
स्टल निर्माण तथा अन्य व्यवस्थापनका काम अन्तिम चरणमा पुगिसकेकाले निर्धारित समयमै एक्स्पो सञ्चालनका लागि पूर्ण रूपमा तयार हुने आयोजकले जनाएको छ।





























