देश बनाउने नारा लगाएर सत्तामा पुग्ने, जनताले तिरेको कर र विदेशी ऋण लुट्ने !
वि.सं.२०८३ साउन २५ सोमवार
shares
जनताले राज्यलाई जन्मिएदेखि मर्दासम्म कर तिर्छन् । गर्भ आएदेखि दाहसंस्कार गर्दासम्म राज्यलाई कर तिर्नुपर्छ । आफूले झुत्रो लगाएर, खाएर–नखाएर सर्वसाधारणले राज्यलाई कर तिरेका छन् । हरेक सरकारी सेवासुविधा लिँदा अनिवार्य कर बुझाउनुपर्छ । राज्यले रोजगारी दिन नसक्दा जनता रोजगारीका लागि विदेश पुगेका छन् ।
उनीहरुले काम गरेर पठाएको पैसाबाट पनि राज्यले कर काट्छ । जनताले कर तिरिरहेकै छन् तर के पाएका छन् ? त्यसैले जनता प्रश्न गर्छन्–जनताले तिरेको कर खोइ ? विदेशबाट आएको रेमिट्यान्स कहाँ छ ? विगतको सरकारले लिएको ३२ खर्ब कहाँ गयो ? बालेन्द्र सरकारले लिएको तीन खर्ब कहाँ हालियो ?आर्थिक वर्षको शुरुवातमै सरकार आन्तरिक ऋण लिन थालेको छ । आखिर पैसा जान्छचाँहि कहाँ ? जनताले त कर तिरिरहेकै छन् । तैपनि वैदेशिक ऋण लिने कार्यमा कमी आएको छैन । सिधा भन्दाखेरि यो पैसा जनप्रतिनिधि र कर्मचारीले खाएका हुन् । २०३२ सालमा ३२ देखि ३५ रुपैयाँ तलब खानेहरु अहिले ४५ देखि ५० हजार पेन्सन खान्छन् ।
सरकारी कर्मचारीको तलब बढेर लाख नाघेको छ । यता कर्मचारीको तलब बढाउने उता आफ्नो । सरकारी कर्मचारीको तलब बढेसँगै राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदलगायतको तलब बढ्छ । आफूहरु खानका निम्ति सरकारले धमाधम कर्मचारीको तलब बढायो । त्योसँगै पेन्सन पनि बढ्यो ।आर्थिक वर्ष २०८३–८४ को बजेटबाट २१ प्रतिशत तलब वृद्धि गरिएको छ । पाँच हजार महँगी भत्ता यथावत् राखिएको छ । ४० हजार खानेको तलब ७० हजार पुगेको छ । ७० हजार खानेको एक लाख नाघेको छ । अब भनौं–जनताले कर तिर्न सक्छन् ? यिनीहरुको तलब र सेवासुविधाका लागि जनताले कहिलेसम्म भार बोक्ने ?
कर तिर्ने जनतालाई बिरामी पर्दा सिटामोल छैन, सरकारचाँहि कर्मचारी र जनप्रतिनिधिको तलब र सेवासुविधा बढाएको बढ्यै गर्छ । सरकारले कर्मचारी र जनप्रतिनिधिको तलब बढायो, जनतालाई त महँगी मात्रै बढ्यो । जनतालाई बाँच्न गाह्रो पर्ने स्थिति आयो । कर्मचारीको तलब बढाइरहँदा नयाँ भनाउँदा सरकारले पनि जनताको विषयमा सोचेको पाइएन ।एकातिर आफ्नोसहित कर्मचारीको तलब बढाउने सरकारका प्रधानमन्त्री बालेन्द्र साहले वालुवाटारमा नयाँ खाट, एसीलगायत खरिदका लागि एक करोड ४० लाख बजेट छुट्याउन लगाए । वालुवाटारमा पहिले खाट थिएन ? पुराना प्रधानमन्त्री पहिले भुइँमा सुत्थें ? खाट हुँदाहुँदै पनि उनलाई नयाँ चाहियो ।
त्यति बजेटले कतै पुल बन्थ्यो । स्कुल निर्माण हुन्थ्यो, अस्पताल बन्थ्यो । तर, उनले त्यो सोचेनन् । उनी देश बनाउन आएका रहेछन् कि लुट्न ? यही एउटा उदाहरण काफी छ । १० वर्ष जनयुद्ध लडेर आएका पुष्पकमल दाहालले पहिलोपटक प्रधानमन्त्री हुँदा डेढ लाखको खाट खरिद गरेका थिए ।उनको नारा देश बनाउने थियो, तर विलासितामा रमाए । त्यसैले त आज प्रचण्डको यो हविगत भयो । बालेनको नारा पनि देश बनाउने नै छ । तर, पारा देश बनाउने देखिँदैन । विलासिताको पछाडि रम्दा बालेनको पनि सोही हविगत हुन बेर छैन । केपी ओली पनि देश बनाउने नै भनेर १४ वर्ष जेल बसे ।
उनको हातमा तीन करोडको घडी छ, दिनमा ७० हजारको पानी पिउछन् । शेरबहादुर देउवाको घरमा जेनजी प्रदर्शनताका महँगो रक्सी फेला परेको थियो । पुरानाहरु विलासितामा हराए, जनताका निम्ति केही गरेनन्, जनतालाई सँधै महँगीको मारमा पारे, जनताको ढाड सेके भनेर त्यत्रो आन्दोलन भएको होइन ।विडम्बना, बालेन सरकारले पनि त्यसबाट पाठ सिकेन । जनता उपचार गर्न नसकेर अस्पतालको छतबाट हाम्फालिरहेका छन् । सुनकोशीमा गएर हाम्फालिरहेका छन् । मागेर खाने जनता यत्तिकै छन् । गरिबी हट्यो, देश बन्यो ? जो सत्तामा पुगेको छ, उसले लुटेकै छ । सरकारी कर्मचारी आफूलाई राष्ट्रसेवक भन्छन् ।
तर, तिनले राष्ट्रलाई केही सेवा गरेका छैनन् । राजनीतिक पार्टीको झोले बनेर आफ्नो तलब बढाएका छन् । जनतालाई समयमै सेवा नदिएर दुःख दिएका छन् । घुस खाएका छन्, भ्रष्टाचार गरेका छन् । जनताले तिरेको कर सखाप पार्नमा जनप्रतिनिधि र कर्मचारीको सराबरी छ ।सत्तामा पुग्ने सबैभन्दा सजिलो नारा देश बनाउने भयो । सबै देश बनाउने नारा लगाउँछन्, तर वास्तवमै देश बन्छ कहिले ? जनताले नेपाल बनेको कहिले हेर्न पाउँछन् ? सहकारी ठगीको आरोप लागेका रवि लामिछाने देश बनाउने भन्दै हिँडेका छन् । जोविरुद्ध पाँच वटा अदालतमा सहकारी ठगीको मुद्दा चलिरहेको छ, उसले पनि देश बनाउने रे ।
देश बनाउने नारा एकदमै सस्तो भो । जनता पनि देश बनाउने भन्ने नारा सुन्नेबित्तिकै मतदान गर्छन् । तर, देश कहिल्यै बन्दैन । देश बिग्रिनुमा जनता पनि हिस्सेदार छन् । नेपालमा जनता होइनन्, पार्टीका कार्यकर्ता छन् । उनीहरुलाई देशभन्दा पार्टीको बढी माया छ ।जसलाई आफू जन्मेको भूमि र आमाको माया छैन, उसले देश बनाउँछ । नेता र कर्मचारीले देश बेचेर आफूहरु मोजमस्ती गरेका छन् । यिनीहरुले देश धितो राखेर विदेशी ऋण ल्याएका छन् । त्यो पैसामा उनीहरुले खाएका छन् ।
जनताले त के पाएका छन् ? उपचार पाएका छैनन् ।स्वास्थ्य र शिक्षाबाट जनता अझै वञ्चित छन् । देखाउनलाई यहाँ सबैलाई देशको माया छ । पूर्वराजा ज्ञानेन्द्रकै कुरा गरौं । राजतन्त्र हटेपछि पूर्वराजा ज्ञानेन्द्र नागार्जुनको जंगलमा गएर बसेका छन् । उनले देश छोडेनन् । तर, राज्यबाट सेवासुविधा लिइरहेका छन् । जनताले राजा पनि पाल्नुपरेको छ, राष्ट्रपति पनि ।
यहाँ यसरी जनतालाई उल्लु बनाइँदै छ ।
हामी राष्ट्रका लागि लडेको भन्ने, राज्य १० लाख दिने, शहिद घोषणा गर्ने । त्यो आफ्ना सन्तान बेचेको होइन ? शहिद त राष्ट्रका लागि जीवन समर्पित गर्ने व्यक्ति हुन् । तर, पद र पैसामा शहिदको साटफेर भइरहेको छ । उनीहरु कसरी शहिद बने ?आफन्त मरेका छन्, राज्यबाट पैसा बुझ्छन् अनि सांसद पनि बन्छन् । पैसा र पदमा पाइसकेकाका आफन्त कसरी शहिद हुनसक्छन् ? सबै जना नेपाल सकाउनतिर लागेका छन् ।
यो देशको माया कसैलाई छैन । पृथ्वीनारायण शाहले टुक्राटुक्रा जोडेर नेपाल बनाएका थिए ।नेता र कर्मचारीले एउटै नेपाललाई टुक्राटुक्रा बनाउने भए । यदि कोहीसँग क्षमता छ भने विदेशीबाट ल्याएको ऋण मिनाहा गर । नेपाललाई ऋणको दलदलबाट निकालौं । नत्र भोलि नेपाल नै नरहन सक्छन् । ऋण तिर्न नसक्नेबित्तिकै भोलि नेपाल सकिन्छ । नेपाल बचाउने एउटै उपाय ऋण मिनाहा हो ।
नेपाल ब्ल्याकलिष्टमा जानका लागि पाँच महिना बाँकी छ । देश कालोसूचीमा गयो भने विदेशीले अनुदान पनि दिँदैन, ऋण पनि । नेपालले अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन पनि पाउँदैन । देश बचाउनुपर्छ भन्ने सोच कसैमा छैन ।





























