नाइमा मोबिलिटी एक्स्पोको भव्य उद्घाटन, पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक
वि.सं.२०८३ साउन २६ मंगलवार
shares
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा काठमाडौंमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को विशेष समारोहबीच भव्य उद्घाटन गरिएको छ।
नेपाल प्रहरी क्लबस्थित प्रदर्शनी हलमा मंगलबार बिहान आयोजित विशेष कार्यक्रममा स्पेसल प्यानल अफ गेस्टले एक्स्पोको उद्घाटन गरेको हो। एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ। एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।उद्घाटन समारोहमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधनको किनबेच गर्ने थलो मात्र नभई नेपालको समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको बताइन्।
उनले नेपालमा पटक–पटक परिवर्तन भइरहने नीतिगत व्यवस्थाले व्यवसायी तथा लगानीकर्तामा अनिश्चितता सिर्जना गरेको भन्दै नयाँ लगानी आकर्षित गर्न स्थिर र पूर्वानुमानयोग्य नीति आवश्यक रहेको बताइन्। निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र नीति परिवर्तन गर्न उनले सरकारलाई सुझाव दिइन्।कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक कार्कीले अटोमोबाइल व्यवसायले सवारीसाधन बिक्रीमा मात्र केन्द्रित नभई सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिनुपर्ने बताए। उनले विशेषगरी सवारीसाधनको बिक्रीपछिको सेवा र सुरक्षाका विषयमा व्यवसायीले थप ध्यान दिनुपर्ने धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई लामो समयदेखि मुख्यतः राजस्व संकलनको स्रोतका रूपमा हेर्दै आएको गुनासो गरे।उनले अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तुका रूपमा मात्र नहेरी आधुनिक अर्थतन्त्र र जनजीवनका लागि आवश्यक क्षेत्रका रूपमा बुझ्नुपर्ने बताए। नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वकै उच्चमध्ये भन्सार दर लागू रहेको उल्लेख गर्दै उनले विद्युतीय सवारीका लागि पनि स्थिर र दीर्घकालीन नीति आवश्यक रहेको बताए।
निजी क्षेत्र लगानीका लागि तयार रहेको तर त्यसका लागि सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ।त्यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो मात्रामा राजस्व उपलब्ध गराउने क्षेत्रमध्ये एक भएकाले यसको विकासलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।उनले यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले नेपालको समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी अब यातायातको विषयमा मात्र सीमित नरहेको बताए। उनका अनुसार मोबिलिटी क्षेत्र प्रत्यक्ष रूपमा देशको आर्थिक विकाससँग जोडिएको छ।उनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको दाबी गर्दै बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता क्षेत्रसँग पनि यसको प्रत्यक्ष सम्बन्ध रहेको बताए।
मोबिलिटी क्षेत्रलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने उनको भनाइ छ।एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनसहित विभिन्न नयाँ प्रविधिका सवारीसाधन एक्स्पोका प्रमुख आकर्षण बनेका छन्।
नेपालमा पहिलोपटक प्रवेश गरेका केही ब्रान्डदेखि बजारमा रहेका ब्रान्डका नयाँ मोडलसम्म एक्स्पोमा प्रदर्शन गरिएको आयोजकले जनाएको छ।एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले पनि सवारीसाधन खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जाको सुविधा उपलब्ध गराएका छन्।एक्स्पोको पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फाइनान्सियल ड्राइभ : मोबिलाइजिङ फ्युचर इकोनोमिक ग्रोथ’ विषयमा विशेष प्यानल छलफलसमेत आयोजना गरिएको थियो।
पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष रितु सिंह वैद्य सहभागी थिए।उक्त ‘लर्निङ सेसन’मा मात्र तीन सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।
एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा विभिन्न लर्निङ सेसन, पोलिसी डाइलग तथा उद्योगसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ।यसै क्रममा ग्रान्डी इन्टरनेसनल हस्पिटलको तर्फबाट ‘बेसिक लाइफ सपोर्ट एन्ड इमिडिएट केयर एट रोड ट्राफिक एक्सिडेन्ट्स’ विषयमा जानकारीमूलक विशेष प्रस्तुति पनि दिइएको थियो।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको नाइमा मोबिलिटी एक्स्पोको यो दोस्रो संस्करण ६ दिनसम्म अर्थात् साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता तथा आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ। नयाँ पुस्ताका विद्युतीय कार, ई–स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधनका साथै नयाँ प्रविधि र मोबिलिटी समाधान एक्स्पोका मुख्य आकर्षण बनेका छन्।
एक्स्पोमा विभिन्न बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, चार्जिङ कम्पनी, प्रविधि प्रदायक तथा मोबिलिटीसँग सम्बन्धित संस्थाले पनि आफ्ना सेवा तथा सुविधाबारे जानकारी दिइरहेका छन्।एक्स्पोको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक रहेको छ भने रेडबुल पावर्ड बाईका रूपमा रहेको छ। बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक रहेका छन्।इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स रहेका छन्।
त्यस्तै, टेक्नोलोजी पार्टनरमा बोस (BOSCH), एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स, राइड पार्टनरमा पठाओ नेपाल, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड), हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं तथा मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल रहेका छन्।सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को रहेका छन्।
एक्स्पोको को–टिकेटिङ पार्टनरमा आइएमई खल्ती, क्यूआर पार्टनरमा युनियनपे, अडियो–भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया रहेका छन्।
नाइमा एक्स्पो २०२६ ले विद्युतीय तथा नयाँ पुस्ताका सवारीसाधनको प्रदर्शनीसँगै लगानी, वित्त, सुरक्षा, प्रविधि र दिगो यातायातका विषयमा बहस तथा अन्तरक्रियाका लागि समेत साझा मञ्च उपलब्ध गराएको आयोजकको भनाइ छ।





























