नेपाल एसबिआई बैंकको नाफा १२.८८ प्रतिशतले बढ्यो, लाभांश क्षमता ११.०४ प्रतिशत
वि.सं.२०८३ साउन २७ बुधवार
shares
काठमाडौं । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२.८८ प्रतिशतले बढी हो। बैंकले आव २०८१/८२ मा १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.२९ प्रतिशतले वृद्धि भई ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब २६ करोड ६० लाख रुपैयाँ थियो।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ३० करोड २७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ७ अर्ब १५ करोड ७८ लाख रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यी शीर्षकमा क्रमशः १ अर्ब २१ करोड ६१ लाख, ६ अर्ब ८० करोड ३५ लाख र २ अर्ब ७४ करोड ५२ लाख रुपैयाँ रहेको थियो।
बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ। यसका आधारमा बैंकको लाभांश वितरण क्षमता ११.०४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो क्षमता १०.९८ प्रतिशत थियो।
११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ४८ करोड ६१ लाख रुपैयाँ सञ्चित छ।
बैंकले गत असारसम्म २ खर्ब १२ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ६.६२ प्रतिशतले बढी हो। त्यस्तै, कर्जा लगानी ८.२३ प्रतिशतले बढेर १ खर्ब ४६ अर्ब ७ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको असारसम्म बैंकले १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। बैंकको निक्षेप–कर्जा अनुपात ७१.१६ प्रतिशत रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी पनि सुधार भएको छ। अघिल्लो वर्ष १५.९८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर गत वर्ष १८.०४ रुपैयाँ पुगेको छ। बैंकको मूल्य–आम्दानी अनुपात २१.७७ गुणा तथा प्रतिसेयर नेटवर्थ १९४.७३ रुपैयाँ रहेको छ।
यता, बैंकले खराब कर्जा अनुपातसमेत घटाउन सफल भएको छ। अघिल्लो वर्ष ३.३५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर २.९२ प्रतिशतमा झरेको छ।





























