प्रभु बैंक डुब्ने खतरा बढ्यो : एनपीएल लुकाउँदा पनि १५ प्रतिशत नाघ्यो, वित्तीय सूचकहरु दयनीय
वि.सं.२०८३ साउन २९ शुक्रवार
shares
प्रभु बैंक डुब्ने खतरा बढ्यो : एनपीएल लुकाउँदा पनि १५ प्रतिशत नाघ्यो, वित्तीय सूचकहरु दयनीय
काठमाडौं । प्रभु बैंकको वित्तीय विवरणले बैंकको अवस्था सामान्य नरहेको देखाएको छ।
बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार निष्क्रिय कर्जा (एनपीएल) १५.५५ प्रतिशत पुगेको छ। तर बैंकको खराब कर्जा पहिचान र वर्गीकरणमै प्रश्न उठिरहेको अवस्थामा वास्तविक जोखिम अझ गहिरो रहेको दाबी गरिएको छ। केही आन्तरिक हिसाबले वास्तविक समस्याग्रस्त कर्जा २७ प्रतिशतसम्म पुग्न सक्ने देखिन्छ। यसबाट प्रभु बैंकको अवस्था सार्वजनिक वित्तीय विवरणले देखाएको भन्दा निकै गम्भीर हुने देखिएको छ।
यद्यपि बैंकका सूचना अधिकारी रबिन्द्र ढकालले भने बैंकको खराब कर्जा १५. ५५ प्रतिशत नै रहेको बताए। उनले भने, – बैंकले जे सार्वजनिक गर्यो त्यही नै आधिकारिक विवरण हो।’
तर, अघिल्लो आर्थिक वर्ष ७.०१ प्रतिशत रहेको एनपीएल एक वर्षमै बढेर १५.५५ प्रतिशत पुग्नु आफैंमा खतराको घण्टी हो। अझ बैंकले खराब कर्जा व्यवस्थापन गर्न चौथो त्रैमासमा मात्रै २ अर्ब १७ करोड रुपैयाँसहित वर्षभरि करिब ४ अर्ब ९४ करोड रुपैयाँ प्रोभिजन छुट्याउनुपरेको छ।
नाफा कमाएर बलियो देखिनुपर्ने बैंक अहिले २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा गएको छ। अघिल्लो वर्ष ८७ करोड २३ लाख रुपैयाँ नाफामा रहेको बैंक एक वर्षमै घाटामा पुग्नुले बैंकको कर्जा पोर्टफोलियोमा रहेको जोखिमलाई उजागर गरेको छ।
सबैभन्दा चिन्ताको विषय भनेको सञ्चित नोक्सानी हो। अघिल्लो वर्ष २ अर्ब ५६ करोड रुपैयाँ रहेको सञ्चित नोक्सानी अहिले बढेर ६ अर्ब ३१ करोड रुपैयाँभन्दा माथि पुगेको छ। यसले बैंकको समस्या केवल एक वर्षको नाफा–घाटामा सीमित नरहेको संकेत गर्छ।
अझ बैंकको कर्जा प्रवाह घटेको छ। करिब ३ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी भने २ खर्ब १४ अर्ब रुपैयाँमा सीमित छ। निक्षेपकर्ताको ठूलो रकम बैंकमा थुप्रिएको अवस्थामा कर्जा विस्तार हुन नसक्नु र विद्यमान कर्जामै खराबी बढ्नु बैंक व्यवस्थापनका लागि गम्भीर चुनौती हो।
यहाँ सबैभन्दा ठूलो प्रश्न बैंकको वास्तविक खराब कर्जा कति हो?
१५.५५ प्रतिशत एनपीएल सार्वजनिक गरिए पनि पुनर्संरचना, पुनर्तालिकीकरण, असुली प्रक्रियामा रहेका तथा अन्य वर्गीकरणभित्र रहेका समस्याग्रस्त कर्जालाई जोड्दा वास्तविक जोखिम २७ प्रतिशतसम्म पुग्ने हो भने बैंकको वित्तीय स्वास्थ्य सार्वजनिक विवरणभन्दा निकै कमजोर रहेको मान्नुपर्ने हुन्छ।
यस्तो अवस्थामा बैंक व्यवस्थापनले पारदर्शी रूपमा वास्तविक कर्जा गुणस्तर सार्वजनिक गर्नुपर्छ। नियामक नेपाल राष्ट्र बैंकले पनि बैंकको कर्जा वर्गीकरण, पुनर्संरचना, प्रोभिजनिङ र असुलीको वास्तविक अवस्था गम्भीर रूपमा परीक्षण गर्नुपर्ने देखिन्छ।
निक्षेपकर्ताका लागि अब सबैभन्दा महत्वपूर्ण
प्रभु बैंकमा राखिएको पैसा कति सुरक्षित छ?
बैंकले समस्या समाधानको स्पष्ट रोडम्याप नदिएसम्म निक्षेपकर्ता सचेत हुनुपर्ने अवस्था आएको छ। बैंकको खराब कर्जा नियन्त्रणमा आउन सकेन, प्रोभिजनको भार बढिरह्यो र सञ्चित नोक्सानी थपिँदै गयो भने त्यसको प्रत्यक्ष असर बैंकको पुँजी र निक्षेपकर्ताको विश्वासमा पर्न सक्छ। त्यसैले अहिले प्रभु बैंकका निक्षेपकर्ताले बैंकको वित्तीय अवस्थालाई गम्भीर रूपमा नियाल्नुपर्ने बेला आएको छ। निक्षेप थप्ने कि जोखिम घटाउने? यो प्रश्न अब प्रत्येक निक्षेपकर्ताले आफैंलाई सोध्नुपर्ने अवस्था आएको छ।
प्रभु बैंकको वित्तीय विवरणले दिएको सन्देश स्पष्ट छ—बैंकको समस्या नाफा–घाटाभन्दा धेरै गहिरो छ। खराब कर्जा नियन्त्रणमा नआए प्रभु बैंक थप गम्भीर वित्तीय संकटतर्फ धकेलिने संकेत दिएको छ।
प्रभु बैंकविरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी





























