वन्यजन्तुबाट मानव होइन, मानवबाट वन्यजन्तुचाँहि पीडित !
वि.सं.२०८३ भदौ १ सोमवार
shares
Photo By: Ai
तीन दशक अघिसम्म काठमाडौं पुरै वनजंगलले घेरिएको छ । थापाथली, कुपण्डोल, स्वयम्भु, वनस्थली, सितापाइला, गुजेश्वरी, सिनामंगल, गोठाटार, मुलपानी, जयबागेश्वरी, काँडाघारी, पेप्सीकोला, बुद्धनगर, बबरमहल, बत्तिसपुतली एरियामा २०५०–५१ सालमा बाँदर लाग्थ्यो । दिँउसै बाँदर देखिन्थ्यो ।
बुढानीलकण्ठको नारायणथान, कपन, थानकोट, गोदावरी, ललितपुरको भैंसेपाटी, थली, डाँचीमा बाघले मान्छे, घरपालुवा पशु खाएको खबर १०–१५ वर्ष अघिसम्म सार्वजनिक हुन्थ्यो । भक्तपुरको गुण्डु, शिवटोल, कटुञ्जे, राधेराधे, सिर्जनानगर, बालकोट, विरुवा, नलिञ्चोक एरियामा २०६७–६८ सालसम्म घरमै बाघ आउँथ्यो भन्नेहरु अहिलेपनि भेटिन्छन् ।बाघले बच्चा मारेको घटनाहरु पनि छ । २०५५ सालमा काठमाडौं उपत्यकामा खुला ठाउँ थियो । अहिलेजस्तो घना बस्ती बसिसकेको थिएन । बाघ, बाँदरलगायत जीवजन्तु जंगलमै बस्थे । त्यहाँ जे पाउँछ, त्यहाँ खान्थे । बस्तीमा खासै पस्दैनथें । वनजंगल मासिँदै गएपछि जीवजन्तु बस्तीमा छिर्न थालेका छन् ।
बाँदर आतंकको विषयमा बारम्बार सदनमा आवाज उठिसकेको छ । सत्तापक्ष र विपक्षकै सांसदले यो कुरा उठाएका छन् । बाँदरले खेतीबाली सखाप पारिदिँदा कृषक मर्कामा परेका छन् । गाउँतिर अहिलेपनि स्याल, बँदेल, बाघ आतंक छ । दिँउसै घरमा आएर खसी, बोका, कुखुरा मारिदिन्छन् । भूमाफियाले खेतीयोग्य जमिन भटाभट प्लानिङ गर्दै बेचे ।७४ जिल्लाका नागरिकले काठमाडौंमा घर बनाएर छन् । घर बनाउन नसक्ने डेरामा बसेका छन् । यहाँको वनजंगल मासिएपछि बाँघ, बाँदर, बँदेल, स्याल लगायतका जीवजन्तु गाउँ पसेका छन् । बाँच्नका लागि ती जीवजन्तु गाउँ गएका हुन् । जसका कारण गाउँमा व्यापक बाँदरको संख्या बढेको छ ।
गाउँमा मान्छेको भन्दा बाँदरको संख्या बढी छ । अनि बाँदरले आतंक मच्चाउँदैन ? गाउँ रित्तिदै गएको छ । अलिअलि बस्ती छ । तिनले खेतीपाती गरेको ठाउँमा बाँदर लागिहाल्छ । काठमाडौंको स्वयम्भुमा बाँदरले दुःख दिएको भन्दै नियन्त्रणका लागि वडाध्यक्षमार्फत महानगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ ।जबकि, बाँदरको बस्ने स्थल नै स्वयम्भु हो । पहिले स्वयम्भुमा कति बाँदर हुन्थ्यो । बाँदरहरु त्यहीँ खान्थे, खेल्थे । मान्छेले तिनको बासस्थान खोसेका छन् । बाँदरको बासस्थान हो भन्ने थाहा हुँदाहुँदै मानव बस्ती बसाइयो । अनि जीवजन्तु कहाँ जाने ? तिनको चाँहि बाँच्ने अधिकार छैन ?
मानवका कारण जीवजन्तुलाई सबैलाई धेरै क्षति भएको छ । उनीहरुले आफ्नो बासस्थान छोड्नुपरेको छ । तर, मानव प्रजाति आफ्नो मात्र समस्या देख्छन् । बाँदरले दुःख दियो भन्नेले बाँदरलाई कति दुःख दिएका छौं भन्ने सोचेका छन् ? उनीहरुको घर नै जंगल थियो । जंगल मासेर बस्ती बसाइयो ।उनीहरुको जाने ठाउँ कहाँ छ ? गाउँ बस्यो, आतंक मच्चायो भनेर लखेट्छन् । शहरमा बस्ने स्थिति छैन । उनीहरुसँग मर्नेबाहेक कुनै विकल्प नै छैन । तर, सांसदहरुले यति सामान्य कुरा पनि बुझ्दैनन् । किन गाउँमा बाँदरको संख्या बढ्यो ? कसको कारणले बढ्यो ? बुझ्नुपर्यो नि ।
अनि कराएर मात्र हुन्छ ? समाधान पनि खोज्नुपर्यो । गाउँ रित्तिदै गएको छ । गाउँका एकदमै राम्रो खेत रोपनीको हजारमा पनि बिक्री हुँदैन । यहाँ आनाकै ५० लाखदेखि २० करोडमा खरिदबिक्री भइरहेको छ । राज्यले बाँझो जग्गा सरकारले अतिक्रमण गर्ने निर्णय गरिदिने हो भने यहाँ भाडामा बसिरहेकाहरु फर्किन्छन् ।उनीहरुले आफ्नो जग्गामा खेतीबाली गर्छन् । एकातिर देश खाद्यान्नमा आत्मनिर्भर हुन्छ भने अर्कोतिर बाँदर नियन्त्रणमा आउँछ । सबैतिर खेतीपाती भएपछि बाँदरले अहिलेजस्तो आतंक नै मच्चाउँदैन । बाँदर आतंकको विषयमा धेरै हल्ला मच्चाउन आवश्यक छैन । सरकार योजनाविहिन भएर बाँदर आतंक सिर्जना भएको हो ।
गाउँ फर्किने अभियान चलाउनेबित्तिकै बाँदर नियन्त्रणमा आउँछ । पशुपतिनाथ, स्वयम्भु जाने पर्यटकहरु बाँदरले झोला खोसेको गुनासो पोख्छन् । भोक लाग्छ, बाँदरले के गरोस् । खान कसैले दिँदैन । चर्ने ठाउँ छैन । अनि कहाँ जाऊन् ती बाँदर ? बाँदरहरु पशुपति, स्वयम्भु, थापाथलीमा हजारौं वर्षदेखि बस्दै आएका छन् ।मानव प्रजातिले तिनको आवास खोसेका हुन् । बाँदरले त केही गरेका छैनन् । भूमाफियाको मिलीभगतमा पशुपति, स्वयम्भुको जग्गा कब्जा गरे । त्यहाँ घर बनेको छ । न बाँदरको खाने ठाउँ छ न खेल्ने । उनीहरुको जमिन त खोस्यो, अहिले अब नियन्त्रणको कुरा आयो । मारेर भएपनि नियन्त्रण गर्नुपर्ने कुरा उठेको छ ।
वास्तवमै मानव प्रजाति कति स्वार्थी छन् ? भन्ने उदाहरण हो यो । आफ्नो मात्र स्वार्थ हेर्छन् । अरुको पीडा देख्दैनन् । केही वर्षअघि नयाँ बानेश्वरमा बाघ घरभित्र छिर्यो । चिडिया खानाको टोलीले बल्लतल्ल बाघ निकाले । अहिलेपनि काठमाडौंमा घरभित्रै सर्प छिर्छ । जाने ठाउँ छैन, उनीहरु कहाँ जाऊन् ?तिनलाई पनि त मान्छेलाई केही गर्लान् भन्ने डर होला । तर, जानलाई वनजंगल छैन । जताततै घरैघर छ । मानव प्रजातिले प्रकृति र जीवजन्तुसँग कति अन्याय गरेका छन् ? भन्ने उदाहरण हो राधेराधे । त्यहाँ खोलाको जमिन मिचेर घर बनाइएको छ । त्यसैले हरेक वर्ष खोलाले बस्ती डुबाउँछ ।
बाँदरलाई बाँदर भन्नु बेकार छ किन कि मान्छेचाँहि बाँदर हो । केही देख्नै नहुने । खोलानाला, वनजंगल सबै मासेर सकाएका छन् । अनि हामीलाई बाँदरले दुःख दियो, खोला घरभित्र पस्यो भन्छन् । तिनलाई खोला मिचेर घर बनाऊ भनेर कसले भन्यो । जग्गा खानका लागि बनाएको होइन ?बाँदरको बासस्थानमा आफ्नो बासस्थान बसाऊ भनेर कसले भनेको थियो । अनि अहिले बाँदरले दुःख दियो भन्ने मिल्छ ? भोट हाल्न मात्र गाऊँ जाने, अरु बेला जाँदै नजाने । चुनाव आउँदा राजनीतिक दलले गाडीका गाडी मतदाता लिएर जान्छन् । अनि फिर्ता ल्याउँछन् ।
गाउँ खाली छ भन्ने नेतालाई थाहा छ । तर, गाउँमा स्थापित गरौं भन्दैनन् । जीवजन्तुको पनि बाँच्ने अधिकार छ । कानुनले जीवजन्तु मार्न नपाउने व्यवस्था गरेको छ । त्यसका बाबजूद सांसदहरु सदनमा बाँदर मार्न पाउनुपर्ने कुरा उठाउँछन् । जीवजन्तु मान्छेसरह बोल्न नसक्लान् ।तर, उनीहरुमा पनि श्वास छ । तिनलाई मार्न मिल्छ ? उनीहरुले सरकारको के खाइदिएका छन् ? आफैंले खोजेर खाएका छन् । उनीहरु नै पीडित छन् । तैपनि उनीहरुलाई नै दोषी बनाइँदैछ । सदनमा उठाउन धेरै विषय छन् । मँहगी, कालोबजारी, सिण्डिकेट र छिमेकीले मिचेको भूभागको विषयमा सांसद सदनमा बोल्दैनन् ।
तर, बाँदरको कुराचाँहि जोडतोडले उठाउँछन् । कारण हो–भ्रष्टाचार । बाँदर नियन्त्रण भनेपछि सरकारले बजेट दिन्छ । त्यो बजेट लगेर भ्रष्टाचार जो गर्न पाइयो । राष्ट्रिय निकुञ्ज, वनजंगलको मूनि घर बनाउन पाइँदैन । तर, निकुञ्जकै जग्गा मिचेर घर बनाइएको छ ।जनावरहरु चर्ने ठाउँमा बस्ती बसेको छ । त्यसैले ती जीवजन्तु घनाबस्तीमा छिर्न बाध्य छन् ।





























