Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नैतिक नेतृत्व र राष्ट्रिय एकताको पूर्वीय दृष्टिकोण 

105
shares

 

भूमिका

राष्ट्रको स्थायित्वको वास्तविक आधार नागरिकको नैतिक चेतना, नेतृत्वको चरित्र र समाजलाई जोड्ने साझा मूल्य प्रणालीमा निहित हुन्छ। जहाँ नेतृत्व नैतिक हुन्छ, त्यहाँ संस्थाहरू बलिया हुन्छन्, जहाँ संस्थाहरू बलिया हुन्छन्, त्यहाँ राष्ट्रिय एकता दिगो हुन्छ र जहाँ राष्ट्रिय एकता दिगो हुन्छ, त्यहाँ समृद्धि, न्याय र शान्तिको आधार स्वतः सुदृढ बन्छ। यस अर्थमा नैतिक नेतृत्व कुनै सभ्यताको आत्मा हो।

पूर्वीय दर्शनले नेतृत्वलाई शक्ति, प्रभुत्व वा अधिकारको अभ्यासका रूपमा होइन, धर्म (कर्तव्य), लोकमंगल, आत्मसंयम, करुणा र सत्यनिष्ठाको अभ्यासका रूपमा व्याख्या गरेको छ। पूर्वीय चिन्तनमा राजा वा शासक जनताको संरक्षक हो। शासनको सफलता नागरिकको कल्याणमा मापन गरिन्छ। यही कारणले पूर्वीय सभ्यताले हजारौं वर्षअघि नै नैतिक नेतृत्व र राष्ट्रिय एकतालाई एकअर्काका परिपूरक तत्वका रूपमा स्थापित गरेको थियो।

आज विश्वव्यापी रूपमा राजनीतिक ध्रुवीकरण, पहिचानको राजनीति, सामाजिक विभाजन, सूचनात्मक अराजकता, चरम व्यक्तिवाद तथा नैतिक संकट तीव्र बन्दै गएको अवस्थामा पूर्वीय मूल्यमा आधारित नेतृत्वको पुनर्पाठ केवल सांस्कृतिक आवश्यकता मात्र होइन, राष्ट्रिय अस्तित्वको प्रश्न बनेको छ। नेपालजस्तो बहुभाषिक, बहुधार्मिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुकका लागि साझा राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने सबैभन्दा प्रभावकारी माध्यम नै नैतिक नेतृत्व हो।

पूर्वीय दर्शनमा नैतिक नेतृत्वको अवधारणा

पूर्वीय सभ्यताको केन्द्रबिन्दु धर्म हो। यहाँ धर्मको अर्थ कुनै सम्प्रदाय विशेषको धार्मिक अभ्यास नभई सत्य, न्याय, कर्तव्य, समता, करुणा र उत्तरदायित्वमा आधारित जीवनपद्धति हो। त्यसैले नेतृत्वको मूल्याङ्कन पनि अधिकारको प्रयोगबाट होइन, कर्तव्यको निर्वाहबाट गरिन्छ।

भागवद्गीताले निष्काम कर्म, आत्मसंयम र लोकसंग्रहलाई आदर्श नेतृत्वको मूल आधार मानेको छ। श्रीकृष्ण अर्जुनलाई व्यक्तिगत मोहभन्दा माथि उठेर समाजको व्यापक हितका लागि कर्म गर्न प्रेरित गर्छन्। गीताको प्रसिद्ध उक्तियद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः”ले स्पष्ट गर्दछ कि समाज श्रेष्ठ व्यक्तिको आचरणबाट निर्देशित हुन्छ। अतः नेतृत्वको नैतिकता सम्पूर्ण समाजको नैतिक दिशानिर्देशक शक्ति हो।

गौतम बुद्धले करुणा, मध्यममार्ग, अहिंसा र प्रज्ञालाई नेतृत्वको सर्वोच्च गुण माने। उनका अनुसार आफूलाई जित्ने व्यक्ति हजारौं युद्ध जित्ने व्यक्तिभन्दा महान् हुन्छ। यो दृष्टिकोणले नेतृत्वको पहिलो विजय बाह्य संसारमाथि होइन, आफ्नै लोभ, क्रोध, मोह र अहंकारमाथि हुनुपर्ने सन्देश दिन्छ।

कन्फ्युसियसले शासनलाई नैतिक अनुकरणको प्रक्रिया माने। उनका अनुसार कानुनले मानिसलाई नियन्त्रण गर्न सक्छ, तर नैतिक उदाहरणले मानिसलाई प्रेरित गर्छ। त्यसैले असल नेतृत्वको सबैभन्दा ठूलो शक्ति दण्ड होइन, चरित्र हो।

लाओत्सेले उत्कृष्ट नेताको परिचय दिँदै भनेका छन्— जब कार्य सम्पन्न हुन्छ, जनता स्वयं भन्छन्, “हामीले आफैँ गरेका हौँ।” यो विचारले नेतृत्वको सार प्रभुत्वमा होइन, जनशक्तिको सशक्तीकरणमा रहेको स्पष्ट पार्छ।

नैतिक नेतृत्वः राष्ट्रिय एकताको आधार

राष्ट्रिय एकता कुनै क्षणिक राजनीतिक नारा, निर्वाचनमुखी प्रतिबद्धता वा राज्यद्वारा आरोपित वैधानिक संरचना मात्र होइन; यो राष्ट्रको सामूहिक आत्माको अभिव्यक्ति हो। साझा इतिहास, साझा स्मृति, साझा उत्तरदायित्व र साझा भविष्यप्रतिको अटल विश्वासबाट निर्माण हुने यो नैतिक समुदाय नै राष्ट्रको वास्तविक शक्ति हो। कुनै पनि राष्ट्रको भौगोलिक सीमा नक्साले कोर्न सक्छ, कानुनले शासनको ढाँचा निर्माण गर्न सक्छ र संविधानले अधिकार तथा दायित्वको व्यवस्था गर्न सक्छ; तर नागरिकका हृदयलाई एउटै भावनात्मक सूत्रमा बाँध्ने शक्ति केवल नैतिक नेतृत्वमा निहित हुन्छ। पूर्वीय चिन्तनले राष्ट्रलाई केवल राजनीतिक एकाइका रूपमा होइन, संस्कार, संस्कृति, सहअस्तित्व र साझा धर्म–कर्तव्यद्वारा आबद्ध जीवन्त सभ्यताका रूपमा हेर्छ। त्यसैले राष्ट्रिय एकताको आधार शक्ति, प्रभुत्व वा भय होइन; विश्वास, न्याय, करुणा र धर्मनिष्ठ नेतृत्व हो।

पूर्वीय दर्शनमा नेतृत्वलाई शासन गर्ने विशेषाधिकारभन्दा बढी सेवा गर्ने उत्तरदायित्व मानिएको छ। भगवद्गीताको लोकसंग्रह, बौद्ध दर्शनको बहुजनहिताय, बहुजनसुखाय, कन्फ्युसियसको मानवीयता तथा लाओत्सेको विनम्र नेतृत्व यी सबैले एउटै सत्य उद्घोष गर्छन् कि नेतृत्वको सर्वोच्च उद्देश्य समाजलाई समन्वित गर्नु हो। जब नेतृत्व सत्यनिष्ठ, निष्पक्ष, करुणाशील र उत्तरदायी हुन्छ, तब नागरिकहरूले राज्यलाई आफ्नै सामूहिक इच्छाको नैतिक प्रतिनिधिका रूपमा स्वीकार गर्न थाल्छन्। यही स्वीकारोक्ति राष्ट्रिय एकताको प्राण हो। जहाँ न्याय निष्पक्ष हुन्छ, अवसर समान हुन्छ, सम्मान सार्वभौम हुन्छ र शासन पारदर्शी हुन्छ, त्यहाँ नागरिक र राज्यबीचको विश्वास गहिरिँदै जान्छ। विश्वास नै त्यो अदृश्य सामाजिक पूँजी हो, जसले कुनै पनि राष्ट्रलाई सङ्कटको समयमा समेत एकताबद्ध राख्छ।

पूर्वीय सभ्यताको अद्वितीय विशेषता यसको सहअस्तित्ववादी चेतना हो। यहाँ जीवन प्रतिस्पर्धाको युद्धभूमि होइन, परस्पर निर्भरताको सहयात्रा हो। “वसुधैव कुटुम्बकम्”को महावाक्यले सम्पूर्ण पृथ्वीलाई एउटै परिवारका रूपमा हेर्ने उदात्त दृष्टिकोण प्रस्तुत गर्दछ। यो दर्शन बहुलतायुक्त समाजलाई दीर्घकालीन रूपमा एकताबद्ध राख्ने गहिरो राजनीतिक र नैतिक सिद्धान्त पनि हो। जब यही चेतना राष्ट्रिय जीवनमा रूपान्तरित हुन्छ, तब भाषा विविधता बिखण्डनको कारण बन्दैन; जातीय बहुलता विभाजनको आधार रहँदैन, धार्मिक भिन्नता द्वन्द्वको स्रोत हुँदैन र क्षेत्रीय पहिचान प्रतिस्पर्धी अस्तित्वमा सीमित रहँदैन। बरु यी सबै राष्ट्ररूपी विशाल उद्यानका विविध पुष्पझैँ साझा सभ्यताको सौन्दर्य र समृद्धिका प्रतीक बन्छन्।

यसर्थ, राष्ट्रिय एकताको स्थायी आधार शक्ति-सन्तुलन, राजनीतिक सम्झौता वा प्रशासनिक नियन्त्रणमा होइन, नैतिक नेतृत्वद्वारा निर्मित साझा विश्वासमा निहित हुन्छ। धर्मले कर्तव्यलाई, करुणाले सम्बन्धलाई, सत्यले विश्वासलाई र आत्मसंयमले नेतृत्वलाई पवित्र बनाउँछ। जब यी मूल्यहरू सार्वजनिक जीवनको मूल आधार बन्छन्, तब राष्ट्र केवल राज्यका रूपमा होइन, साझा आत्मा, साझा संस्कार र साझा भविष्यप्रतिको अटुट प्रतिबद्धताका रूपमा विकसित हुन्छ। यही नै पूर्वीय सभ्यताले मानवताका लागि दिएको सर्वकालिक सन्देश हो, र यही नै दिगो राष्ट्रिय एकताको सर्वश्रेष्ठ मार्ग पनि हो।

नेपालका सन्दर्भमा पूर्वीय नैतिक नेतृत्वको सान्दर्भिकता

नेपाल प्रकृतिको अनुपम सौन्दर्य, सांस्कृतिक बहुलता र सभ्यतागत सहअस्तित्वको अद्वितीय संगम हो। हिमाल, पहाड र तराईको भौगोलिक विविधताजस्तै यहाँ भाषा, जातीयता, संस्कृति, धर्म, परम्परा र जीवनशैलीको असाधारण बहुलता विद्यमान छ। एक सयभन्दा बढी भाषाहरू, अनेकौं जातीय समुदाय, विभिन्न धार्मिक आस्थाहरू र विविध सांस्कृतिक परम्पराहरूले नेपाललाई बहुरङ्गी राष्ट्रिय सभ्यताको रूपमा स्थापित गरेका छन्। तर यस्तो विविधता आफैँमा राष्ट्रिय एकताको प्रत्याभूति होइन, यसलाई साझा राष्ट्रिय चेतनामा रूपान्तरण गर्ने नैतिक शक्ति आवश्यक हुन्छ। पूर्वीय दर्शनले यही कारणले समाजलाई समानताको कृत्रिम एकरूपताबाट होइन, विविधताको सामञ्जस्यपूर्ण सहअस्तित्वबाट परिभाषित गरेको छ। ऋग्वेदको “संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्” भन्ने उद्घोषले संयुक्त यात्रा, संयुक्त संवाद र संयुक्त चेतनालाई सभ्य समाजको आधार मानेको छ। यसले स्पष्ट गर्दछ कि राष्ट्रिय एकता विविधताको अन्त्य होइन, विविधताको मर्यादित समन्वय हो।

नेपालको संविधानले समावेशी लोकतन्त्र, समानता, सामाजिक न्याय, मानव मर्यादा, विधिको शासन तथा लोकतान्त्रिक मूल्यहरूलाई राष्ट्रिय जीवनको मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गरेको छ। यी संवैधानिक आदर्शहरूले आधुनिक राज्यको संस्थागत आधार निर्माण गर्छन्, तर संस्थाहरूलाई जीवन्त, विश्वसनीय र प्रभावकारी बनाउने वास्तविक शक्ति नेतृत्वको नैतिक चरित्रमा निहित हुन्छ। संविधानले अधिकार प्रदान गर्न सक्छ, कानुनले व्यवस्था कायम गर्न सक्छ र संस्थाले प्रशासन सञ्चालन गर्न सक्छ; तर जनविश्वास सिर्जना गर्ने सामर्थ्य केवल नैतिक नेतृत्वसँग हुन्छ। पूर्वीय चिन्तनमा शासनको वैधता केवल संवैधानिक अधिकारबाट होइन, धर्मसम्मत आचरणबाट प्राप्त हुन्छ। कौटिल्यले अर्थशास्त्रमा राज्यको स्थायित्वलाई राजाको व्यक्तिगत विलासिताभन्दा प्रजाको हितसँग जोडेका छन् भने भगवद्गीताले नेतृत्वलाई निष्काम कर्म र लोकसंग्रहको माध्यमका रूपमा प्रस्तुत गरेको छ। यस दृष्टिले हेर्दा नेतृत्वको सर्वोच्च दायित्व सत्ता प्राप्त गर्नु होइन, जनविश्वासको संरक्षण गर्नु हो।

जब नेतृत्व पारदर्शी, उत्तरदायी, निष्पक्ष र जनमुखी हुन्छ, तब नागरिकले राज्यलाई बाह्य शक्ति होइन, आफ्नै सामूहिक इच्छाको संस्थागत अभिव्यक्तिका रूपमा अनुभव गर्छन्। न्याय निष्पक्ष रूपमा प्रवाहित हुँदा नागरिकमा समान अवसरप्रतिको विश्वास सुदृढ बन्छ, सार्वजनिक स्रोतहरूको वितरण निष्पक्ष हुँदा राज्यप्रति अपनत्वको भावना गहिरिन्छ र निर्णय प्रक्रियामा नैतिकता कायम रहँदा लोकतन्त्र केवल निर्वाचनको प्रक्रिया नभई विश्वासको संस्कृतिमा रूपान्तरित हुन्छ। तर जब सार्वजनिक नेतृत्व भ्रष्टाचार, पक्षपात, अवसरवाद, संरक्षणवाद वा व्यक्तिगत स्वार्थबाट निर्देशित हुन थाल्छ, तब संस्थाहरूको नैतिक वैधता क्रमशः क्षीण हुँदै जान्छ। संस्थाप्रतिको विश्वास कमजोर भएपछि सामाजिक विभाजन तीव्र हुन्छ, सामूहिक उत्तरदायित्व क्षय हुन्छ र राष्ट्रिय एकताको आधारभूत सामाजिक पूँजी नै क्षतिग्रस्त बन्न पुग्छ। इतिहासले देखाएको छ कि कुनै पनि राष्ट्र बाह्य आक्रमणभन्दा पहिले आन्तरिक नैतिक विघटनका कारण कमजोर बन्छ।

यही सन्दर्भमा नेपालको वर्तमान संक्रमणकालीन राजनीतिक, सामाजिक तथा प्रशासनिक परिवेशले पूर्वीय नैतिक मूल्यहरूको पुनर्स्थापनाको गहिरो आवश्यकता अनुभूत गरिरहेको छ। सत्यनिष्ठा (सत्य), सेवा (सेवा-धर्म), सहिष्णुता (समभाव), आत्मसंयम , करुणा , सहकार्य (सहयोग) र लोककल्याण (लोकमंगल) जस्ता पूर्वीय आदर्शहरू सार्वजनिक नेतृत्वका आधारभूत नैतिक स्तम्भ हुन्। यी मूल्यहरूलाई शासन, प्रशासन, शिक्षा, सार्वजनिक नीति तथा राजनीतिक संस्कृतिमा संस्थागत गर्न सकिएमा नागरिक र राज्यबीचको विश्वास पुनर्स्थापित हुनेछ, सामाजिक सद्भाव सुदृढ हुनेछ र राष्ट्रिय एकताले दिगोपन प्राप्त गर्नेछ। नेपालको समृद्धि नैतिक नेतृत्वद्वारा निर्देशित विश्वास, सहअस्तित्व र साझा राष्ट्रिय चेतनाको विकासबाट मात्र सम्भव हुनेछ। यही पूर्वीय सभ्यताको कालजयी सन्देश हो र यही बहुलतायुक्त नेपाललाई समुन्नत, समावेशी र एकताबद्ध राष्ट्रमा रूपान्तरण गर्ने सर्वाधिक दिगो मार्ग पनि हो।

नैतिक नेतृत्वका मूल आयाम

पूर्वीय दृष्टिकोणमा प्रभावकारी नेतृत्व नेतृत्वको नैतिक चरित्र, आत्मानुशासन र लोककल्याणप्रतिको समर्पणबाट मापन गरिन्छ। पूर्वीय सभ्यताले नेतृत्वलाई  समाज र राष्ट्रप्रतिको पवित्र उत्तरदायित्वका रूपमा ग्रहण गरेको छ। त्यसैले यहाँ नेतृत्वको पहिलो र सबैभन्दा महत्त्वपूर्ण आधार सत्यनिष्ठा हो। सत्य नेतृत्वको नैतिक मेरुदण्ड हो, किनकि सत्यप्रति अडिग रहने व्यक्तिले मात्र जनविश्वास आर्जन गर्न सक्छ। उपनिषद्हरूको “सत्यमेव जयते” भन्ने उद्घोषले स्पष्ट गर्दछ कि स्थायी विजय शक्ति, छल वा प्रभुत्वबाट होइन, सत्य र चरित्रको दृढताबाट प्राप्त हुन्छ। चरित्रविहीन नेतृत्वले क्षणिक सफलता प्राप्त गर्न सक्ला, तर उसले राष्ट्रको आत्मालाई कहिल्यै एकताबद्ध गर्न सक्दैन।

पूर्वीय चिन्तनले नेतृत्वको अर्को आधार निष्काम सेवा र लोकमंगललाई मानेको छ। भगवद्गीताले कर्मलाई व्यक्तिगत लाभका लागि होइन, समष्टिगत कल्याणका लागि सम्पन्न गर्नुपर्ने सन्देश दिन्छ। नेतृत्वको सर्वोच्च आदर्श त्यही हो, जहाँ सार्वजनिक पद व्यक्तिगत स्वार्थ, प्रतिष्ठा वा लाभको माध्यम नभई जनसेवाको साधना बन्छ। यसका साथै न्याय, समानता र निष्पक्षता नेतृत्वका अपरिहार्य नैतिक गुण हुन्। जब निर्णयहरू व्यक्ति, समूह, जाति, धर्म वा राजनीतिक आग्रहका आधारमा नभई सत्य, विधि र न्यायका आधारमा गरिन्छन्, तब नागरिकमा राज्यप्रतिको विश्वास सुदृढ बन्छ। न्यायले सामाजिक सम्बन्धलाई सन्तुलित बनाउँछ भने निष्पक्षताले राष्ट्रिय एकताको आधारभूत मनोवैज्ञानिक पूँजी निर्माण गर्छ।

पूर्वीय दर्शनले करुणा र मानवीय संवेदनशीलतालाई नेतृत्वको आत्मा मानेको छ। गौतम बुद्धको करुणा, कन्फ्युसियसको मानवीयता र लाओत्सेको विनम्रता सबैले नेतृत्वको वास्तविक शक्ति कठोरतामा होइन, मानवताको सम्मानमा निहित रहेको प्रतिपादन गर्छन्। त्यस्तै आत्मसंयम र व्यक्तिगत अनुशासनलाई पनि प्रभावकारी नेतृत्वको अनिवार्य गुणका रूपमा हेरिएको छ। जसले आफ्ना इच्छा, लोभ, क्रोध र अहंकारलाई नियन्त्रण गर्न सक्दैन, उसले सार्वजनिक शक्ति र अधिकारको पनि विवेकपूर्ण प्रयोग गर्न सक्दैन। पूर्वीय दर्शनले बाह्य शासनभन्दा पहिले आत्मशासनलाई आवश्यक ठान्छ, किनकि आफ्नो मनलाई जित्न नसक्ने व्यक्तिले समाजलाई न्यायपूर्ण दिशा दिन सक्दैन।

यही सन्दर्भमा उत्तरदायित्व, पारदर्शिता, विविधताको सम्मान र सहअस्तित्वको संस्कृतिले नेतृत्वलाई थप विश्वसनीय बनाउँछ। बहुलतायुक्त समाजमा सबै समुदायलाई समान सम्मान, समान अवसर र समान सहभागिता प्रदान गर्नु नै राष्ट्रिय एकताको मूल आधार हो। पूर्वीय सभ्यताको वसुधैव कुटुम्बकम् तथा संगच्छध्वं संवदध्वम् जस्ता आदर्शहरूले सहकार्य, संवाद र समन्वयलाई नेतृत्वको उच्चतम मूल्यका रूपमा प्रतिष्ठित गरेका छन्। अन्ततः प्रभावकारी नेतृत्व त्यही हो, जसले व्यक्तिगत, गुटगत वा दलगत स्वार्थभन्दा राष्ट्रको दीर्घकालीन हितलाई सर्वोपरि स्थान दिन्छ। जब सत्यनिष्ठा, सेवा, न्याय, करुणा, आत्मसंयम, उत्तरदायित्व र लोकमंगलजस्ता पूर्वीय मूल्यहरू सार्वजनिक नेतृत्वको संस्थागत संस्कृतिमा रूपान्तरित हुन्छन्, तब राष्ट्रिय एकता नागरिकको साझा विश्वास, नैतिक प्रतिबद्धता र सभ्यतागत चेतनाको सुदृढ आधारका रूपमा विकसित हुन्छ। यस्तो नेतृत्वले मात्र विविधतालाई विभाजन होइन, राष्ट्रनिर्माणको अनुपम शक्तिमा रूपान्तरण गर्न सक्छ।

निष्कर्ष

नैतिक नेतृत्व र राष्ट्रिय एकताको सम्बन्ध कारण–परिणामको सम्बन्ध हो। जहाँ नेतृत्व नैतिक हुन्छ, त्यहाँ संस्थाप्रति विश्वास बढ्छ; जहाँ विश्वास हुन्छ, त्यहाँ सहकार्य र सद्भाव विकास हुन्छ; जहाँ सद्भाव हुन्छ, त्यहाँ राष्ट्रिय एकता सुदृढ हुन्छ र जहाँ राष्ट्रिय एकता सुदृढ हुन्छ, त्यहाँ समृद्धि, स्थायित्व र सभ्यताको विकास सम्भव हुन्छ।

पूर्वीय दर्शनले हजारौं वर्षअघि प्रतिपादन गरेका धर्म, सत्य, करुणा, निष्काम कर्म, आत्मसंयम, समभाव र लोकमंगलका आदर्श आज पनि उत्तिकै प्रासङ्गिक छन्। प्रविधिले संसारलाई नजिक ल्याएको छ, तर नैतिकताले मात्र हृदयहरूलाई जोड्न सक्छ। कानुनले शासन गर्न सक्छ, तर चरित्रले मात्र राष्ट्र निर्माण गर्न सक्छ। त्यसैले नेपालजस्तो बहुलतायुक्त लोकतान्त्रिक राष्ट्रका लागि पूर्वीय मूल्यमा आधारित नैतिक नेतृत्व भविष्यप्रतिको दूरदर्शी लगानी हो। राष्ट्रको वास्तविक शक्ति नैतिक चेतनाले निर्देशित नेतृत्व र त्यसबाट प्रेरित राष्ट्रिय एकतामा निहित हुन्छ। यही नै पूर्वीय सभ्यताको कालजयी सन्देश र समुन्नत राष्ट्र निर्माणको दिगो मार्ग हो।

 

 

 

 

 

 

 

 

 

civil hospital
Hams Hospitals