Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

आइएमई लाइफ इन्स्योरेन्सको नवौं वार्षिकोत्सव सम्पन्न,राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानो नानी’ बेबी वार्मर वितरण सम्झौता, देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रम

81
shares

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा नवौं वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित मनाएको छ। कम्पनीले यही भदौ १ गते वार्षिकोत्सव मनाउँदै ग्राहक सेवा, विश्वसनीयता तथा सामाजिक उत्तरदायित्वलाई आफ्नो प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। साथै, देशभर रहेका शाखा कार्यालयमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतना लगायतका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमले समाजका विभिन्न वर्ग र क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याउनुका साथै जीवन बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको बताउनुभयो।

उहाँका अनुसार रक्तदान कार्यक्रमले अस्पतालमा हुने रगतको अभाव न्यूनीकरणमा सहयोग पुग्ने, वृक्षारोपणले वातावरण संरक्षणमा योगदान गर्ने तथा खाद्यान्न वितरणले आर्थिक रूपमा विपन्न परिवारलाई प्रत्यक्ष राहत पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।

वार्षिकोत्सवकै अवसरमा आइएमई लाइफ इन्स्योरेन्सले राष्ट्रिय आविष्कार केन्द्र (नेशनल इनोभेसन सेन्टर–एनआईसी) सँग सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले उक्त सम्झौताले दुवै संस्थाबीच दीर्घकालीन सहकार्यको आधार तयार गर्नुका साथै नवजात शिशुको स्वास्थ्य क्षेत्रमा प्रविधिमैत्री समाधान पुर्‍याउने कम्पनीको प्रतिबद्धतालाई थप संस्थागत गरेको बताउनुभयो।

सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान तथा विकास गरी उत्पादन गरेको ‘न्यानो नानी’ बेबी वार्मर आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ।

‘न्यानो नानी’ समय नपुगी जन्मिएका वा कम तौल भएका नवजात शिशुलाई आवश्यक तापक्रम उपलब्ध गराउन प्रयोग गरिने चिकित्सकीय उपकरण हो। विशेषगरी दुर्गम तथा स्वास्थ्य सुविधा सीमित रहेका क्षेत्रमा यो उपकरण नवजात शिशुको जीवन रक्षाका लागि उपयोगी हुने कम्पनीले जनाएको छ।

यस सहकार्यको पहिलो चरणमा आइएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ उपकरण हस्तान्तरण गर्ने भएको छ।

भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार तथा स्वास्थ्य सेवामा न्यून पहुँचका कारण यी प्रदेशका दुर्गम क्षेत्रमा जन्मने नवजात शिशुले भोग्दै आएको स्वास्थ्य सेवाको अभावलाई सम्बोधन गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ।

सम्बन्धित स्थानीय स्वास्थ्य संस्था तथा उपयुक्त स्थानमा उपकरण जडान गरिने र यसबाट नवजात शिशुको मृत्युदर घटाउन तथा आमा–शिशु स्वास्थ्य सेवामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) नीतिअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको बताउँदै आइएमई लाइफले यसअघि पनि सामाजिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रममार्फत योगदान पुर्‍याउँदै आएको जानकारी दिनुभयो।

उहाँले आगामी दिनमा ‘न्यानो नानी’ कार्यक्रमलाई देशका अन्य प्रदेश तथा जिल्लामा समेत क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको बताउनुभयो।

जीवन बीमाबारे जनचेतना अभिवृद्धि गर्ने, बीमा सुविधामार्फत ग्राहकको वित्तीय सुरक्षालाई मजबुत बनाउने तथा राष्ट्रको समग्र विकासमा योगदान पुर्‍याउने दीर्घकालीन उद्देश्यका साथ कम्पनीले आफ्नो सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

नौ वर्षको यात्रामा सर्वसुलभ बीमा पहुँच, छिटोछरितो दाबी भुक्तानी तथा ग्राहकको आवश्यकताअनुसारका बीमा समाधानमार्फत ग्राहकको विश्वास आर्जन गर्न सफल भएको कम्पनीको दाबी छ।

देशभर फैलिएको शाखा सञ्जाल तथा दक्ष जनशक्तिमार्फत सर्वसाधारणसम्म गुणस्तरीय जीवन बीमा सेवा पुर्‍याउने प्रतिबद्धता कम्पनीले दोहोर्‍याएको छ।

civil hospital
Hams Hospitals