लघुकथा : अभिभावकत्व
वि.सं.२०८३ भदौ ७ आइतवार
shares
“चित्त कहाँ बुझ्छ र ?”
मान्छेको जन्मजातकै स्वभाव न हो, असन्तुष्ट ! जति नै राम्रो गरे पनि कहाँ खोट छ भनेर केलाउँन सिपालु हुन्छन् । हजार भलो गर तर एक गल्तीको पर्खाइ बेजोडको देखिन्छ । अनि मासमा सल्लाह दिन रूचाउँछन्, आफूलाई विद्वान सम्झन्छन् । स्वभावैले दु:खी छन्, सबै । म घोरिएँ, गहन भएँ, एकछिन सोचेँ ।
जीवनभरको त्याग, बलिदान, समर्पण कहाँ गयो ? रातदिन नभनि गरेका कामको विवरण खोई ? क्षणभरिमै विलिन, हुनत बलेको आगो ताप्छन, सबैले, जुन स्वभाविक पनि छ । मनन गरेँ, लाग्यो, “कहीं कतै मानवीयता पनि हुनुपर्ने हो, तर पाइनँ ।“ म अन्तर्मनमै घोत्लिन थालेँ, जवाफ खोज्नु थियो
त्यतिकैमा एउटाले चर्को आवाज गर्यो, “के छ, केटा तेरो हालखबर ?” झस्किएँ, बनाबटी मुस्कानले बोलेँ, “छैन, केही छैन ?” ङिच्च दाँत देखाएँ
उसले पनि बजारकै कुरा गर्यो, समर्थन फेर्ने । स्वाद चाख्नुपर्छ हेर केटा नत्र दु:ख पाइन्छ । जसोजसो बाहुन बाजे उसैउसै स्वाहा ! जमातकै पछि लाग्ने हो, नत्र एक्लो भइन्छ, बुझिस् । फेरि थप्यो, “गैरीखेतको रामुले परिवर्तनका कुरा गरेको छ, चल्ताफुर्ता पनि छ । निडर छ, बोल्न सिपालु उस्तै ! माहोल बुझेँ, सबै उसैका पछि लाग्लान् जस्तो छ । बेलामा विचार गर्नुपर्छ, नत्र दु:ख नपाइएला भन्न सकिन्न ?” उसले समसामयिक परिवेश देखायो, अर्थ्यायो पनि
म अचम्म परेँ, केही अन्जान बनेँ, सोधें, “तिनका पछि लागेर के पाइन्छ रे, एजेन्डा के बोकेका छन, कस्ता छन् ?” उसको हौसिएको अनुहारमा नजर दौडाएँ, मुहार पढ्ने कोसिस गरेँ
ऊ निस्फिक्री थियो, सुगा रटाइ जस्तो, हुबहु नक्कल थियो । बोल्दा सोचेको थिएन । भन्यो, “उसले ठाउँ पायो भने जागिर पक्का, समर्थन बढा भनेको छ, तेरो पनि कुरा राखूला ।“ बोलीमा अलग्गै फुर्ती थियो
म ढुक्क थिएँ, सिद्धान्तमा अडिग,केही होला भन्नेमा विश्वस्त थिएँ । दृढताले बोले, “जरा नै मर्यो भने जति चुरीफुरी देखाए पनि पानी बिनाको माछो जस्तै हो, खोई अभिभावकत्वको महत्त्व बुझेको ?” कड्किएँ, प्रश्न गरेँ






























