रसुवामा रवि किरण हमालको खबरदारी : ‘उद्धारमा ढिलाइ नगरौँ, अन्तर्राष्ट्रिय सहयोग र उच्च प्रविधि तत्काल ल्याऔँ’
वि.सं.२०८३ भदौ १३ शनिवार
shares
रसुवाबाढी गएको दिनदेखि नै प्रभावित क्षेत्रमा पुगेर राहत तथा उद्धारमा सक्रिय जेनजी अभियन्ता रवि किरण हमालले रसुवाको विपद् व्यवस्थापनलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। उनले तत्कालीन उद्धारसँगै स्वास्थ्य सुरक्षा र विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि समेत योजनाबद्ध कदम चाल्नुपर्ने बताएका छन्।
स्थानीय मेनाल्ड लामिछाने र उनका साथी सचिनसहित खाद्यान्न तथा केही मेडिकल सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका हमालले स्थलगत अवस्था अवलोकन गर्दै उद्धारका लागि आवश्यक उपकरण तथा प्रविधि पर्याप्त नभएको बताएका हुन्। उद्धारमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उनले टनेलभित्र, खोलाको छेउ तथा विकट स्थानमा फसेका नागरिकको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने र उच्च प्रविधिसहितका आवश्यक उपकरण परिचालन गर्नुपर्ने सुझाव दिएका छन्।
हमालले विपद्को वास्तविक क्षतिको यकिन विवरण अझै स्पष्ट हुन नसकेको भन्दै चार–पाँच हजारको सङ्ख्यामा मानिसहरू हराइरहेको हुन सक्ने आशंका समेत व्यक्त गरेका छन्। यस्तो अवस्थामा खोज तथा उद्धारलाई अझ व्यापक र तीव्र बनाउन राज्यका सबै संयन्त्र परिचालन गर्नुपर्ने उनको भनाइ छ।
उनले बाढी तथा पहिरोमा ज्यान गुमाएका नागरिक तथा जनावरका शव तत्काल व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिएका छन्। लामो समयसम्म शव तथा मृत जनावरहरू व्यवस्थापन हुन नसके स्वास्थ्य संकट थप गम्भीर बन्न सक्ने र संक्रामक रोग फैलिने जोखिम रहेको भन्दै उनले सम्बन्धित निकायलाई तत्काल सक्रिय हुन आग्रह गरेका छन्।
त्यस्तै, राहत सामग्रीको तत्काल व्यवस्थापन गरी स्थानीय सरकार, स्थानीय नागरिक, स्वयंसेवक तथा सामाजिक संघसंस्थालाई समेत प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने हमालको सुझाव छ। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत तथा उद्धार सामग्री पुर्याउन स्थानीय तहलाई थप स्रोत, जनशक्ति र अधिकारसहित परिचालन गर्नुपर्ने उनले बताएका छन्।
हमालले तत्कालीन उद्धार र राहतसँगै बाढीका कारण विस्थापित भएका नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि बृहत्तर र योजनाबद्ध कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन्। घर, पूर्वाधार र जीविकोपार्जन गुमाएका परिवारलाई तत्कालीन राहतमा मात्र सीमित नराखी आवास, रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत सेवासहित पुनःस्थापनाको समग्र योजना बनाउनुपर्ने उनको भनाइ छ।
प्रभावित नागरिकसँगको संवादका क्रममा सरकारप्रति विभिन्न गुनासा आएको हमालले बताए। विशेषगरी सूचना प्रवाहमा कमजोरी तथा राहत–उद्धारमा अपनाइएको एकद्वार प्रणालीका कारण आवश्यक सहयोग समयमा नागरिकसम्म पुग्न नसकेको गुनासो स्थानीयबाट आएको उनले बताए। साथै सरकारका तर्फबाट भएका केही गतिविधि धार्मिक तथा सामाजिक मूल्य–मान्यताविपरीत भएको भन्दै नागरिकले असन्तुष्टि व्यक्त गरेको पनि उनले जानकारी दिए।
उनले अन्तर्राष्ट्रिय सहयोग आवश्यक परे तत्काल स्वीकार गरी अत्याधुनिक उद्धार प्रविधि भित्र्याउन, हराइरहेका नागरिकको खोजी तीव्र बनाउन, शव तथा मृत जनावरको व्यवस्थापन गर्न र प्रभावित क्षेत्रमा स्वास्थ्य संकट फैलिन नदिन विशेष संयन्त्र परिचालन गर्न सरकारलाई आग्रह गरेका छन्।
हमालले आफ्नो टोली प्रभावित नागरिकसँग निरन्तर संवादमा रहने र तत्काल राहतसँगै विस्थापित परिवारको पुनःस्थापना तथा दीर्घकालीन सहयोगका लागि योजनाबद्ध रूपमा काम गर्ने बताएका छन्।
उनको मुख्य जोड स्पष्ट छ;फसेका नागरिकको उद्धारमा ढिलाइ नगर्ने, आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग र उच्च प्रविधि तत्काल प्रयोग गर्ने, स्वास्थ्य संकट आउन नदिने, राहतमा स्थानीय सरकार र नागरिकलाई परिचालन गर्ने तथा विस्थापित परिवारलाई सम्मानजनक रूपमा पुनःस्थापित गर्ने।






























