२१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ उपसचिवको सरुवा, विभिन्न स्थानीय तहमा नयाँ जिम्मेवारी
वि.सं.२०८३ असोज ५ सोमवार
shares
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना प्रमुख प्रशासकीय अधिकृतसहित ३५ जना उपसचिव तथा सोसरहका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयले असोज ५ गते गरेको निर्णयअनुसार संघीय सरकारका विभिन्न मन्त्रालय, स्थानीय तह, जिल्ला समन्वय समिति तथा अन्य सरकारी निकायमा कार्यरत उपसचिव तथा सोसरहका कर्मचारीको सरुवा तथा कामकाजमा खटाइएको हो।
मन्त्रालयको निर्णयअनुसार विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ। त्यसैगरी संघीय मन्त्रालय तथा अन्य सरकारी निकायमा कार्यरत केही उपसचिवलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाजमा खटाइएको छ।
यस्तै, केही कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा मातहतका निकायमा सरुवा गरिएको छ भने विभिन्न जिल्लाका जिल्ला समन्वय अधिकारीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको मन्त्रालयले जनाएको छ।
सरुवा तथा कामकाजसम्बन्धी निर्णयसँगै स्थानीय तहमा प्रशासनिक नेतृत्व परिवर्तन भएको छ। नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसँगै स्थानीय तहको प्रशासनिक सेवा प्रवाह, कर्मचारी व्यवस्थापन तथा विकास प्रशासनमा समेत प्रभाव पर्ने देखिएको छ।
































