जुनसुकै सरकार आए पनि ‘तर मार्ने’ हाकिमहरु
वि.सं.२०८३ असोज ७ बुधवार
shares
काठमाडौँ । सरकार फेरिए, मन्त्री फेरिए, राजनीतिक नेतृत्व फेरियो, तर सरकारी कार्यालयमा लामो समयदेखि एउटै पद र एउटै कार्यालयमा जमेका केही उच्च अधिकारीको भने ‘राज’ फेरिन सकेको छैन।
सरकारले प्रशासन सुधार, कर्मचारी व्यवस्थापन र सुशासनका ठूल्ठूला कुरा गर्दै आए पनि केही विभागमा लामो समयदेखि नेतृत्व परिवर्तन नहुँदा कर्मचारी प्रशासनमाथि नै प्रश्न उठेको छ।
नापी विभागका महानिर्देशक प्रकाश जोशी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक महिपालराम वैद्य, औषधि व्यवस्था विभागका भरत ढकाललगायतका अधिकारी लामो समयदेखि रजगज गर्ने हाकिममा पर्दछन । उनीहरूको जिम्मेवारी पटक–पटक दोहोरिएको विषयले कर्मचारी वृत्तमा समेत चर्चा पाएको छ।
त्यस्तै, हुलाक विभागकी मनमाया पंगेनी पनि लामो समयदेखि सोही निकायमा रहेर जिम्मेवारी सम्हाल्दै आएको हाकिम हुन् ।
सरकार परिवर्तनसँगै राजनीतिक नेतृत्व र प्राथमिकता फेरिए पनि प्रशासनभित्र भने केही अधिकारीको जिम्मेवारीमा खासै परिवर्तन नआउनुलाई कर्मचारी सरुवाको प्रणालीमाथि प्रश्न उठाउने आधारका रूपमा हेरिएको छ।
विशेषगरी एउटै कार्यालयमा लामो समयसम्म नेतृत्वमा रहने अधिकारीलाई सरकारले किन निरन्तरता दिइरहेको छ भन्ने प्रश्न महत्वपूर्ण बनेको छ। कर्मचारी सरुवामा निश्चित मापदण्ड, कार्यसम्पादन र संस्थागत आवश्यकतालाई आधार बनाइएको हो भने लामो समयदेखि एउटै निकायमा रहेका अधिकारीको जिम्मेवारीबारे सरकारले स्पष्ट पार्नुपर्ने देखिन्छ।
नयाँ पुस्ताको आन्दोलनपछि बनेको राजनीतिक वातावरणमा प्रशासन सुधार र सुशासनको विषय झनै जोडतोडका साथ उठेको छ। तर पुरानै शैलीमा केही अधिकारीलाई लामो समयसम्म एउटै निकायमा जिम्मेवारी दिइरहने हो भने ‘सरकार फेरियो, प्रशासन फेरिएन’ भन्ने आलोचना अझ बलियो हुने देखिन्छ।































