अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्ने
वि.सं.२०८३ असोज १२ सोमवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको ३० दिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार असोज १२ गते दिउँसो ३ बजेसम्म विद्युतीय बोलकबोल प्रणालीमार्फत निक्षेप संकलनका लागि बोलकबोल हुनेछ।
केन्द्रीय बैंकले ३० दिनका लागि बैंक तथा वित्तीय संस्थाबाट कुल ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो। उक्त निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक ११ गते भुक्तानी गरिनेछ। निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।
बोलकबोलमा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा निक्षेप स्वीकार गरिनेछ। एउटै ब्याजदरमा प्रस्तावित रकम राष्ट्र बैंकले स्वीकार गर्न सक्ने सीमाभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट गरिनेछ।
निक्षेप संकलन प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन पाउनेछन्। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँबाट बोल गर्नुपर्नेछ। त्यसपछि १० करोड रुपैयाँले भाग जाने रकममा अधिकतम ३० अर्ब रुपैयाँसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार यसरी संकलित निक्षेपलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। तर, उक्त रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने यसलाई गणना गर्न सकिनेछ।
संकलित निक्षेप तोकिएको भुक्तानी मितिभन्दा अगाडि फिर्ता गर्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ। त्यसैले कात्तिक ११ गतेअघि उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी हुने छैन।
त्यस्तै, बोलकबोलबाट निक्षेप स्वीकृत भएको संस्थाको खातामा निष्कासनको दिन पर्याप्त रकम नभएमा राष्ट्र बैंकले कारबाही गर्ने जनाएको छ। त्यस्ता संस्थालाई कालोसूचीमा राख्नुका साथै आगामी बोलकबोल प्रक्रियामा सहभागी हुनसमेत रोक लगाउन सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता खिचेर वित्तीय प्रणालीमा तरलताको अवस्था सन्तुलित राख्ने उद्देश्यले यस्तो निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।






























