कथा : देशको वर्तमान अनुहार
वि.सं.२०८३ असोज १७ शनिवार
shares
समस्या जिउँका तिउँ छन्, समाधान भएन, खोई किन हो ? एकजना बबुरो बिरामी भएर अस्पताल गएछ, बिचरो ! लाइन कुर्दाकुर्दै निको भएर फर्किएछ ।
यात्राकै क्रममा पुलिसले सडक चेकजाँच गरेछ, दुईजना भागेछ, यसो नजर दौडाउँदै थिए, अर्को परेछ, सोधखोज गरेछ, ऊ निरीह हुँदै प्रश्न गरेछ, बिचरोलाई के थाहा, कस्तो विडम्बना आइपरेछ ? “प्रश्न गरेको आरोप लागेर उल्टै दुई दिन कठघरामा बसेछ ।“
यौन दुर्व्यवहारका घटना सल्बलाइरहेछन्, घटिरहेछन्, सुन्दा पनि कान थुन्न मन लाग्छ । वीभत्स अनि डरलाग्दा उस्तै । मेरो देश कता जादैछ, प्रश्न गर्न मन लाग्छ । तर उत्तर भने अनुत्तरित नै रहन्छ ।
बाहिर हेर्दा साधारण देखिए पनि कसैको जीवन भोगाइ कहालिलाग्दो हुन्छ । उसका अनुभव अनि सङ्घर्षका पदचाप भयावह लाग्छ, प्रत्येक पाना पल्टाउँदै जाँदा एकपछि अर्को ताँती लाग्छ । बाँच्नु पनि कम्ता सहज रहेनछ, एकपछि अर्को दु:खका चुली लागेको सुन्दा कथा लेख्न मन लाग्छ ।
सुत्केरीलाई खाना पकाउँने ग्यास नहुँदा एक युवा नदीमा हाम फालेछ, लाचार बनेर, पोख्यो होलानि विरह, राख्यो होलानि समस्या त, तर कसैले सुनेनन् ? संयन्त्र बहिरो भएछ, बिचरो ! निराश भएर त होला, नदीमा हाम फालेको तर यहाँ किन के कारणले हो, उसको विवशताको खोजी हुँदैन ? पहिचान छैन, त्यो त केवल लाइक, कमेन्ट अनि भ्यूज बढाउँने कन्टेन्ट बनेछ । भन्दै थियो मासमा, एकजनाले, “लाइक, कमेन्ट अनि भ्यूज बढाउँन त कन्टेन्ट फरक हुनुपर्छ, यस्तै हुनुपर्छ, अहिलेको जस्तै ।“ कस्तो दुर्भाग्य ! आत्मियता अनि मानवता बिस्तारै हराउँदै छ, मान्छे बनावटी बनिरहेछ ।
न्याय माग्न पुगेकाको घाटी सुकेछ, तर सडकमा पठाउँनेको चाहिँ दिन खुलेछ, मर्नेमा दीनहीन अनि निमुखो परेछ । रुँदिहुँन आमा ! छाती पिटीपिटी जीवनभरिलाई पुग्यो भन्दै, सुनेको थिएँ, “डिप्रेशनको सिकार भइन रे, तर अफसोच ! पहुँचवाला नै खुड्किला चढेछ, रगतको पनि सौदा हुँने जमातमा भरोसा कसैको नहुँदो रहेछ ?”
यहाँ त मुखौटो दुईटा हुँदोरहेछ, बाहिरी आवरण गरिबको समर्थनको, दीनदुखीको साथमा भएको नारा घन्किन्छ । सर्वहाराका समस्या हाम्रा हुन्, सामाजिक विभेदको अन्त्य गरौँ, बहस चल्छ, कचहरी बस्छ । यो परिवेशमा भ्रमको खेती जसले गर्न जान्यो, आँखामा पर्दा हाल्न जसले जान्यो, बुझँ, “उहीँ नै नेता बन्छ, सम्मानको लायक ठहर्छ ।“
सर्वहाराले गरिबीसङ्ग नाता जोडेछ, पसिना साटेर जीवन चलाउँछ । उसले सधैँ अभावसङ्ग साइनो जोडेछ । यस्तो गहन मितेरी गाँस्न पुगेछ कि जीवनपर्यन्त आफूलाई त निर्धनको ट्याग लगायो- लगायो तर आफ्ना सन्ततिलाई पनि संस्कार, इमानदारिता अनि सत्यनिष्ठको गतिलो पाठ पढाएछ, पुस्तौँसम्म जीवन्त राखेछ !
पितामहादेखिकै परम्परा धानेको छ, विरासतमा पाएको छ निर्धनको ट्याग !
ऊ त अब मानसिक, भावनात्मक, आर्थिक अनि सामाजिक रूपमा पनि कमजोर बनेछ ।
शरीरमा सामर्थ्य छउन्जेल त गर्ला काम,पाखुरा बजार्ला,पसिना बेच्ला तर खोई, भविष्यको सुनिश्चितता ?
यसरी नै अझै कति पुस्ता धकेलिन्छ,थाहा छैन, उसको बोली बिक्दैन,आवाज दबिन्छ, कुण्ठित हुन्छ । तमाम अवसरबाट बञ्चित हुन्छ ।
उसलाई यहीँ समाजले बाध्य बनाउँछ, बाहिर देख्दा त अनुहार सबैका उस्तै छन् तर भित्रभित्रै सञ्जाल गहिरो हुँदोरहेछ । हातेमालोको खेल पनि अदृश्य, दबदबा रहेछ । बल्ल बुझेँ, “तब पो विपन्नको आवाज हराउँदो रहेछ ।“
हो, त्यसैले म भन्छु, “जहाँ दमन हुन्छ,अन्याय हुन्छ, तब विरोधले जन्म लिन्छ अनि प्रतिशोध जन्मन्छ । त कतै मौनता पनि जन्मन्छ, अनि विचार बोल्न थाल्छ,मत बोल्छ, चेतना बोल्छ ।“
देख्नेलाई लाग्दो हो, दमनपछि आवाज हराउँछ, कथाले पूर्णविराम रोज्छ,सब साम्य हुन्छ । हो, केही समयका लागि थिचिएको होला, दबिएको होला तर जब चेतना बोल्न थाल्छ, विचारको मत राख्ने पालो आउँछ नि ! सुन्ने स्तब्ध रहन्छन्, सन्नाटा छाउँछ, शून्यता हुन्छ, माहोल शान्त रहन्छ, केवल शान्त !
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर































