७ म्याग्निच्युडको भूकम्प, कम्तीमा १६ जनाको मृत्यु, ३२ घाइते
वि.सं.२०८३ कात्तिक ६ शुक्रवार
shares
काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो ।भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोट लागेको छ । शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन् ।भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।उद्धार तथा राहतका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । त्यसैगरी, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा ३४७ जना जनशक्ति खटाएको छ ।भूकम्पबाट भएको समग्र क्षतिको आकलन भइरहेको र प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।


































