दुई संसदीय समितिका बैठक बस्दै
वि.सं.२०८३ कात्तिक २० शुक्रवार
shares
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत दुई संसदीय समितिका महत्त्वपूर्ण बैठकहरू शुक्रबार बस्ने भएका छन् ।
सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठक र हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक शुक्रबार बिहान बस्ने भएको हो ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः३० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू उपर परेका उजुरीबारे उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । साथै, सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द (काठमाडौँ) र चन्द्रबहादुर सारू (अर्घाखाँची) लाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने सङ्घीय संसद् सचिवालयका कानुन सहसचिव लक्ष्मी प्रसाद गौतमले जानकारी दिएका छन् ।
यसैगरी, पूर्वाधार विकास समितिको हलमा आजै बिहान ९ः३० बजे बस्ने हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा विपद्पछिको अवस्थाबारे मन्त्रालयहरूसँग छलफल हुनेछ । बैठकमा अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग विपद्पश्चात् गरिएका उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापना कार्यहरूको पछिल्लो प्रगति विवरणबारे जानकारी लिने कार्यसूची तय गरिएको छ ।
































