प्रधानमन्त्रीसहित चार पूर्वप्रधानन्यायाधीशविरुद्ध दायर अवहेलना मुद्दा पेशीमा
वि.सं.२०७७ चैत २० शुक्रवार
shares
काठमाडौं, सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन रहेको प्रधानमन्त्री केपी शर्मा ओली र चारजना पूर्वप्रधानन्यायाधीश विरुद्ध दर्ता भएको अवहेलना मुद्दामा शुक्रबार पेशी तोकिएको छ ।
प्रतिनिधिसभा विघटनबारे टिप्पणी गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र चारजना पूर्वप्रधानन्यायाधीश विरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दा पेशीमा चढेको हो ।
शुक्रबार उक्त निवेदन न्यायाधीश इश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासमा पेशी रहेको छ।
प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले अवहेलनाको निवेदन दर्ता गराएका थिए । सो निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैं उपस्थित हु्न आदेश गरेको थियो ।
उक्त निवेदनमा फागुन ६ गते प्रधानमन्त्री ओली आफैं जवाफ लिएर सर्वोच्च उपस्थित भएका थिए ।
चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी,अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटनको विरोध जनाएका थिए । उनीहरुको अभिव्यक्तिले अदालतको अवहेलना हुने जिकिर गर्दै अधिवक्ता रामराजा घिमिरेसहितले अवहेलना निवेदन दर्ता गराएका थिए ।




























