नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न
वि.सं.२०७९ चैत ९ बिहीवार
shares
काठमाडौं।नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा यही चैत्र ९ गते काठमाडौंमा सम्पन्न भएको छ । नेपाल र मित्रराष्ट्र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्दै लगानी तथा पर्यटन क्षेत्रलाई फराकिलो बनाउने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा माननीय उपप्रधानमन्त्री श्री नारायणकाजी श्रेष्ठ ज्यू, नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष श्री सञ्जय अग्रवाल ज्यू, नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य श्री राजेशकाजी श्रेष्ठ ज्यू, नेपाल इटाली चेम्बर अफ कमर्सका पदाधिकारी तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा नेपाल इटाली उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारणसभामा कार्यवाहक अध्यक्ष श्री ध्रुवकुमार श्रेष्ठ ज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो । मन्तव्यमा उहाँले भन्नुभयो “नेपालको सांस्कृतिक, वस्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा इटालीको योगदानप्रति हामी आभारी छौं र यो सहयोग हाम्रा दुई देशबीचको मित्रताको चिरस्थायी प्रतीकको रूपमा रहने छ भन्ने हाम्रो विश्वास रहेको छ । ”
नेपाल र इटालीबीच कुटनीतिक सम्बन्ध स्थापना भएको करिब साढे ६ दशक हुनै लागेको छ । सन् १९५९ अगस्ट ३१ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यो अवधिमा दुई मुलुकबीचको सम्बन्ध सुमधुर रहेको र व्यापार व्यवसाय पनि उल्लेख्य नै रहेको परिदृश्यमा दुई मुलुकबीचको आर्थिक सम्बन्धलाई थप बलियो र सशक्त बनाउन नेपाल इटाली चेम्बर अफ कमर्स स्थापना भएको हो ।
कार्यक्रममा नेपाल इटाली उद्योग वाणिज्य क्षेत्रमा योगदान पु¥याउनुभएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । जसमा विशेष सम्मान नेपाल इटाली चेम्बर अफ कमर्सका विशिष्ठ मानार्थ सदस्य श्री राजेशकाजी श्रेष्ठज्यूलाई प्रदान गरिएको थियो । त्यस्तै नेपाल र इटालीबीच व्यापार क्षेत्रमा उत्कृष्ट आयातकर्ताका रुपमा श्री विनोद सगतानीज्यू लाई प्रदान गरियो । इटालीतर्फ नेपाली वस्तु निर्यातको लागि उत्कृष्ठ निर्यातकर्ताको रुपमा सम्मान श्री राजु श्रेष्ठज्यूलाई प्रदान गरिएको थियो । नेपाल इटली चेम्बर अफ कमर्सका तर्फबाट नेपालमा इटालीका पर्यटक सबैभन्दा बढी भित्र्याउन सफल भई पर्यटन क्षेत्रमा पु¥याएको योगदान लागि पिस इन्टरनेशनल टुर एन्ड ट्राभल्सका प्रवन्ध निर्देशक श्री सर्वोत्तम लाल श्रेष्ठज्यूलाई सम्मान प्रदान गरिएको थियो साथै फायर एण्ड आईस पिज्जेरियालाई उत्कृष्ट लगानीकर्ताको रुपमा सम्मान प्रदान गरियो ।
इटालीले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विकास सहयोग प्रदान गर्दै आएको छ । विशेषगरी सन् १९९० मा प्रजातन्त्र आएपछि इटालियन सरकार र जनताले नेपालमा सहयोगको मात्रा बढाउँदै लगेका छन् । यस्तै, सन् २०१५ को विनाशकारी भूकम्पपछि पीडितलाई उल्लेख्य मात्रामा इटालियन सहयोग प्राप्त भएको छ । नेपाल इटली चेम्बरमार्फत द्विपक्षीय व्यापार अभिवृद्धिसँगै नेपालमा इटालीबाट लगानी भित्र्याउने तथा नेपालमा इटलीका पर्यटकको संख्या बढाउन अभिप्राय रहिआएको छ । नेपाल र इटालीबीचको सम्बन्ध मित्रता, आपसी हित र सौहार्दतामा आधारित छ ।































