कोप २९ जलवायु न्याय र जलवायु परिवर्तन प्रभावको वहस
वि.सं.२०८१ कात्तिक १९ सोमवार
shares
सामान्यतया जलवायु परिवर्तन प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मानवीय क्रियाकलापसँग सम्बन्धित भइ विश्व वायुमण्डलीय संरचनामा परिवर्तन गर्न र तुलनात्मक समयावधिभित्र प्राकृतिकरुपमा परीक्षण भएको जलवायुलाई जनाउँछ। मानव जीवनमा भइ रहेका विभिन्न क्रियाकलापका कारण पृथ्वीमा हरितगृह ग्याँस उत्सर्जन बढ्न गई पृथ्वीको औषत तापक्रम वृद्धि भइ वातावरणीय अवस्थामा परिवर्तन भइरहन्छ। जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने गतिविधि हो। पृथ्वीमा सौर्य विकिरणमार्फत तापशक्ति प्राप्त हुन्छ र यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलनमा रहन्छ । पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण पुनः अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुनगई असन्तुलन हुन गएमा पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ हुन जान्छ र जलवायुमा परिवर्तन आउँछ। कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई नै जलवायु भनिन्छ । जब त्यही जलवायुको अवस्थामा दीर्घकालीन परिवर्तन आउँदछ, त्यसलाई नै जलवायु परिवर्तन भनिन्छ । यो वर्षा, तापक्रम, आद्रता, वायुको गति आदिजस्ता जलवायुजन्य उपागमहरुमा आउने दीर्घकालीन तथा प्रतिकुल अवस्थाको परिवर्तन हो ।
संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार जलवायु परिवर्तन भनेको पृथ्वीको तापमान र मौसमको प्रकृतिमा आउने दीर्घकालिन फेरबदल हो । खनिज इन्धनको बढ्दो प्रयोग र वन विनाश जस्ता मानवजन्य क्रियाकलापमार्फत हरितगृह ग्यास उत्सर्जनका कारण विश्वको औसत तापमान बढ्दो छ ।जलवायु परिवर्तनका प्रभावहरू अत्यन्तै डरलाग्दा हुन्छन् । बारम्बार दोहोरिहने चरम मौसमी गतिविधिहरू, बढ्दो समुद्र सतह, वर्षा हुने समय र मात्रामा फेरबदल भैरहने र ध्रध्रुवीय क्षेत्र तथा हिमाली भेगमा तीव्रगतिमा हिउँ पग्लिने अवस्था आउन सक्छन्। पछिल्लो २०० वर्षमा मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइजस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उत्सर्जन दिन प्रतिदिन वायुमण्डमा बढ्दै गइरहेको छ र परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बृद्धि हुँदै छ । हरितगृह ग्यासका प्रमुख स्रोतहरूमा वनजंगलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकीकरण आदिजस्ता क्रियाकलापहरू पर्दछन्।जलवायु परिवर्तन लामो समयको जलवायु सम्बन्धि तथ्यांकको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो। जस अनुसार बेला बेलामा मौसममा आउने उतार चढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न।
विकासशील मुलुकहरुमा बसोबास गर्ने मानिसहरुले जलवायु परिवर्तनबाट सबैभन्दा धेरै क्षति बेहोर्नुपर्नेछ । किनकि उनीहरुसँग जलवायु परिवर्तनको सामना गर्नका लागि स्रोत र साधनको कमी छ । विकसित मुलुकहरुको तुलनामा हरितगृह ग्यास उत्सर्जनमा निकै कम भूमिका रहेका ती मुलुकहरुले जलवायु परिवर्तनका असरहरु भने धेरै भोग्नु परिरहेको छ ।जलवायु परिवर्तनका कारण पृथ्वीको महासागर तथा जलीय जीवन पनि खतरामा परिरहेको छ । अमेरिकाको राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय विभागले सन् २०२२ को अप्रिलमा प्रकाशित गरेको एक शोध प्रतिवेदन अनुसार १० प्रतिशत देखि १५ प्रतिशत सम्म सामुद्रिक प्रजातिहरू लोप हुने खतरा छ । तीव्र रुपमा तातिरहेको पृथ्वीमा जीवहरुका लागि आवश्यक खाना तथा पानी फेला पार्न पनि मुस्किल हुनेछ ।उदाहरणका लागि तापक्रम वृद्धिका कारण ध्रुवीय हिउँ पग्लिंदा पोलार भालुको प्रजाति नै संकटमा पर्न सक्दछ । साथै एउटा हात्तीलाई दैनिक आवश्यक पर्ने डेढ सयदेखि ३ सय लिटर पानी पाउनै मुस्किल पर्न सक्दछ ।आवश्यक कदम नउठाउने हो भने यो शताब्दीको अन्त्यसम्ममा ५५० प्रजातिहरु लोप हुनसक्ने चेतावनी वैज्ञानिकहरुको छ ।
विश्वमा जलवायु परिवर्तनका भिन्न भिन्न प्रभाव हुनेछन् । संयुक्त राष्ट्रसघको जलवायु निकाय आईपीसीसीका अनुसार यदि विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न नसकिएमा बेलायत तथा युरोप अत्यधिक वर्षाका कारण भयानक बाढीको चपेटामा पर्ने ,मध्यपूर्वका देशहरुले अत्यधिक गर्मीको लहरका कारण व्यापक सुख्खा खडेरीको सामना गर्नुपर्ने, प्रशान्त क्षेत्रका टापु राष्ट्रहरु समुद्रमा डुब्न सक्ने, विभिन्न अफ्रिकी देशहरुले खडेरी तथा खाद्यान्नको अभावको सामना गर्नुपर्ने,पश्चिमी अमेरिकामा खडेरीको सम्भावना हुनुका साथै अत्य क्षेत्रमा धेरै तीव्र आँधीहरू आउने, अष्ट्रेलियामा अत्यधिक गर्मी तथा जंगलमा लाग्ने डढेलोका कारण जनधनको क्षतिको खतरा बढ्ने यजता असर देखिनेछन् ।
अहिले विश्वको जलवायुमा जुन तीव्र परिवर्तन देखिइरहेको छ त्यो मानिसले आफ्नो घर, कारखाना तथा परिवहनका लागि प्रयोग गरिएको पेट्रोलियम, ग्यास तथा कोइलाको उपयोगका क्रममा उत्सर्जित हरितगृह ग्यासका कारण भएको हो ।जब यी जिवाश्म इन्धनहरू दहन हुन्छन् तब त्यसबाट हरितगृह ग्यासहरु निस्किन्छन्, जसमा सबैभन्दा ठूलो हिस्सा कार्वनडाइ अक्साइडको रहेको हुन्छ । यी ग्यासहरुका कारण विश्वको तापक्रममा बढोत्तरी हुने मात्र होइन पृथ्वीको सुरक्षा कवचको रुपमा रहेको ओजोन तहमा पनि क्षति पु¥याउँदछन् ।ओजोनको पत्रमा प्वाल पर्दा सूर्यको परावैजनी किरणसहित अत्यधिक तापक्रम पृथ्वीमा आउँदछ, जसले पृथ्वीमा तापक्रम बढाउने काम गर्दछ । यद्यपि तापक्रम वृद्धिको मूख्य कारण चाहिँ हरितगृह ग्यासका कारण सिर्जित हरिगृह प्रभाव नै हो ।बढ्दो तापमानका कारण हिमनदीको हिउँ तीव्र रुपमा पग्लिरहेको छ भने समुद्रको जलस्तर पनि बढिरहेको छ ।१९औं शताब्दीको तुलनामा विश्वको तापक्रम हाल १.१ डिग्री सेल्सियस भन्दा अधिक वृद्धि भैसकेको छ र वातावरणमा कार्वनडाइ अक्साइडको मात्रामा ५० प्रतिशतले वृद्धि भएको छ ।मानवीय गतिविधिहरुका कारण विश्वको तापमान बढिरहेको छ र जलवायु परिवर्तनले मानिसको जीवनका हरेक पहलुहरुलाई खतरातर्फ धकेलिरहेको छ ।यदि यो मुद्दालाई यत्तिकै अनियन्त्रित रुपमा छाडिदिने हो भने मानिस तथा प्रकृतिले विनाशकारी तातो वायुको लहर तथा सुख्खा र गर्मीको सामना गर्नुपर्नेछ भने समुद्रको जलस्तर बढ्नुका साथै व्यापक रुपमा जैविक विविधताको विलोपन हुनेछ ।
जलवायु वैज्ञानिकहरुका अनुसार यदि विश्वलाई जलवायु परिवर्तनका सबैभन्दा खराब परिणामबाट बचाउने हो भने तापमान वृद्धिमा नियन्त्रण गर्नु आवश्यक हुन्छ ।पेरिस जलवायु सम्झौताले पनि विश्वलाई विनासबाट बँचाउनका लागि सन् २१०० सम्ममा विश्वको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा राख्ने लक्ष्य लिएको छ ।तर यदि उक्त लक्ष्य प्राप्तिका लागि विश्वका मुलुकहरुले प्रभावकारी कदम नचाल्ने हो भने तापक्रम वृद्धि छिटै नै २ डिग्री सेल्सियसभन्दा धेरैले बढ्ने पक्का रहेको वैज्ञानिकहरुको भनाइ छ ।स्वतन्त्र क्लाइमेट एक्सन ट्रयाकर रुपको सन् २०२१ को रिपोर्ट अनुसार यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम २.४ डिग्री सेल्सियसले बढ्ने खतरा समेत रहेको छ ।यदि हतिरगृह ग्यासको उत्सर्जनमा कमी ल्याउनका लागि प्रभावकारी कदम नचालिएमा विश्व उष्णणीकरण ४ डिग्री सेल्सियस पनि नाघ्नसक्ने खतरा रहेको वैज्ञानिकहरु बताउँछन् । यसले भयानक गर्मीको लहर उठ्नेछ भने लाखौं मानिसहरुले समुद्रको बढ्दो जलसतहमा आफ्ना वासस्थानहरु गुमाउनेछन् । यसले जीव तथा वनस्पतीका लाखौं प्रजातिहरुलाई अपूरणीय क्षति पुग्नेछ ।
जलवायु परिवर्तनका लागि जिम्मेवार तत्त्व हरितगृह ग्यास नै हुन् । औद्योगिक तथा अन्य प्रयोजनका लागि दोहन गरिने कोइला, तेल तथा प्राकृतिक ग्यासजस्ता जैविक इन्धनबाट ठूलो परिमाणमा हरितगृह ग्यास उत्सर्जन भइरहेको हुन्छ । हरितगृह ग्यास उत्सर्जनको सबैभन्दा ठूलो स्रोत ताप तथा ऊर्जा उत्पादनका लागि गरिने कोइला, प्राकृतिक ग्यास तथा तेलको प्रयोगले २५ प्रतिशत हिस्सा ओगटेको हुन्छ । त्यस्तै कृषि उत्पादन र वनविनाशले कुल हरितगृह ग्यास उत्सर्जनको २४ प्रतिशत हिस्सा ओगटेको छ भने उद्योग क्षेत्रको हिस्सा २१ प्रतिशत रहेको छ । यातायातका साधनमा प्रयोग हुने जीवांश इन्धनले हरितगृह ग्यासको उत्सर्जनमा १४ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै घरायसी प्रयोगमा ताप वा ऊर्जा उत्पादनका क्रममा ६ प्रतिशत हरितगृह ग्यास उत्सर्जन हुन्छ भने पेट्रोलियम पदार्थको पहिचान, उत्खनन, प्रशोधन, भण्डारण र वितरणका क्रममा कुल हरितगृह ग्यासको १० प्रतिशत उत्सर्जन हुने गरेको छ ।
सन् १९६०को दशकपछि पृथ्वीमा भएको द्रुत औद्योगिक विकास तथा जनसंख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरू बताउँछन्। मूलतया जीवावशीष इन्धनको अत्यधिक प्रयोग र तिनबाट उत्सर्जित हरितगृह ग्यासका साथै वनजङ्कलको विनास भै त्यस्तो ग्यास अवशोषण गर्ने तत्वको कमीले भूमण्डलीय तापक्रम बढेको अनुमान गरिन्छ । कोइला, खनिज तेल र ग्यासजस्ता वस्तुको बढ्दो दहनले वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पुग्दछ । जङ्कल फँडानी र भू–क्षयीकरणले पनि वायुमण्डलमा बढी कार्बन डाइअक्साइड पठाउँछ र खेतीपातीदेखि चिस्यान प्रविधि (रेफ्रिजेरेसन) का गतिविधिबाट हरितगृह ग्याससमेत सिर्जना भइरहेका हुन्छन्। पृथ्वीमा जलवायु परिवर्तनका कारणले सन् १९०६ देखि २००५ सम्ममा औसत तापक्रम ०.७४ डिग्री सेल्सियसले बढेको छ। त्यस्तै सन् १९६१ र २००३ का बीचमा समुद्रसतहमा प्रतिवर्ष १.८ मिलिमिटरले बृद्धि भएको छ र जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक, पर्यावरणीय र विकासका संरचनामा नकारात्मक असर पुगेको कुरा विभिन्न तथ्यांक र प्रमाणले पुष्टि गरेका छन्। जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा पनि देखिन थालेको छ ।
तथ्यांक अनुसार पछिल्लो एक शताब्दीमा पृथ्वीको तापक्रम ०.८ डिग्री सेल्सियसले बढेको छ । यसमध्ये ०.६ डिग्री सेल्सियस पछिल्लो ३ दशकमा मात्र बढेको हो । पछिल्ला केही दशकमा समुद्रको जलस्तरमा प्रतिवर्ष ३ मिलिमिटरले वृद्धि भइरहेको छ र वर्षेनि ४ प्रतिशतका दरले हिमनदीमा हिमगलन भइरहेको छ । सन् १७५० मा सुरु औद्योगिक क्रान्तियता वायुमण्डलमा कार्बनडाइ अक्साइडको मात्रा ३० प्रतिशत र मिथेनको मात्रा १४० प्रतिशतले बढेको छ । कार्बनडाइ अक्साइडको मात्रा ८ लाख वर्ष यताकै उच्च भएको बताइन्छ । वैज्ञानिक अनुसन्धानले देखाए अनुसार अहिलेकै दर कायम रहेमा सन् १८५० को तुलनामा २१ औं शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसले बढ्नेछ । तर यदि हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्न नसक्ने हो भने यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापमान ३ देखि ५ डिग्रीसम्मले बढ्न सक्ने चेतावनी वैज्ञानिकहरूले दिइरहेका छन् । सन् २०१५ इतिहासमै सबैभन्दा उष्ण वर्षको रूपमा रह्यो ।
हालै मात्र सोलुखुम्áुमा रहेको हिमताल विष्फोटनबाट थामेमा बाढी आएर जनजीवन नै अस्तव्यस्त बनाएको छ ।नेपालमा करिब २३२३ वटा हिमतालमध्ये धेरै जलवायु परिवर्तनको नकारात्मक प्रभावले गर्दा फुट्न सक्ने अधिकतम जोखिममा छन्। वि.सं २०६६ मा हुम्ला जिल्लाको हल्जी क्षेत्रमा ताक्सो हिमताल फुटेर आउँदा बाढीको प्रकोप भएको थियो। तापक्रम बृद्धिले खुम्बु हिमनदीमा क्रमिक विचलन देखापरेको छ। इसिमोडले गरेको अध्ययनअनुसार उक्त हिमनदीबाट प्रतिवर्ष औसत ६५ फिट खस्किदै गएको छ। हिमाली क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा विभिन्न समस्याहरु हुन् थालेका छन् ।
तराई र पहाडी जिल्लाहरुमा ठूलो मात्रामा किसानले लगाएको बालीनालीमा क्षति गरेर खाद्य सङ्गट उत्पन्न भइरहेको छ। तराईका जिल्लाहरुमा अत्यधिक मात्रामा मौसममा उथलपुथल भइदिनाले जनजीवन अस्तव्यस्त भइरहेको हामीले भोगिरहेका छौं। तीब्र गतिमा जलवायु परिवर्तन भइरहेको खण्डमा पृथ्वी जीवजन्तुको बासस्थानको लागि योग्य नहुने, प्राकृतिक प्रकोपको खतरा झन् बढ्ने । हिउँ पग्लेर हिमतालहरू फुट्न सक्ने, विभिन्न रोगको संक्रमण अझै बढ्न सक्ने, ऋतुहरूको समय हेरफेर हुनेजस्ता समस्या आउन सक्छन्। पृथ्वीका धेरै ठाउँ मरुभूमिमा परिणत हुन सक्छन्।
अर्को तर्फ चुरे पर्वत श्रृखलामा पनि प्राकृतिक श्रोतको चरम दोहन हुन थालेपछि त्यहाँको वातावरणमा व्यापक फेरबदल हुन शुरु भएको छ। जमिन मुनीको पानी समेत सुक्नुका साथै वन–जंगल मासिने र ढुंगा, बालुवा, गिट्टीको अनधिकृत ओसार पसार तथा योजना विनाका बाटा खन्ने कामले गर्दा चुरे क्षेत्र जर्जर हुँदै गएको छ। तर चुरेभाँवरको दोहनमा कुनै कमी आएको छैन।हिमाल र पहाड मात्र नभई तराईमासमेत कृषियोग्य जमीनको प्लटिङ र घर तथा शहरको निर्माण, बढ्दो जनसङ्ख्या र यातायातको साधनको बढ्दो चापले गर्दा पानीको हाहाकार, बढी उष्ण वायुका साथै खाद्यान्नको अभाव हुन थालेको छ।यस्तो अवस्थामा बढ्दो तापमानसँगै पानीको अभाव र उष्णताले गर्दा माटोको उर्वरा शक्ति घट्ने हुँदा कृषियोग्य जमीनको उत्पादकत्वमा ह्रास आउन थाल्छ भने मानवजाती र पशुपंक्षीको जीवनचक्रमा नै नकारात्मक प्रभाव पार्न थाल्दछ।
पुरै मुलुक तथा दक्षिण एशियाको नै वातावरणमा ह्रास आउन थालेकोले पनि जलवायु परिवर्तन हुनमा थप बल पुगेको छ। मनसुनको कुनै ठेगान नहुने, कुनै वर्ष लामो अवधिसम्म पानी पर्ने त कुनै वर्ष खडेरी लाग्ने, प्रत्येक वर्ष तापक्रममा वृद्धि हुँदै जानाले जनजीवन नराम्ररी प्रभावित हुने तथा विभिन्न प्रकारका प्राकृतिक प्रकोप तथा महामारीहरू बढ्दै गएका छन्।वैज्ञानिकहरूको एक आँकडा अनुसार आउँदो ५० वर्षमा दक्षिण एशियामा गर्मीमा अप्रत्याशित वृद्धि भएर वर्षेनी करोडौं मानिसको मृत्यु हुन सक्ने अवस्था आउने छ। यसको शुरुवात भइ नै सकेको संकेत पाउन थालिएको छ।वर्षभरका विभिन्न समयका मौषमसँग नेपालका चाडपर्वहरूको अकाट्य सम्बन्ध कायम रहेकोमा जलवायु परिवर्तनले गर्दा केही समय यता चाडपर्व र सोसँग सम्बन्धित मौषमको बीचमा तालमेल नहुने अवस्था सिर्जना हुँदै गएको देखिन्छ।
गर्मी छलेर ठण्डा क्षेत्रमा बसोवास गर्ने आकांक्षा मानवजातिमा मात्र हुँदैन। उदाहरणको निम्ति केही वर्षदेखि नेपालमा नै लामखुट्टेदेखि लिएर कैयन् प्रजातिका चराचुरुङ्की र जङ्कली जनावर जस्तै चितुवा, बाघ र सर्प, विच्छी समेत अग्लो भूमि खोज्दै पहाड र हिमाल पुग्न थालिसकेका छन्।मलेरिया र डेङ्कु अब तराईको मात्र समस्या नभई नेपालका सबै क्षेत्रमा पैmलँदै गएका छन्। त्यस्तै तापमान वृद्धि कै कारण हिजो आज उच्च पहाडी इलाकामा पनि आँप र लिच्ची फल्न थालेका छन्। वर्षेनी टाढा टाढाबाट नेपालमा आएर केही समय बस्ने आप्रवासी चराहरूको संख्या बिस्तारै घट्न थालेको छ।
तापमान र जनसंख्यामा वृद्धि तथा खेतीयोग्य जमीन र सिमसार क्षेत्रहरू घट्दै जानाले पनि त्यस्ता चराहरूले खानपान, बसोवास र बचेरा हुर्काउने जस्ता कुरामा यो क्षेत्र असुरक्षित भएको महसुस गरेर अन्यत्र जान थालेका छन्।जलवायु परिवर्तन कै कारण कैयन् जीव–जन्तु तथा माछा र किटाणुहरूको साथै धेरै थरी वनस्पति समेत लोप हुने क्रम बढ्दो छ । आकाशे पानीमा निर्भर हुनु पर्ने कृषिमा ह्रास आएपछि पशुपंक्षीको अवैध शिकारमा पनि वृद्धि हुने गर्दछ र फलस्वरूप प्राकृतिक इकोसिस्टममा नै खलल पर्न थाल्दछ। अहिले दशैँ र गर्मी तिहारका साथै माघे झरी माघमा नपर्ने, माघीमा जाडो नहुने, चैते हुरी चैतमा नआउने तथा मनसुनको शुरुवातमा पनि ढिलाई हुँदै जाने क्रम जलवायु परिवर्तनसँगै जोडिएको छ। केही दशक अघिसम्म पहाडी इलाकामा भदौतिर देखि ठण्डी मौषम शुरु हुने गरेकोमा हिजो आज कार्तिक महिनासम्म पनि गर्मी हुने र लामखुट्टे र साङला जस्ता जीवहरू देखा परिरहने हुन थालेको छ।एकातिर हामी जलविद्युतको ठूलो सम्भावना भएको राष्ट्रको रूपमा चिनिन्छौँ भने अर्को तर्फ जलवायु परिवर्तन कै कारण हाम्रो जलविद्युत उत्पादन क्षमतामा ठूलो ह्रास आउन थालिसकेको छ भने हालैका बाढी पहिरोका कारण पनि कैयन् चालु तथा निर्माणाधीन जलविद्युत केन्द्र तथा प्रसारण लाइनहरू नराम्ररी क्षतिग्रस्त भएका छन्। जलवायु परिवर्तन कै कारण भूमिगत जल भण्डार पनि सुक्दै गएको छ।
विश्वको तापमान बढ्दै जानाले हिमालय जस्तै पृथ्वीको उत्तरी र दक्षिणी गोलाद्र्धमा रहेको विशाल हिउँको भण्डार पनि छिटो छिटो पग्लन थालेको अवस्था विधमान छ । विश्वका अन्य क्षेत्रभन्दा उत्तरी गोलाद्र्धको तापमान तिव्र रूपले बढ्दै गएको छ भने दक्षिणी भागमा अवस्थित एन्टार्कटिका पनि ज्यादै प्रभावित हुँदै गएको अवस्था विधमान छ । जलवायु परिवर्तन कै कारण पानीको सतह ह्वात्तै बढ्न थाल्नुका साथै विभिन्न क्षेत्रमा भूमिगत जल भण्डार घट्दै जानाले विश्वका धेरै टापु राष्ट्रहरू डुब्दै जाने तथा समुद्रको किनारामा अवस्थित विशाल शहरहरू भित्र पानी पसेर जटिल समस्या निम्तने गरेको अवस्था विधमान छ । घना र अव्यवस्थित शहरीकरणको कारण जमीन बिस्तारै भासिँदै जाने क्रमको शुरुवात भइसकेको अवस्था विधमान छ ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्क, भारतको मुम्बइ र कोलकाता, भियतनामको हो चिह्मीन सिटी, थाइल्याण्डको बैंकक, इन्डोनेशियाको जकार्ता आदि पानीको वहाव र सतह बढ्दै जानाले खतरामा पर्दै गएको अवस्था विधमान छन्।त्यस्तै बंगलादेशको समुद्री किनारा, माल्दिभ्स आदि डुब्दै जाँदै छन् भने मेक्सिको शहर तथा कैयन् अन्य घना बस्ती भएका शहरहरू भासिँदै गएको अवस्था विधमान छन्। यस्ता शहरहरूमा हुने दैवी प्रकोपहरूबाट शहरी गरीव समुदाय नै बढी प्रभावित हुने गर्दछन्। त्यस्ता मानिसहरू घरबार विहिन हुन पुगेर वातावरणीय शरणार्थीको रूपमा बाँच्न वाध्य हुने गर्दछन्। हावामा कार्वन डाई अक्साइडको मात्रा अधिक हुन थालेकोले यसले एकातर्फ सबै प्रकारका जिवहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ भने अर्को तर्फ समुद्रको सतह तथा जमीनमा पनि यसले अम्ल वर्षा गराएर वातावरणलाई झनै दुषित बनाइरहेको छ। समुद्रको समेत तापमान बढ्न थाल्नाले पानीमा जिउने जिवहरू पानीको सतहमा भन्दा पनि निकै गहिराई भित्र बस्न थालेका छन्।
जलवायु परिवर्तनको पहिलो शिकार कृषि क्षेत्र हुने भएकोले खाद्यान्नको संकट हुनुका साथै कृषि क्षेत्रमा आश्रित जनसंख्याको आर्थिक र सामाजिक जनजीवनमा ठूलो फरक पर्न थाल्दछ। त्यसरी नै मुलुकको समग्र आर्थिक वृद्धिमा नकारात्मक असर पर्न थालेर यसले रोजगारी र आर्थिक गतिविधि तथा खासगरी मुलुकको कृषिमा आधारित उद्योगधन्दा र व्यापारलाई समेत शिथिल बनाइदिन सक्छ। अप्रत्याशित बाढी पहिरोले गर्दा बनिसकेका र निर्माणाधीन पुर्वाधारहरू ध्वस्त हुन जाँदा मुलुकले ठूलो क्षति व्यहोर्नु पर्ने हुन्छ ।
जलवायु परिवर्तनको मूलकारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालय लगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पु¥याउन थालेको छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ। हिमालय क्षेत्र नजीकका भू–भागमा मात्र होइन, यसको नकरात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको अवस्था विधमान छ ।
जलवायु परिवर्तनका नकारात्मक असर देखिइसकेको र भविष्यमा पनि देखिने पक्कापक्की भएको अवस्थामा त्यस्ता असरबाट बाँच्ने तथा मानवीय र वातावरणीय क्षति कम गर्ने तर्फ पूर्वतयारी तथा क्षमता विकास गर्नु पर्नेछ, जसलाई अनुकूलन भनिन्छ । यसले जलवायु परिवर्तनले सिर्जना गर्ने कतिपय सकारात्मक असर (जस्तै, कतिपय क्षेत्रमा बालीनालीको उब्जनी बढ्ने, चिसो ठाउँमा समेत वर्षमा धेरै महिनासम्म बाली उब्जाउन सकिने) बाट फाइदा उठाउने कुरालाई पनि बुझाउँछ । जलवायु परिवर्तन अनुकूलनको विषय सामूहिक दायित्वको विषय हो र यसले समग्र पक्ष तथा तहमा क्रियान्वयनको आवश्यकता पर्छ ।
हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनको निदानका लागि राज्यस्तरमा नै पेट्रोलियम पदार्थको खपतमा कमी ल्याउँदै नवीकरणीय उर्जा जस्तै जलविद्युत, सौर्य तथा वायु र वायो उर्जाको विकास तथा उपयोग गर्ने, वातावरणमैत्री आर्थिक विकास र निर्माणमा विशेष ध्यान दिने तथा आवश्यकता अनुसार मात्र सवारी साधनको उपलब्धतामा विशेष पहल गर्ने कार्यको आजै थालनी गर्नु पर्दछ।वन–जंगल फडानी र यसको अप्राकृतिक दोहनमा नियन्त्रण गर्नुका साथै सक्दो वृक्षरोपण तथा सिमसार क्षेत्रको संरक्षण र मानव निर्मित ताल तथा पोखरीहरूको व्यापक निर्माण र वर्षे पानी जम्मा गर्ने जस्ता पुरातन प्रणालीलाई पुनर्जागृत गर्नु पर्दछ । कृषि, औद्योगिक र शहरी क्षेत्रहरू छुट्टाएर बढी भन्दा बढी हरित र जल क्षेत्रको विकास गर्नु उचित हुन्छ। आम जनतामा वातावरणको महत्व झल्काउन व्यापक रूपमा वा अर्को शव्दमा प्रदेश र स्थानीय स्तरमा समेत सचेतना कार्यक्रमहरू सञ्चालन गरिनु पर्दछ भने सार्क सदस्य राष्ट्रहरूले एकापसमा समन्वय गरेर यी सब कार्यक्रम सबै सदस्य राष्ट्रमा सञ्चालन गर्नु आवश्यक छ ।
नेपाली अर्थतन्त्रमा जलवायु परिवर्तनजन्य असर कम गर्न सकिने तर्फ पनि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण हुनु जरुरी छ। जलवायु परिवर्तन रोक्नका लागि ठूलो भूमिका सरकार तथा उद्योग व्यवसायको रहेको छ । तर वैज्ञानिकहरुका अनुसार हरेक मानिसको जीवनमा केही स साना परिवर्तन गर्नेहो भने पनि यसले जलवायु परिवर्तनलाई कम गर्न मद्दत गर्दछ । यस्ता प्रयासहरुमा ःहवाई जहाजको यात्रा कम गर्ने,जिवाश्म इन्धनबाट चल्ने गाडीको प्रयोग नगरी विद्युतीय गाडीको प्रयोग गर्ने,मासु तथा दुग्धजन्य पदार्थको उपयोग कम गर्ने,ऊर्जा खपत घटाउने, किफायती बनाउने, आफ्नो घरको उर्जाको चुहावट घटाउने,ग्रार्हस्थ्य प्रयोगमा आउने ग्याँसलाई बिजुलीले विस्थापित गर्ने आदि उपायहरु अवलम्वन गर्न सकिन्छ ।
विश्व बैंैकको प्रतिवेदनले औँल्याएको महत्वपूर्ण विषय नेपालको जलविद्युत्को सम्भावना हो। यो अति महत्वपूर्ण छ। बैङ्गले जलविद्युत् उत्पादनलाई बढावा दिएर त्यसको खपत सकेसम्म स्वदेशमै गरेर नेपाली अर्थतन्त्रलाई बहुआयामिक सुुधार गर्न सहायकसिद्ध हुने तथ्य औँल्याएको छ । स्वदेशभित्रै विद्युतीय ऊर्जाको प्रयोगले लगानी, उत्पादन, आय र रोजगारीमा सकारात्मक प्रभाव पर्नेछ। नेपाली अर्थतन्त्रलाई बढी भएको जलविद्युत्लाई छिमेकी राष्ट्र भारत, बंगलादेश, भुटान, नेपाल ( बीबीआईएन ) सञ्जालको व्यापार मेरुदण्डका रूपमा औँल्याउनु पनि हाम्रा लागि सुखद विषय हो। यो विषयलाई कार्यान्वयन गर्नेतर्फ सरकारी निकायले उपयुक्त रणनीति तथा गृहकार्य सुरु गरिहाल्नु मुलुकको अर्थतन्त्रका लागि लाभदायक हुनसक्छ ।
जलवायु परिवर्तनको विषयलाई आर्थिकलगायत मानव जीवनका सबै पक्षसँग लेखाजोखा गरिँदा जलवायु परिवर्तनका कारक विषयहरूको नियन्त्रणमा नै ध्यान दिनु श्रेयष्कर हुन्छ। यसबाट समस्त विश्व तथा मानव सभ्यतामा नै सकारात्मक प्रभाव पर्नेछ। साथै यसबाट उत्पन्न विषमतालाई एकजुट भएर समाधान गर्नु पनि त्यत्तिकै आवश्यक छ। चुरे पहाडको संरक्षणका लागि पनि हामीले त्यत्तिकै ध्यान दिनु परेको छ । लगातार रूपमा चुरे पर्वत शृखलामा भइरहेको क्षयीकरणले हाम्रो भू–सन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ । देशभरि नै वातावरण मैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्दछ र सम्पूर्ण उद्योगलाई कम कार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न नियमन गरिनुपर्दछ। यसैगरी विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षाको पाठ्यक्रम समावेश गर्नु र भएका पाठ्यक्रमको अद्यावधिक र स्तरीकरण गरिनु जरूरी छ । हरितगृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय हो। त्यसैले आजैदेखि ऊर्जाको रूपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्यशक्ति, बायोग्यासको उपयोगमा वृद्धि गर्न आवश्यक छ।
यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा पाएका सुन्दर हिमताल र नदीनाला यिनीहरू कालान्तरमा संकटमा पर्ने निश्चित छ। त्यसो भयो भने हामीले निकै ठूलो ऊर्जा संकटको सामना गर्नुपर्ने छ। हाम्रो मुलुकमा रहेका हिमशृखला पग्लिने वा क्षय हुने क्रमसँगै पर्वतारोहणका कारण ती शृखलामा फोहोरमैला र प्रदूषण बढेको छ । यसलाई हामीले व्यवस्थित गर्नुपर्छ । विश्वका मुलुकहरुले हातेमालो गरेर एकसाथ कदम चालेमा मात्रै जलवायु परिवर्तनसँग जुध्न सकिन्छ भन्ने कुरामा विश्व समुदाय एकमत छ । सन् २०१५ मा भएको पेरिस सम्झौतामा पनि विश्व उष्णीकरणलाई १.५ डिग्री सेल्सियस सम्म कायम राख्ने संकल्प गरिएको थियो ।सन् २०२२ को नोभेम्बरमा इजिप्टमा भएको कोप २७ मा समेत विश्वका नेताहरुले जलवायु परिवर्तन रोक्नका लागि नयाँ प्रतिबद्धता जनाएका थिए ।विभिन्न देशहरुले सन् २०५० सम्ममा शून्य कार्वन उत्सर्जन अर्थात् नेट जिरोको लक्ष्य हासिल गर्ने संकल्प गरेका छन् । यसको अर्थ हरितगृह ग्याँस उत्सर्जनलाई जति सकिन्छ त्यति कम गर्नु र बाँकी उत्सर्जनलाई वातावरणमा पूरै अवशोषण गरेर सन्तुलित राख्नु हो ।विकसित देशका तुलनामा नेपालले हरितगृह ग्यास नगण्य मात्रामा उत्सर्जन गरे पनि तापक्रमवृद्धिका कारण वातावरणमा क्रमशः बहुआयामिक असर देखा परिरहेका छन्। सन् २००७को जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी कार्यदल र सन् २००९मा जलवायु परिवर्तनसम्बन्धी कोपनहेगन सम्मेलनको प्रतिवेदनले विश्वभरिको जलवायुको तथ्यांकलाई आधार मान्दै विश्वको तापक्रम बढ्दै गएको, वर्षामा थपघट भएको र विश्वका विभिन्न ठाउँमा यसका असर देखा परेको कुरा वैज्ञानिक रूपमा पुष्टि गरेको छ भने भविष्यमा हरितगृह ग्यासको मात्रा अहिलेका अनुपातमा बढ्दै गएको खण्डमा अझ स्थिति भयावह हुने कुरालाई इङ्गित गरेको छ। तसर्थ हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा साझा प्रयासको खाँचो टड्कारो देखिएको छ।
जलवायुमा सधैँ प्राकृतिक फेरबदल भैरहने नै हुन्छ तर अहिले मानवीय गतिविधिका कारण तापक्रम बढिरहेको छ।मानिसहरूले उद्योग र यातायातमा खनिज तेल, ग्यास र कोइला प्रयोग गर्न थालेयता विश्व लगभग १.२ डिग्री सेल्सिअसले तातो बनेको छ।यी इन्धन खपत हुँदा उत्सर्जन हुने हरित गृह प्रभावका कारक ’ग्रीनहाउस ग्यास’ले सूर्यबाट प्राप्त हुने तापलाई पृथ्वीमै रोक्छन् ।पृथ्वीको वायुमण्डलमा एउटा ग्रीनहाउस ग्यास कार्बन डाईअक्साइडको मात्रा उन्नाइसौँ शताब्दीयता ५० प्रतिशतले र गत दुई दशकमा १२ प्रतिशतले बढेको छ ।जलवायु परिवर्तनको हेक्का नराखी ठूला आयोजना बनाउनु घातक हुने चेतावनी जलावायुविज्ञहरुले दिने गरेका छन् ।तापक्रम थोरै बढ्दा पनि हिमाली क्षेत्रमा उथलपुथल हुनसक्ने चेतावनी वेला वेलामा बिज्ञहरुले दिने गरेका छन् ।ग्रीनहाउस ग्यास बढ्ने अर्को कारण वनविनाश हो। जब रुखहरू काटिन्छन् वा बालिन्छन् त्यसमा सङ्क्रहित कार्बन मुक्त हुन्छन्।
विकसित देशहरूमा नवीकरणीय ऊर्जाका अन्य स्रोतहरूमा लगानी गर्ने अर्थतन्त्रको ब्यबस्थापन हुन सक्छ तर हामीजस्ता मुलुकहरूसँग कार्बनाइज्ड ऊर्जाबाट दिगो ऊर्जामा परिवर्तन गर्ने स्रोतहरू छैनन् र हाम्रो आम्दानीको मुख्य स्रोत कृषिसँग जोडिएको छ जुन जलवायु परिवर्तन बाट अत्यधिक प्रभावित छ । सन् २०१९ मा गरिएको स्ट्यानफोर्ड अध्ययनका अनुसार विश्वका धनी र गरिब देशहरूको आर्थिक उत्पादनबीचको अन्तर आज ग्लोबल वार्मिङ नभएको भए भन्दा २५ प्रतिशत बढी छ। हामीसँग परिवर्तनलाई न्यूनीकरण गर्ने धनी देशको जस्तो अवसर छैन।
सन् २०२४ को नोवेम्वर ११ देखि २४ सम्म अजरबैजानको वाकुुमा जलवायु परिवर्तन सम्वन्धि संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २९ हुन गइरहेको छ ।विश्वव्यापी तापक्रम वृद्धि अर्थात उष्णीकरणले जलवायुको विद्यमान ढाँचामा अस्वाभाविक परिवर्तन ल्याएको छ ।हरितगृह ग्यास वायुमण्डलको तल्लो तहमा थुप्रिँदै गएपछि तापको विकिरण जमिनबाट परावर्तन भएर वायुमण्डलसम्म पुग्न नपाउने अवस्थाले पृथ्वी तथा पृथ्वीको तल्लो वायुको तापक्रम बढ्ने क्रम जारी छ । वर्तमान विश्वको मुख्य समस्याका रूपमा जलवायु परिवर्तन सामुन्ने आउन थालेको छ। जलवायु परिवर्तनको विषयले विश्वका सबै जीवात्मा तथा यससँग सम्बद्ध सबै आयामलाई प्रतिकूल प्रभाव पारिरहेका हुन्छन्।
जलवायु परिवर्तनको कारण मानव जीवनका पर्यावरणलगायत सामाजिक, आर्थिक, शारीरिकलगायत अधिकांश क्षेत्र प्रभावित हुने अर्थमा अहिले जलवायु परिवर्तनका कारण विश्व अर्थतन्त्रमा पर्ने प्रतिकूल प्रभावका सम्बन्धमा विशेष जोड, छलफल तथा चिन्तन गरिन थालेको अवस्था छ। विश्वमा जलवायु परिवर्तन एउटा गम्भिर समस्याको रुपमा आएको छ ।
जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्न र दिगो विकासको मार्गमा अगाडि बढ्नका लागि जलवायु न्यायमा ध्यान दिन आवश्यक छ। नेपालले जलवायु परिवर्तनका कारण जताततै देखिएको समस्या, विशेष गरी हिमाली क्षेत्रका समुदायहरूको जीवनमा परेको प्रभावलाई ध्यानमा राख्दै हरित ऊर्जा र वन संरक्षणमा जोड दिनु आवश्यक छ । नेपाललाई जलवायु अनुकूलनका लागि अन्तर्राष्ट्रिय सहयोग र प्राविधिक सहायताको आवश्यकता रहेको छ। यसका साथै, स्थानीय र समुदायको सहभागिता सुनिश्चित गर्दै, जलवायु नीति र कार्यक्रमहरूलाई प्रभावकारी बनाउनुपर्ने कुरा नेपालले उठाउनु आवश्यक रहेको छ ।
यस सम्मेलनमा नेपालले जलवायु परिवर्तनका प्रभावहरूलाई समेटेर र दिगो विकासका लक्ष्यहरूलाई प्राप्त गर्नका लागि आफ्ना प्राथमिकताहरूलाई प्रस्तुत गर्नु आवश्यक छ । नेपाल एक पर्वतीय तथा हिमाली देश भएको कारण यहाँ जलवायु परिवर्तनका प्रभावहरू विशेष गरी बर्फ पग्लने, हावापानीको अनियमितता, र प्राकृतिक आपदाहरू जस्ता समस्याहरूले नेपाली समुदायको जीवनयापनमा ठूलो चुनौती सिर्जना गर्ने भएकाले नेपालको प्राथमिकता भनेको जलवायु अनुकूलन र क्षतिपूर्ति योजनाहरूमा ध्यान दिनु हो। जलवायु परिवर्तनले गरिब समुदायलाई बढी प्रभावित पार्छ, र यसैले नेपालले जलवायु न्याय र समानता सुनिश्चित गर्नमा जोड दिन आवश्यक रहेको छ ।
सम्मेलनमा नेपालले हरित ऊर्जा प्रविधिहरूमा पनि ध्यान केन्द्रित गर्न आवश्यक छ । जलवायु परिवर्तनको प्रभावलाई कम गर्नका लागि नवीकरणीय ऊर्जा, जस्तै जलविद्युत, सौर्य ऊर्जा र वायु ऊर्जाको प्रयोग बढाउनु आवश्यक छ। नेपालमा जलविद्युतको विशाल सम्भावना छ, र यसलाई सही तरिकाले उपयोग गरेर, नेपालले दिगो विकासका लागि एक उज्ज्वल भविष्य निर्माण गर्न सक्छ।यस बिषयमा समेत सम्मेलनमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।यसका साथै, नेपालले जलवायु न्यायकालागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य र सहयोगको आवश्यकता आवश्यकताका बिषयमा सम्मेलनमा ध्यान केन्द्रित गर्न आवश्यक छ । जलवायु परिवर्तनको समस्या एकल राष्ट्रको प्रयासमा समाधान गर्न सकिदैन यसका लागि समग्र विश्वको प्रयास आवश्यक छ। नेपालले विशेष गरी विकासशील राष्ट्रहरूको हकमा न्याय र सन्तुलनको पक्षमा जोड दिन आवश्यक रहेको छ।
नेपालको प्राथमिकता जलवायु अनुकूलन र क्षतिपूर्ति योजनाहरूमा केन्द्रित रहनु आवश्यक छ । जलवायु परिवर्तनले गरिब र कमजोर समुदायलाई बढी प्रभावित पार्ने भएकाले, नेपालले जलवायु न्याय र समानता सुनिश्चित गर्नमा नै केन्द्रित गर्न आवश्यक रहेको छ । जलवायु परिवर्तनका कारण भएका प्रभावहरू, जस्तै बाढी, पहिरो र सूख्खाको कारण नेपाली नागरिकको जीवनमा अत्यधिक असर पारेको अवस्था विधमान छ । यसले कृषि उत्पादनमा नै गम्भिर समस्या सिर्जना गरेको छ र उत्पादन क्षमता घटाउँदै खाद्य सुरक्षामा समेत गम्भिर संकट सिर्जना गरेको अवस्था विधमान छ । त्यसैले, नेपालले स्थानीय समुदायलाई जलवायु अनुकूलनका उपायहरूमा सहभागी गराउदै उनीहरूको जीवनस्तर सुधार्न र जलवायु संकटको सामना गर्न प्रतिवद्ध भई अगि बढ्नु आवश्यक छ ।
हालको जलवायु परिवर्तन र ग्लोबल वार्मिङले विश्वका धेरै देशहरूमा विद्यमान पानीको सरसफाइको संकटलाई अझ बढाउँदै लगेको छ। तसर्थ जलवायु परिवर्तनका समस्याहरूसँग लड्नका लागि कानुनी संरचनाको उचित कार्यान्वयनलाई प्रभावकारी रूपमा नियमन गर्नुपर्छ । कानुनको लामो इतिहासको बिरूद्ध विश्वव्यापी वातावरणीय परिवर्तन एउटा नयाँ र जटिल समस्या हो जसको लागि हामी नयाँ कानुनी शासनको फेसन गर्दैछौं। नयाँ कानुनी व्यवस्थाहरूले जलवायु परिवर्तन, विश्वव्यापी चिन्ताको बृद्धि र समसामयिक कानुनी विकासका लागि कमन्स (समुहको भु उपयोग र प्राकृतिक स्रोतहरुको उपयोग) त्रासदीलाई नेपालले पनि वातावरणीय हानिको लागि दायित्वको मापदण्डहरू विकास गर्न, मूल्यांकन गर्न आवश्यक छ। अन्तमा, जलवायु तथा मौसमसम्बन्धी परिवर्तनले द्रुतगति लिएमा निकट भविष्य मै बाढी, पहिरो, सामुद्रिक आँधी, अनिकाल, अनावृष्टि तथा भूकम्पसमेत निम्त्याउँदै छ । सबै राष्ट्रले समयमै सचेतना नअपनाए महाप्रलय आई करोडांै मानिसको मृत्यु र खर्बौं डलरको क्षति हुने निश्चित छ । पर्यावरणलाई यी यावत् खतराहरुबाट अझै पनि जोगाउन सकिन्छ । तर यसका लागि सरकार, उद्योगी व्यापारी तथा आम नागरिकहरुले व्यापक रुपमा आफ्ना व्यवहारहरुमा परिवर्तन गर्नु आवश्यक छ ।जलवायु परिवर्तनबाट पर्ने प्रभाव न्युनिकरण्का लागि सन् २०२४ को नोवेम्वर ११ देखि २४ सम्म अजरबैजानको वाकुुमा अमयोजना हुनेजलवायु परिवर्तन सम्वन्धि संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २९मा जलवायुसम्वन्धि मुद्धामा विश्वको ध्यान जान आवश्यक रहेको छ ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन्)


























