७२ लाख राजस्व चुहावट प्रकरणमा दुई व्यापारीमाथि मुद्दा, एक करोड ४४ लाख जरिवाना माग
वि.सं.२०८२ जेठ १ बिहीवार
shares
काठमाडौं। राजस्व अनुसन्धान विभागले शुभलक्ष्मी अटो लिंक प्रा. लि.का प्रोप्राइटरहरू जगन्नाथ खनाल र दधिराम खरेलविरुद्ध राजस्व चुहावट अभियोगमा मुद्दा दायर गरेको छ। विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत अनुसन्धान तथा तहकिकात सम्पन्न गरी उनीहरूविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको हो।
शुभलक्ष्मी अटो लिंक प्रा. लि. (स्था.ले.नं. 305667577) का प्रोप्राइटर खनाल (वर्ष ४८) र खरेल (वर्ष ५४) ले सञ्चालन गरेको वर्कशप तथा गोदाममा गरिएको खानतलासी र मालवस्तुको भौतिक निरीक्षणका क्रममा राजस्व छल गर्ने उद्देश्यले विभिन्न अनियमितता गरेको पाइएपछि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो।
राजस्व अनुसन्धान अनुसार, उनीहरूले गोदाममा रहेको वस्तुहरू मौज्दात किताबमा नचढाएको, बिक्री गर्दा बिल नकटाई मालवस्तु बिक्री गरेको, बिक्री विवरण बिक्री खातामा प्रविष्ट नगरेको, मौज्दात विवरण भन्दा बढी मालवस्तु गोदाममा फेला परेको र त्यसको खरिद तथा भन्सार विवरणसमेत नभेटिएको पुष्टि भएको छ।
यसरी कर छल्ने नियतका साथ गरिएको कारोबारका आधारमा उनीहरूलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधन सहित) को दफा ४(छ) र (झ) बमोजिमको कसूर गरेको प्रमाणित भएको विभागले जनाएको छ।
प्राप्त विवरणअनुसार, भन्सार महसुल, मूल्य अभिवृद्धि कर (मु.अ.कर) र आयकर गरी जम्मा रु. ७२,११,३०० चुहावट भएको देखिएको छ। उक्त बिगो असुल उपर गरी त्यसको शतप्रतिशत जरिवाना समेत माग गरिएको छ। त्यसअनुसार, विभागले दुई जनासँग कुल रु. १,४४,२२,६०० असुल गर्नुपर्ने मागदाबी गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको हो।
साथै, उनीहरूमाथि ऐनको दफा २३(१)(ख) बमोजिम हदैसम्मको कैद सजायको समेत माग गरिएको छ।































