साढे ७ किलो सुन बरामद
वि.सं.२०८२ जेठ ४ आइतवार
shares
काठमाडौं । रसुवामा प्रहरीले स्याउ बोक्ने कन्टेनरमा लुकाएर तस्करी हुँदै गरेको अवस्थामा सुन बरामद गरेको खुलेको छ ।जिल्ला प्रहरी कार्यालय, रसुवाको टोलीले आइतबार केरुङ नाकाबाट स्याउ लिएर आउँदै गरेको कन्टेनरमा फल्स बटम बनाएर ल्याएको अवस्थामा सुन बरामद गरेको हो ।रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीले सुन बरामद भएको पुष्टि गरेका छन् ।
यद्यपि, नेपाल प्रहरी उच्च स्रोतले भने रसुवामा ७ किलो ६५३ ग्राम सुन बरामद भएको पुष्टि गरेको छ । स्रोतका अनुसार, सुनसहित एक जना व्यक्ति समेत पक्राउ परेका छन् । थप अनुसन्धान भइरहेको भन्दै उनको नाम खुलाइएको छैन ।‘ड्राइभर बस्ने ठाउँमा माथि पट्टी फल्स बटम बनाएर सुन ल्याएको खुलेको छ’, स्रोतले भन्यो, ‘सुराकीका आधारमा जाँच गर्दा सुन भेटिएको हो ।’रसुवा प्रहरीले ना ४ ख ६२०१ नम्बरको ट्रक पनि बरामद गरेको छ । सुनका विस्कुटहरुलाई थप जाँच गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीप्रति प्रहरीका विभिन्न निकायको निगरानी बढिरहँदा उत्तरी नाकाबाट सुन आउने क्रम बढ्दो क्रममा छ ।विमानस्थलमा वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गरेर सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने प्रवृत्ति छ भने उत्तरी नाकाबाट किलोमा तस्करी हुने गरेको छ ।नेपालबाट तस्करी हुने सुनमध्ये अधिकांश भारततर्फ जाने गरेको छ ।































