गृह मन्त्रालयको फर्जी भिसा काण्डमा संलग्नता नरहेको दाबी, गृहमन्त्रीमाथि चर्को आलोचना
वि.सं.२०८२ जेठ १० शनिवार
shares
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा देखिएको फर्जी भिसा प्रकरणसँग गृह मन्त्रालयको नेतृत्व जोडिएको समाचारप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव छवि रिजालद्वारा जारी विज्ञप्तिमा भ्रामक समाचारप्रति दुःख व्यक्त गरिएको छ।
विज्ञप्तिमा मन्त्रालयले शान्ति सुरक्षाको संरक्षण र सुशासन कायम गर्न निरन्तर प्रयासरत रहेको बताउँदै, कुनै अनियमितता वा अपराधमा शून्य सहनशीलताको नीति अपनाएको उल्लेख गरिएको छ।
तर, यस विषयलाई लिएर नेपाली काँग्रेसभित्रैबाट गृहमन्त्री रमेश लेखकमाथि आलोचना हुँदै आएको छ। सामाजिक सञ्जालमा पनि गृहमन्त्रीप्रति तीव्र असन्तोष देखिएको छ र राजीनामाको माग समेत उठेको छ।
यसअघि गृहमन्त्री लेखकले मन्त्रालयबाट छिट्टै विज्ञप्ति आउने जानकारी दिएका थिए र आफू केही दिनभित्र यो विषयमा बोल्ने बताएका थिए।
मन्त्रालयका अनुसार अध्यागमन कार्यालयको कामकारबाहीमा देखिएको अनियमितताको अनुसन्धान भइरहेको छ र सत्यतथ्य जानकारी पछि सार्वजनिक गरिनेछ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
नक्कली भिजिट भिसा प्रकरणमा १४ वटा ट्राभल्स एजेन्सी निगरानीमा
































