भन्सार प्रमुख कुटपिटको भन्सार विभागका कर्मचारीद्वारा विरोध
वि.सं.२०८२ जेठ १२ सोमवार
shares
काठमाण्डौ।कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिमिल्सिनामाथि शनिबार राति कार्यालय परिसरमै भएको कुटपिटको घटनाप्रति भन्सार विभागका कर्मचारीहरूले तीव्र विरोध जनाएका छन्। राष्ट्रिय ट्रेड युनियन अन्तर्गत नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियनका तर्फबाट संयुक्त रूपमा विज्ञप्ति निकाल्दै उक्त घटनाको घोर भर्त्सना गरिएको हो।
प्रेस विज्ञप्तिअनुसार जेठ १० गते राति १० बजे तिर कार्यालयबाट कर्मचारीहरूलाई आवश्यक निर्देशन दिई निवास फर्कने क्रममा प्रमुख तिमिल्सिनामाथि कैलाली घमाडि उपमहानगरपालिकाका नगर प्रहरीका रूपमा कार्यरत लक्ष्मणसिंह धामीसहितका झण्डै ५-७ जनाको समूहले बिनाकारण निर्घात कुटपिट गरेका थिए। घटनामा संलग्न व्यक्तिहरूले तिमिल्सिनालाई घाइते हुने गरी लाठी, रड आदिबाट आक्रमण गरेका थिए। यो घटना अत्यन्त गम्भीर र अमानवीय भएको भन्दै सम्बन्धित कर्मचारी संघ/संगठनले तत्काल दोषी उपर कडा कानुनी कारबाहीको माग गरेका छन्।
कर्मचारीहरूले दोषी उपर २४ घण्टाभित्र कारबाही हुनुपर्ने माग गर्दै चेतावनी दिएका छन् कि यदि कारबाही नभए चरणबद्ध रुपमा आन्दोलन गरिनेछ र आवश्यकता परे सेवा प्रवाहसमेत बन्द गरिनेछ। घटनाको CCTV फुटेज सार्वजनिक भइसकेको अवस्थामा पनि हालसम्म कुनै कारबाही नहुनु सरकारको उदासिनताको प्रतीक भएको उनीहरूको आरोप छ।
नेपाल सरकारअन्तर्गतको अत्यावश्यक सेवामा पर्ने भन्सार कार्यालयहरू २४ घण्टा संचालनमा रहनुपर्ने भएकाले त्यहाँ कार्यरत कर्मचारीहरूको सुरक्षा सुनिश्चित गरिनु आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। बजेटको पूर्वसन्ध्यामा र आर्थिक वर्षको अन्त्यतिर राज्यले तोकेको राजस्व लक्ष्य हासिल गर्न खटिएका कर्मचारीमाथिको आक्रमणले मनोबल खस्किने र राजस्व संकलन प्रभावित हुने चेतावनी पनि दिइएको छ।
विज्ञप्तिमा आक्रमणमा संलग्न सबैलाई तत्काल पक्राउ गरी कारबाही गर्न, भन्सार तथा आन्तरिक राजस्व विभागका कर्मचारीहरूलाई सुरक्षित वातावरणमा सेवा गर्न पाउने व्यवस्था गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारसँग माग गरिएको छ।
































