इजरायलद्वारा इरानको सरकारी टेलिभिजन भवनमाथि आक्रमण, द्वन्द्व थप चर्कियो
वि.सं.२०८२ असार ३ मंगलवार
shares
काठमाडौं।इजरायलले सोमबार इरानको सरकारी प्रसारण संस्था इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (IRIB) को भवनमाथि सैन्य आक्रमण गरेको छ। आक्रमणपछि केही समयका लागि रोकिएको प्रसारण फेरि सुचारु गरिएको छ।
सरकारी स्वामित्वमा रहेको IRIB का एक वरिष्ठ अधिकारीले इजरायललाई “इरानी राष्ट्रको शत्रु यहुदी शासन” भन्दै केही मिनेटअघि नै IRIB न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण भएको पुष्टि गरेका छन्।
यो घटनाले इजरायल र इरानबीचको चर्किंदो द्वन्द्वलाई झनै गहिरो बनाएको छ। यसअघि १३ जुनमा इजरायलले इरानमा हवाई आक्रमण गरेको थियो, जसको जवाफमा इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेको थियो।
हालैको टेलिभिजन भवनमाथिको आक्रमणलाई दुबै राष्ट्रबीचको प्रत्यक्ष सन्देश आदानप्रदानको रूपमा हेरिएको छ। यस्ता गतिविधिले क्षेत्रीय सुरक्षालाई थप जोखिममा पारेको विश्लेषकहरूले बताएका छन्।
हालसम्म घटनामा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन। आक्रमणपछिको क्षतिको मूल्याङ्कन तथा सुरक्षात्मक उपायका लागि इरान सरकारले अनुसन्धान अघि बढाएको जनाएको छ।
युद्ध र प्रतिघातको चक्र निरन्तर चलिरहेको अवस्थामा अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन दुबै देशलाई आग्रह गरेको छ।































