‘अलविदा’लेख्ने डाक्टरको गृहमन्त्रीसँग गुनासो
वि.सं.२०८२ असार ३ मंगलवार
shares
काठमाडौं ।रामेछाप जिल्ला अस्पतालमा कार्यरत डा. केशव श्रेष्ठले मंगलबार बिहान गृहमन्त्री रमेश लेखकसँग भेट गरी आफ्नो कार्यक्षेत्रमा भोग्नुपरेको असहयोग र मानसिक पीडाबारे गुनासो पोखेका छन्।
गृहमन्त्रीको सचिवालयका अनुसार डा. श्रेष्ठले परिवारसहित मन्त्री लेखकलाई भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा भेट गरेका थिए। सो भेटका क्रममा गृहमन्त्री लेखकले कुनै पनि असहज परिस्थिति सामना गर्न सक्ने आत्मबल बलियो बनाउन सुझाएका थिए।
डा. श्रेष्ठले आफूले भोगेको प्रशासनिक अन्याय, झुटा आरोप र मानसिक दबाबका कारण आत्महत्या गर्नेसम्मको अवस्था आएको उल्लेख गर्दै गृह मन्त्रालय र सुरक्षाप्रशासनले समयमै चासो देखाएकोमा धन्यवाद दिएका छन्।
उनी सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए। सामाजिक सञ्जालमा अलविदा सन्देश लेखेर हराएका श्रेष्ठलाई गृहमन्त्रालयको विज्ञ टोली र प्रहरीले बालाजु क्षेत्रबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको थियो।
उल्लेखनीय छ, डा. श्रेष्ठ रामेछाप अस्पतालमा दुई वर्षभन्दा बढी सेवा दिएका थिए। हालै उनको सरुवा हेटौंडा भएको थियो। उनले फेसबुकमार्फत आफूमाथि भएको अमानवीय व्यवहार र अन्यायको लामो विवरण सार्वजनिक गरेका छन्।
यो घटना सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीहरूले भोग्नु पर्ने मानसिक तनाव र संस्थागत समर्थनको आवश्यकता प्रति गम्भीर प्रश्न उठाउने खालको भएको देखिएको छ।































