कुरियरको यस्तो अनौठो ठगि धन्दा,क्यान मूभ प्रालिविरुद्ध १ अर्ब ३६ करोडको मुद्दा
राजस्व ठगीको नयाँ शैली: क्यान मूभ प्रालिविरुद्ध १ अर्ब ३६ करोडको मुद्दा
वि.सं.२०८२ असार ८ आइतवार
shares
काठमाडौं । राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भीएटी) र आयकर छली गरेको आरोपमा ‘नेपाल क्यान मूभ प्राइभेट लिमिटेड’ कम्पनीविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ।
विभागले कूल ६ जना सञ्चालक तथा पदाधिकारीविरुद्ध करिब ६८ करोड ४४ लाख रुपैयाँ बिगो र सोही बराबरको जरिवानासहित १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ असुल उपरको माग गर्दै मुद्दा दायर गरेको हो।
मुद्दामा कम्पनीका सञ्चालक सुदिप आचार्य, जीवन ज्ञवाली, मनिषप्रसाद आचार्य, मिठु पौडेल, सीईओ गंगाबहादुर थापा र उप–कार्यकारी निर्देशक संगम पौडेल प्रतिवादी रहेका छन्। विभागको दाबीअनुसार उनीहरूले आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ को फागुन मसान्तसम्म सेवा बिक्री लुकाएर ठूलो परिमाणमा कर छली गरेका हुन्।
कम्पनीले तीनकुनेस्थित कार्यालयमार्फत ठूलो मात्रामा आम्दानी लुकाएको र राजस्व प्रशासनलाई धोका दिएको भन्दै विभागले मुद्दा अघि बढाएको हो।
प्रतिवादीमध्ये गंगाबहादुर थापा, मनिषप्रसाद आचार्य र संगम पौडेल हाल थुनामा रहेका छन् भने सुदिप आचार्य रुपन्देहीको तिलोत्तमा, जीवन ज्ञवाली गुल्मीको रुरु, मिठु पौडेल पाल्पाको तानसेन, गंगाबहादुर थापा झापा, मनिषप्रसाद आचार्य मध्यपुरठिमी र संगम पौडेल सर्लाहीको लालबन्दीका स्थायी बासिन्दा हुन्।
विभागले पाँच जनामाथि बिगो रकमको १०० प्रतिशत जरिवाना र ब्याजसहित कैद सजाय माग गरेको छ भने संगम पौडेलका हकमा आधा सजाय माग गरिएको छ।
राजस्व ठगीका यस्ता नयाँ तरिकाले सरकारको कर प्रणालीमाथि प्रश्न उठाइरहेको भन्दै विभागले आगामी दिनमा यस्ता गतिविधिमाथि कडा निगरानी राखिने जनाएको छ।































