वृद्धावस्था सुरक्षा योजनामा दुई अर्ब ८४ करोड व्याज वितरण
वि.सं.२०८२ साउन १ बिहीवार
shares
काठमाडौं। सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१/८२ मा वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको रकमबाट योगदानकर्तालाई दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार ८ सय २८ रुपैयाँ व्याज वितरण गरेको छ।
कोषका अनुसार कुल २३ लाख ७९ हजार ५८५ जना योगदानकर्ताको नाममा जम्मा भएको योगदान रकममा चालु आर्थिक वर्षको मसान्तसम्मको व्याज वितरण गरिएको हो।
आर्थिक वर्ष २०८१/८२ मा चैत्र ४ गतेसम्म ५.५ प्रतिशत र चैत्र ५ गतेपछि ५ प्रतिशतको दरले व्याज गणना गरिएको कोषले जनाएको छ। सोही आधारमा प्रत्येक योगदानकर्ताको खातामा जम्मा भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको व्याज रकम छुट्याएर वितरण गरिएको हो।
सामाजिक सुरक्षा कोषले श्रमिक वर्गको भविष्य सुनिश्चित गर्न र सुरक्षित अवकाश जीवनका लागि वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ। नियमित रूपमा व्याज वितरण गर्दै आएको कोषले यस वर्ष पनि पारदर्शी र समयमै वितरण गरेको जनाएको छ।
कोषले योगदानकर्ताहरूलाई योजनामा थप आकर्षित गराउने उद्देश्यले व्याजदर प्रतिस्पर्धात्मक राख्ने र सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउने दिशामा काम भइरहेको जनाएको छ।

























