लघुकथा : रजस्वला

2.2K
shares

 

 

 

आज ऋषिपञ्चमी नजिकका जलाशयमा नुहाउन जानेको लस्कर देखियो ।

 

सखारै उठेर दतिवन च्यापेर त्यहीं हुलमा मिसिइन् । काम सकेर घरमा के फर्किएकी थिइन् ? सासुआमा एकोहोरो बर्बराउन थालिन्, ” सबै नुहाएर पवित्र भएर फर्किसके, तँ जाने जाने होइन ।”

 

“धार्मिक पुराण पल्टाएर हेर्दा १४ वर्षको वनबासमा माता सीताले ऋषिपञ्चमीको व्रत लिएको सुनिएन । द्रोपदीले पञ्चमी गरी पाप पखालेका कुरा सुनिएको छैन । विदेशमा, अरू धर्मले पनि गरेको सुनिदैन, हिन्दु धर्मले जरो गाडेको छ ।”  बुहारीले सहजै उत्तर दिइन् ।

 

सासु रिसले आगो हुँदै,  ” विवाहित वा अविवाहितले रजस्वला हुदा छोइछाई भएमा ऋषिपञ्चमीको दिन अरून्धतीसहित सप्तऋषि वशिष्ठ, कश्यप, अत्रि,जगदग्नि, गौतम,विश्वामित्र र भारद्वाज ऋषिको स्थापना गरी पूजा गरेमा वर्षभरिको पाप नाश हुन्छ ।” सासु एकोहोरो फत्फताइन् ।

 

बुहारी केही नरम स्वरमा,  ” यदि रजस्वला भएकी स्त्रीले छोएको पाप हुने भए, आमा ! सम्पूर्ण मानव जातिको अस्तित्व नै पापमय हुने थियो ।” अलि गहिरिएर सोच्नुस् तँ,   “स्त्रीले गर्भ धारण गर्दा त्यहीँ रज रोकिन गई भ्रुण पाठेघरमा क्रमिक रूपमा विकास हुँदै जाने हो ।” अब भन्नुहोस् , ” त्यहीँ रजबाट जन्मिएको बच्चा कसरी पवित्र भयो त ?”

 

“माउभन्दा चल्ला बाठा, आफ्ना बाउबाजेले जे बानी बसाए त्यहीँ गर्ने हो ।” सासु भड्किएको स्वरमा बोलिन् ।

 

“रज सौभाग्य हो जसले सृष्टि चलेको छ, कानो गोरूलाई औँसी न पूर्णे ।” बुहारीले खिन्नता व्यक्त गरिन् ।

 

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

 

 

 

civil hospital
Hams Hospitals