लघुकथा : वफादार
वि.सं.२०८२ भदौ २१ शनिवार
shares
“जन्ती जाने होइन ।” गाइँगुइँ सुनियो
“कस्को बिहे हो ?” कुकुरले प्रश्न गर्यो ।
“स्यालको, थाहा छैन ।” अर्कोले उत्तर फर्कायो ।
कुकुरहरु भेला भए । कसले के लगाउने र कसरी जाने भन्ने विषयमा कचहरी चलेको थियो ? एउटाले भन्यो, ” आफूँसँग जे छ, त्यहीं लगाएर जाने ।” अर्कोले थप्यो, “होइन, बिहेमा जन्ती जाँदा त अलि ढङ्गको लगाएर जानुपर्छ । हामी कुकुरहरु हेपिनु हुदैन ।”
विवाद सिर्जना भएको देखेर नाइकेलाई थेग्न हम्मेहम्मे परेको थियो । टाउकोमा हात राख्दै, “सबैले हेप्ने कारण पनि यहीं हो , जोसँग जे छ, त्यहीं लगाएर जाने अनि त्यहाँ गएर अनुशासनमा रही मर्यादाको पालना गर्ने ।” भनी नाइकेले निर्णय सुनायो
कुकुरहरुले निर्धारित समयमै उपस्थिति जनाए । बेहुलो स्याल चिटिक्क परेको छ । पहिला कसैले नपुछे पनि फर्की- फर्की सबैले हेरेकाले अहिले ऊ मख्ख परेको छ ।
बाहुन बिरालो घाटीमा रूद्राक्ष लगाई हातमा पुस्तक लिएर जग्यमा बसेको छ । ” सबैले आ- आफ्नो जिम्मेवारी निभाऔँ, पन्पक्षे नहोस् । घाम पानीमै बिहे हुनुपर्छ ।” उसले ठाडै आदेश दियो
कुकुरहरुको इमान्दारिता देखेर स्यालहरु साउती मारे, “वफादारको पराकाष्ठा भएर त आज हरघरमा चौकीदारी गरिरहेका छन्, कुकुरहरू !”
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर




























