गोरखा कालिका मन्दिरको सङ्क्षिप्त परिचय

3.4K
shares

ऐतिहासिक, सांस्कृतिक एवम् धार्मिक महत्त्व बोकेको गोरखा कालिका मन्दिरको इतिहास, शक्ति, आस्था र विश्वासको  अनुपम उदाहरण  रहेको पाइन्छ । आध्यात्मिक आस्था र विश्वास बोकेको पवित्र स्थल गोरखा कालिकामा विशेषत: नवदुर्गाको अवसरमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको पाइन्छ । उक्त मन्दिरमा भक्तजनहरूले मागेका मनोकाङ्‌क्षा पुग्ने जनविश्वास रहेको पाइन्छ ।

 

समुन्द्री सतह २३८ मिटरदेखि ८१६१ मिटर सम्मको उचाइ रहेको गोरखा जिल्ला ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक एवम् धार्मिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । नेपाल अधिराज्यको करिब मध्ये भागमा अवस्थित गण्डकी प्रदेशमा पर्ने विश्वसामु गोरखाको नामबाट परिचित वीर गोर्खालीहरूको भूमि, राष्ट्रिय इतिहासमा महत्त्वपूर्ण स्थान ओगटेको र वर्तमान नेपालको सुत्रपात भएको स्थान हो । नेपालको भौगोलिक हिसाबले  मध्ये पहाडी क्षेत्र रहेको मानिन्छ । कालिका भगवतीको पूर्वमा धादिङ तिब्बत (चीन), पश्चिममा तनहुँ लमजुङ, मनाङ, उत्तरमा तिब्बत (चीन) र दक्षिणमा चितवन, तनहुँ रहेको छ ।

 

गोरखा राज्यको नाम  गोरखा बासीका आरा‌ध्य देवता योगी गोरख‌नाथको नामबाट वा गाईको रक्षा गोरखामा गरिने  भएकाले सोही आधारमा गोरखा नाम रहन गएको हो, भन्ने किंम्वदन्ती पाइन्छ ।

 

गोरखाकालिका मन्दिर गोरखनाथ गुफाभन्दा उत्तरपट्टी अवस्थित छ। दरवार परिसरमा नै  प्रसिद्ध कालिका देवीको मन्दिर रहेको छ ।

शाहवंशीय राजा महाराजाहरू मात्रले दर्शन गर्न सक्ने देवीको रूपमा यिनलाई लिइन्छ। सामान्य भक्तहरुले देवीको पूजा मन्दिर बाहिरबाट नै गर्ने परम्परा रहेको छ ।

 

घटस्थापनाका दिन गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दुधर्मावलम्बीहरु‌ले घर-घरमा जमरा राख्छन् भन्ने मान्यता रहेको पाइन्छ। प्रतिपदा सुरु भएदेखि नियमित रुपमा ठुलो सङ्ख्यामा पशुवली दिने प्रचलनसमेत रहेको पाइन्छ । दशैंको अष्टमीका दिन देवीको विशेष पूजा हुने गर्दछ ।

गोरखकालीको दर्शन पुजारीले समेत गर्न नहुने मान्यता रहेको हुदा यिनको मूर्ति एक प्रकारको पर्दाले छेकेर राखिए‌को छ । पुजारीले नित्य पूजा गर्दा बाहिरबाटै गर्ने र देवीलाई लगाइएको पर्दा फेर्न परेमा रातको समयमा कसैले नदेख्ने गरी बाहिरबाट पर्दा लगाएर मात्र भित्रको पर्दा निकाल्ने गरेको पाइन्छ। स्थानीय, त्यस भेगका बासिन्दाहरूले देवीको मन्दिरलाई ज्यादै शक्तिशाली रहेको मान्दछन्

 

ऐतिहासिक कथनअनुसार पहिला खड्‌काहरू गोरखा राज्यको राजा भएको पाइन्छ । द्रव्य शाह गोरखाका ऐतिहासिक राजा थिए। राजा यशोब्रम्ह शाहका कान्छा छोराका रूपमा जन्मिएता पनि आफ्नो चलाखीका कारण यिनी राजा बन्न सफल भएका थिए। लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरूले राज्य गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउँने प्रचलन थियो । उक्त दौड प्रतियोगितामा भाग लिई जित हाँसिल गरेका द्रव्य शाह लिगलिगकोटका राजा बनेका थिए । खड्‌का राजाहरुको शासन व्यवस्था गोरखनाथ बाबालाई मन नपरेका कारण नेपाल एकीकरणको सुरुवातकर्ता मानिएका द्रव्य शाहलाई लिगलिगकोट, बार्पाक लगायतका राज्यहरूमा षड्यन्त्र गरी राज्य हत्याएका कारण  षड्यन्त्रकारी राजाका रूपमा पनि चिनिन्छ । कालीको स्थापना यिनैका  पालादेखि भएको मानिन्छ।

 

गोरखाका राजा द्रव्य शाहपछिका राजाहरुमा, पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह रुद्र शाह, पृथ्वीपति शाह, नरभूपाल शाह र पृथ्वीनारायण शाह चाहिँ अन्तिम राजा थिए । नरभूपाल शाह र रानी कौसल्यावतीका जेठा छोरा पृथ्वीनारायण शाह सामु बाबा गोरखनाथले दही खाने इच्छा गर्नु भएछ । माता कौशल्यावती सामु  दही मागी बाबा गोरखनाथलाई खान दिनु भएछ । बाबाले उक्त दही खादै गर्दा पृथ्वीनारायणको हातमा वाक दिनु भएछ । तर  पृथ्वीनारायण शाह‌ले उक्त दही हातबाट भुईमा छोड्दा उनका  गोडामा  एक छिटा परेछ । त्यसपछि बाबा गोरखनाथले भनेछन्,  “यो दही खाएको भए सबै तेरो हुन्थ्यो तर अब खुट्टामा पर्यो, तैले  जहाँ- जहाँ टेक्छस् त्यो भूमि तेरो हुनेछ ।” भनी आशीर्वाद दिनुभएछ ।

 

वि. सं. १७७९ पौष २७ गते जन्मिएका पृथ्वीनारायण शाह वि.सं. १७९९ सालमा जम्मा २० वर्षको कलिलो उमेरमा राजा भएका थिए। उनले टुक्रिएर रहेका स-साना राज्यहरुलाई एकीकरण गरी विशाल नेपाल बनाउने अठोट लिएका थिए।

 

वि.सं. १८०१ मा नुवाकोट, १८१९ मा मकवानपुर, १८२२ मा  किर्तिपुर, १८२५ मा कान्तिपुर र ललितपुर, १८२६ मा भक्तपुरमाथि विजय प्राप्त गरी गोरखा राज्यबाट विशाल नेपालको एकीकरण गरी  काठमाडौंलाई राजधानी बनाएका थिए ।

 

गोरखा बजारदेखि कालिका भगवतीको मन्दिरसम्म पुग्न ढुङ्गाका सिँढी लगाइएको छ। पैदल हिँड्न नसक्नेहरुका लागि गाडी चढेर १० मिनटमा मन्दिर पुग्न सकिन्छ । मन्दिर  प्रवेशका लागि  बायाँबाट भित्र जाने र दायाँबाट बाहिर निस्कन सकिने  फरक-फरक दुई ढोका रहेका छन्।

 

वि.सं. २०७२ सालको भूकम्पले उक्त मन्दिरमा भौतिक क्षति पुगेकाले पुनःनिर्माण गरी हाल मन्दिर पूजा सञ्चालनमा आएको छ। द्रव्य शाहका चौँथो वंशज रामशाहले न्याय, विधि, नीति,नियम र थिति बसालेका थिए। रामशाह‌ले न्याय चौतारा निर्माण गरेका थिए, त्यहीँ चौतारामा बसेर राजाले न्याय दिने गरेका थिए । उनी न्यायप्रेमी राजा भनेर पनि चिनिन्छन्, उनको “न्याय नपाए गोरखा जानु” भन्ने भनाइ अहिले पनि चरितार्थ रहेको छ ।

 

मन्दिरमा टाँसिएका ध्वजा, पताका र सिङ्गारिएका रङ्‌ले आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई लोभ्याएको पाइन्छ। दरवारभित्र शाहकालीन राजाहरूले प्रयोग गर्ने चुलो चौको, बस्ने कोठा, पृथ्वीनारायण शाह खेलेको झलुङ्‌गो लगायत विभिन्न सामग्रीहरू रहेको पाइन्छ ।

 

गोरखा जिल्लामा, नेपालमा पाइने सबै प्रकारका हावापानी पाइन्छ । समुन्द्री सतह ५००० मिटरभन्दा माथि उच्च हिमाली क्षेत्रमा पाइने टुण्ड्रा हावापानी पाइन्छ ।

लेकाली हावापानी, ठण्डा समशीतोष्ण हावापानी, न्यानो शितोष्ण हावापानी, उष्ण  मनसुनी हावापानी  पाइन्छन् ।

 

गोरखा जिल्लामा विभिन्न गुफाहरु रहेका छन्‌ । जसमा सिद्ध गुफा, पुरानो फु- गुफा, तीनतले गुफा, सिता गुफा रहेका छन् ।

 

कोटहरुमा

लिगलिगकोट, तल्लोकोट, उपल्लोकोट, वारपाक कोट, अजिरकोट लगायत  गोरखा जिल्लामा ३६ वटा सानाठूला कोटहरू रहेको पाइन्छ ।

 

स्मारक स्थल तथा पार्कहरूमा

कालुपाण्डे स्मारक स्थल

लखनथापा स्मारक स्थल

गोरखा रङ्‌गशाला

महादीपटारी पार्क

चिल्ड्रेन पार्क

द्रव्य शाह पार्क

शहिद बाटिका पार्क

स्टोन पार्क

शहिद बाटिका संरक्षण रानीवन

भिमसेन पार्क फिनाम

विशेनगर्ची पार्क रहेका छन् ।

 

गोरखा जिल्ला ऐतिहासिक रुपमा मात्र नभई धार्मिक, प्राकृतिक एवम् पर्यटकीय  दृष्टिकोणले पनि अत्यन्तै रमणीय स्थल रहेको छ । यहाँको मनकामना देवीको मन्दिर, गोरक्षनाथ, गोरखकालीको दर्शन. तथा गोरखा सङ्‌ग्रालय‌को अव‌लोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरूको घुँईचो लाग्ने गरेको पाइन्छ ।

 

गोरखकाली मन्दिरको इतिहास पनि शाह वंशसँगै जोडिएको पाइन्छ । नेपाल एकीकरणको सुत्रपात पनि  सोही ठाउँबाट भएको हुनाले ‘वीर गोर्खाली’ भनी विश्वसामु आफ्नो पहिचान  स्थापित गर्न सफल गोर्खालीहरूलाई ‘गोर्खे’ उपनामबाट पनि परिचित रहेको पाइन्छ । नेपाल एकीकरणको प्रारम्भदेखि शाहवंशले राज्य सञ्चालन गरेको इतिहास, बाबा गोरखनाथको आशीर्वाद,  साक्षात् कालीको दर्शन गरी राज्य विस्तार गर्न सफल भएको हो, भन्ने जनश्रुति पाइन्छ । यो एक ऐतिहासिक स्थलको रूपमा विश्वसामु सदैव परिचित रहिरहने छ ।

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals