धार्मिक आस्था र विश्वासको धरोहर हनुमान मन्दिर
वि.सं.२०८२ असोज २८ मंगलवार
shares
धर्म अनुशासन हो, जीवन जिउने कला हो, जसले संस्कार सिकाउँछ । इतिहास साक्षी छ, केही समय दुःख दिएर वाहवाही पाए पनि अन्ततोगत्वा सत्यले जहिले पनि असत्य माथि विजय प्राप्त गरेको हुन्छ । चाहेँ सत्य युग होस्, त्रेता युग होस्, द्वापर युग या कलियुग नै किन नहोस् ? आध्यात्मिक आस्था र विश्वासको धरोहर हनुमानमा अपार शक्ति, अदम्य साहस, अतिशय भक्ति, समर्पण, निर्भयता, बुद्धिमत्ता, कौशल, विनम्रता, सेवाभावना, संवाद कौशल, नेतृत्त्व, मनको एकाग्रता, संयम, मानवता र दयाका प्रतिमूर्तिका रुपमा लिइन्छ ।
हृदयमा रामजानकीको छवि, जीवनभर श्रीरामको सेवक, विपरीत परिस्थितिमा पनि दृढ इच्छाशक्तिका साथ अगाडि बढ्ने अदम्य साहस, शक्तिशाली हुदाहुदै पनि अत्यन्त विनम्र भाव, आफ्नो जीवन सेवा भावमा अर्पित गरेका, नेतृत्व गर्न सक्ने सेनापति, मनलाई एकाग्र र संयम बनाएर सक्षम भई जीवनलाई सफल बनाएका थिए । उनमा मानवता र दया भावले गर्दा शत्रु अथवा मित्रलाई मद्दत गर्न पछि नपर्ने सर्वशक्तिमान, भूतको स्वामी पनि मानिन्छन् । यदि कसैलाई भूतकष्ट भएका हनुमान चालिसाको पाठ गर्ने र हनुमान मन्दिर जाने गर्दछन् । महापराक्रमीको रूपमा पनि हनुमान चिनिन्छन् ।
गण्डकी प्रदेश नवलपुर जिल्ला गैंडाकोट नगरपालिका वार्ड नं. ९ थुम्सीमा नेपालको ठुलो शिखरखजुराव शैलीमा हनुमान मन्दिर निर्माण गरिएको छ। यो मन्दिर पूर्व पश्चिम राजमार्ग हुँदै पश्चिम गैंडाकोटतर्फ जाँदा करिब ८ किलोमिटरको दुरीमा राजमार्गको बायाँतर्फ रहेको छ । जस स्थानलाई स्नानघाट, धार्मिक वनसमेत भन्ने गरिन्छ ।
लगभग ३० वर्ष अघि शिलान्यास भएता पनि वि. सं. २०७८ साल चैत्र २७ गते मन्दिरको उद्घाटन गरिएको थियो । उक्त मन्दिर ४८ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाइ रहेको हनुमान मन्दिर भुकम्प प्रतिरोधात्मक आधुनिक शैलीमा निर्माण गरिएको छ । मन्दिरको भूमिगत गर्भगृह, र शिखर तह गरी तीन वटा खण्ड रहेका छन् । संकटमोचन हनुमानको दिव्यमूर्ति कलाकारिताले परिपूर्ण मन्दिरको पाटो, शिखरखजुरावशैलीको गुम्बज कष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार रहेका छन् ।
पूर्व पश्चिम राजमार्गसँगै जोडिएको सो मन्दिरमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट पनि भक्तजनहरू आउँने गरेको पाइन्छ । धमिराको गोलो चुच्चा-चुच्चा परेका धेरै घरजस्ता शिखर (गजुरहरु) मन्दिरमा निर्माण भएकाले उक्त शैलीलाई शिखरखजुराव शैली भनेको पाइन्छ । दक्षिण भारतका मठमन्दिरहरुमा यहीं शैलीको अधिकतम प्रयोग गरेको पाइन्छ ।
हनुमान मन्दिर रहेको नारायणी नदीको घाटमा श्रीहरि भगवान विष्णुले हात्ती र गोहीको लडाईमा हात्ती (गजराज) को प्रार्थनाले प्रसन्न भई वेगसित आएर आफ्नो सुदर्शन चक्रले गोहीको शिरछेदन गरी हात्तीलाई मोक्ष प्रदान गरेको धर्म ग्रन्थमा उल्लेख भएको पाइन्छ। त्यसकारण हनुमान रहेको ठाउँलाई चक्रघाटको नामले पनि चिनिन्छ।
वि.सं. २०४२ सालमा फलाहारी बाबा श्री १०८ स्वामी शुकदेवानन्द सरस्वतीले तपस्यास्थल बनाएका थिए । स्नानघाट, धर्मशाला र मन्दिर, सञ्चालनका लागि मन्दिरले महायज्ञ गरी मन्दिरसँगै १०० जना अट्ने क्षमताको धर्मशाला निर्माण गरिएको छ ।
मन्दिर निर्माणका लागि विभिन्न सङ्घसंस्था, स्थानीय बासिन्दा, भक्तजनहरूको साथ सहयोगले कारिब सवा ३ करोड लागतमा मन्दिर निर्माण कार्य सम्पन्न गरिएको थियो ।
उक्त मन्दिरमा हनुमान जयन्तीमा विशेष पूजाअर्चना हुने गरेकाले भक्तजनहरूको घुइँचो लाग्ने गरेको पाइन्छ। विशेष गरी मङ्गलबारका दिन भक्तजनहरुको भिड हुने गर्दछ। हनुमान मूर्तिमा दैनिक नित्य पूजा बिहान, बेलुकी हुने गर्दछ ।
धर्म सदैव शाश्वत सत्य हुन्छ । जसले मानव जीवनका नकारात्मक विचार, भावलाई मेटाइ आध्यात्मिक शान्ति र एक किसिमको सकारात्मक उर्जा प्रदान गर्दछ । मन, मस्तिष्क र शरीरलाई एकाग्र राख्न, ध्यान गर्न देवालयहरू, मठमन्दिरको अग्रणी भूमिका रहेको पाइन्छ। तसर्थ यस्ता धार्मिक, पौराणिक एवम् पर्यटकीय सम्भावना बोकेका मठमन्दिरको संरक्षण एवम् संवर्द्धन गर्नु हामी सबैको कर्तव्य पनि हो। सर्वशक्तिमान हनुमान भगवानले हामी सबैको कल्याण गरून् ।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर




























