गैंडाकोटमा रहेको लक्ष्मी नृसिंह मन्दिर
वि.सं.२०८२ असोज १५ बुधवार
shares
भगवानले सदैव आफ्नो भक्तको रक्षा गर्नुहुन्छ । विभिन्न धार्मिक व्यक्तित्व, धार्मिक गुरु, धर्मग्रन्थ एवम् पुराणहरूबाट हामीले भगवानको अपार शक्ति, असत्यमाथि सत्यको विजय एवम् आफ्नो भक्तमाथि भगवान अदृश्य दृष्टि सदैव रहेको थाहा पाउँछौ । भगवान विष्णुको चौबिस अवतारमध्ये नृसिंह अवतार भगवान विष्णुको चौंथो अवतार हो । नृसिंह अवतार लिएर भगवान विष्णु पृथ्वीमा अवतरित हुँदा वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि रहेको थियो । कश्यप ऋषि र दितिका छोरा हिरण्याक्ष र हिरण्यकशिपु थिए । हिरण्याक्षको वध वराह भगवानले जलबाट यस धरतीलाई बचाउँन गर्नुभएको थियो । त्यसको प्रतिशोध लिन हिरण्यकशिपुले ब्रह्राको ठूलो तप गरी उहाँबाट अमरत्व हुने वरदान पाएको थियो ।
विष्णुपुराणको कथाअनुसार जुन समय असुर संस्कृति यानिकी दैत्यकुल शक्तिशाली हुदै थियो । त्यो समयमा असुर कुलमा विष्णु भक्त प्रह्लादको जन्म भएको थियो । पिता हिरण्यकशिपुले अमरत्वको वरदान पाएको हुँनाले उसले आफ्नो राज्यमा आतङ्क मच्चाएको थियो । उसले आफ्नो राज्यमा विष्णुको पूजा नगर्नु र उनको नामै नलिनु भन्ने आदेश दिएको थियो । यदि कसैले विष्णुको नाम लिएमा मृत्युदण्ड दिने वा आफ्नो राज्यबाट निष्कासन गरिदिने धम्की दिएको थियो । त्यो सुनेर राज्यमा कसैले विण्णु भगवानको नाम लिदैन्थे । सबैले डरको कारण राज्यभरि विष्णुको पूजा नगरी जताततै हिरण्यकशिपुकै पूजा हुन थालेको थियो ।
हिरण्यकशिपुकी पत्नी कयाधुका कोखबाट प्रह्लादको जन्म भयो। हिरण्यकशिपु राक्षसी प्रवृत्तिको थियो भने उसको कान्छा छोरा प्रह्लाद विण्णुभक्त थिए । प्रह्लाद हुर्किएपछि हिरण्यकशिपुले उनको शिक्षाको प्रबन्ध मिलाए। प्रह्लादमा राक्षसी प्रवृत्ति बसोस् भनि अनेक उपाय लगाए तर सफल भएनन् र अन्त्यमा गुरुकुल पठाए । तर त्यहाँ पनि पढाइ छाडेर हरि भक्तिमा लागे। गुरूले धेरै सम्झाए पनि प्रह्लादले हरिभक्ति छाडेनन् बरू त्यहाँ उपस्थित दैत्यपुत्रहरूलाई पनि हरि भक्तिमा लगाए । दैत्य गुरुले हार मानी प्रह्लादलाई हिरण्यकशिपु कहाँ पठाए ।
राज्यमा आई उनले पितालाई प्रणाम गरे । हिरण्यकशिपुले बडो स्नेहका साथ छोरालाई लगनशील भएर सिकेका कुरा बताउन लगाए । तर प्रह्लादले भने, ूसर्वप्रथम म श्रीहरिलाई नगन गर्छु जो आदि, मध्य, र अन्तरहित, अजन्मा, वृद्धि क्षय र अचुक सबै कारणका कारक र विश्व रचयिता र अनन्त हुनुहुन्छ।ू आफ्नो शत्रुको प्रशंसा सुनेर हिरण्यकशिपुलाई सहिनसक्नु भयो, क्रोधले आँखा देखेनन् र प्रह्लादलाई मार्ने आदेश दिए ।
उनको आदेश पाएका सिपाहीहरूले अनेक तरिका अपनाए । कहिले हतियारले आक्रमण गरे, त कहिले हातखुट्टा बाँधेर समुन्द्रमा फाले, त कहिले विषालु सर्पले टोकाएर पर्वतको चुचुरोबाट खसाले, त कहिले बीस भएको खाना दिए । तर सबै प्रयास असफल भएपछि निराश भएका हिरण्यकशिपुले आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई मार्ने आदेश दिए ।
होलिकाले आगोबाट नजल्ने पछ्यौरा वरदानका पाएकी थिइन् । उनी त्यहीँ पछ्यौरा ओढी आगोमा प्रह्लादलाई च्यापेर हाम फालिन् तर उक्त पछ्यौरा हावाले उडाएर प्रह्लादलाई छोप्यो र होलिका आगोमा डढेर खरानी भइन् । बरु भक्त प्रह्लादले श्रीहरिको उपासना गरिरहे ।
प्रह्लादको आराधना सुनेर भगवान श्रीहरि नृसिंह अवतारमा अत्यन्त बेगसित आई हिरण्यकशिपुसित केही समयको युद्ध गरे पश्चात आफ्नो तिघ्रामा राखी नङले उसको हृदय च्यातेर वध गरिदिनु भएको थियो । हिरण्यकशिपुको मृत्युको खबर स्वर्गलोकमा फैलियो। त्यो खबर सुनेर ब्रह्रा, इन्द्र, शंकर, लगायतका सबै देवीदेवता, ऋषिमुनि, सिद्ध नाग, गन्धर्व आदि सबैले भगवानको स्तुति गरे तर भगवान नृसिंहको क्रोध शान्त भएन । त्यसपछि माता लक्ष्मी समीपमा जानुभयो तर भगवानको उग्र रूप देखेर उहाँ पनि डराउँनु भयो । ब्रह्राले भक्त प्रह्लादलाई भगवानको समीप जान भन्नुभयो । त्यसपछि प्रह्लादले दुई हात जोडी प्रणाम गर्न थाले र भगवानको रिस शान्त गराएका थिए भन्ने भनाइ विण्णुपुराणबाट थाहा पाइन्छ ।
लक्ष्मी नृसिंह दिव्यधाम गैंडाकोट(१ गंगानगरमा अवस्थित एक महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थल हो । नृसिंह भगवानको मन्दिरसहित धर्मशाला र पार्श्ववर्ती विभूतिहरुको मूर्ति स्थापना कलात्मक ढङ्गले गरिएको यस स्थान निम्बार्क वैष्णव सम्प्रदायको आस्थाको केन्द्र बनेको छ ।
यो मन्दिर दक्षिण भारतीय शिल्पकलामा आधारित रहेको छ । स्वामी सत्यनारायणले वि। सं। २०३८ सालमा जमिन खरिद गरी २०४० सालमा मन्दिर, धर्मशाला र त्यस मन्दिरको प्रङ्गण विस्तार गर्नुभएको थियो। नृसिंह भगवानको कृपा सम्पूर्ण भक्तमा रहने विश्वास स्थानीय बासिन्दाको रहेको पाइन्छ। मन्दिर व्यवस्थित बनाउने, मन्दिर वरपर धर्मशाला, अतिथि गृह लगाएत निर्माण गर्ने स्वामीजीको सोच दाताहरूको दान तथा स्थानीय बासिन्दाको साथ, सहयोगले मन्दिर निर्माण गरिएको हो। हाल मन्दिर निर्माण, धर्मशाला, अतिथि निवास र काम गर्नेहरूका लागि आवाससमेत निर्माण भएको छ।
कलात्मक ढङ्गका मूर्तिहरु स्थापना भएका छन्। जसले गर्दा मन्दिर परिसर अत्यन्त मनमोहक भएको छ। मन्दिरमा श्रद्धालु भक्तजनहरूद्वारा भजन कीर्तन एवम् धार्मिक पर्वका अवसरमा भक्तजनहरुको घुइँचो लाग्ने गरेको पाइन्छ । ठुलो क्षेत्रफलमा सेतो रङले सजिएको उक्त मन्दिर सफा रहनुका साथै वरिपरिको पर्यावरण अत्यन्त मनमोहक रहेको पाइन्छ। नारायणी नदीको समीप, हरियाली वातावरण, समुदायको बीचमा रहेको मन्दिरले जो कोहीको पनि ध्यान खिँचेको पाइन्छ। धार्मिक, सांस्कृतिक महत्त्व बोकेको उक्त मन्दिरमा स्थानीय बासी, स्थानीय निकाय एवम् सम्बन्धित व्यक्तिको ध्यान जानुपर्ने देखिन्छ।
मन्दिरको आवश्यक प्रचारप्रसार एवम् संरक्षण हुनु जरुरी रहन्छ । गैंडाकोट लगायत देशकै लागि धार्मिक, सांस्कृतिक मान्यता बोकेको, पहिचान दिलाउँने यस्ता मठमन्दिरले नेपाल एक बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक सम्पदाले सुसज्जित एक समृद्ध मुलुक हो भन्न सकिन्छ। धार्मिक सहिष्णुता, मान्यता बोकेका मठमन्दिरको संरक्षण, संवर्धन एवम् प्रवर्धन भएमा आउँदो भावी पिंढीलाई पनि धर्म संस्कार एवम् संस्कृतिको बारेमा जानकारी, लगाव एवं अनुशरण हुनेमा विश्वास गरिन्छ । धार्मिक आस्थाको धरोहर लक्ष्मी नृसिंह भगवानले हामी सबैको कल्याण गरून् ।
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४, नवलपुर





























