कविता: घले गाउँ
वि.सं.२०८२ कात्तिक १७ सोमवार
2K
shares
shares
निमग्न छन नानीहरु
सिन्के धुलो खेल्न
भोक छैन
तिर्खा छैन
थाहा छैन जिन्दगीको अर्थ ।
फूल जस्तो तिनको जीवन
शिशिर मासको सिरोटेले हाने पछि
ओठहरु कलेटी पर्छन
नाङ्गै, भुतुङगै छन तिनीहरु
छेपारी समेत फुटेको छ
चरचरी चिरिएका छन कुर्कुच्चाहरु
रगत बगेको छ खुट्टाबाट ।
तिनीहरुका बा आमा हतारोमा छन
हात मुख जोर्न
साहुको भारि बोक्नै पर्छ
वनिवुतो नगरी
आङ ढाकिदैन
दश ठाउँ टालेको लुगाले इज्जत ढाक्नु पर्छ ।
जब साँझ पर्छ
नानीहरु घर भित्र पस्छन
खाजा केही नभेटे पछि
आँसु झार्छन
विलौना गर्छन
आँगनको डिलमा उभ्भिएर
बा, आमा आउने बाटो कुर्छन ।
अँगेनामा आगो छैन
चिसो चुल्हो
फिस्स हाँस्छ
भाँडा वर्तन जुठै छन
पानी पँधेरामै छ
बाख्रा, कुखुरा बाहिरै छन
अस्त व्यस्त छ परिवेश
हलो कोदालो बोकी
हस्याङ् फस्याङ् गर्दै
बल्ल आइ पुग्छन मंगलसिं दम्पति
नानीहरु पुलकित हुन्छन
बा–आमा भेटे पछि ।
पाठशाला जान बञ्चित
मुखियाका गोठाला
गाई बाख्रा चराउँदै
आफू जानै नहुने
धनीमनिको पाठशाला
डाँडाबाट चियाएर हेर्छन
मन भित्रै गुम्स्याई
गरिबीको जिजीविषा कोट्याएर ।
के यो कथा हो ?
पाठकहरु सोध्छन
म नाजवाफ छु
के उत्तर दिउँ पाठकलाई ?
यो वास्तविक कथा हो
हाम्रै घले गाउँको ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५




























