प्रहरी कार्यालयमा आगजनी र हतियार लुट्ने सात जना पक्राउ
वि.सं.२०८२ कात्तिक २६ बुधवार
shares
विराटनगर । झापाको दमकस्थित इलाका प्रहरी कार्यालयमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाटमा संलग्न रहेको आरोपमा सात जना पक्राउ परेका छन्।
गत भदौ २४ गते भएको घटनामा साना–ठूला सवारीसाधनमा ढुंगामुढा, तोडफोड गरी प्रहरी कार्यालयमा आगजनी गर्नुका साथै प्रहरीका विभिन्न हातहतियार लुटपाट गरिएको थियो। घटनामा संलग्न समूहले प्रहरीलाई नियन्त्रणमा लिन खोज्ने प्रयाससमेत गरेको बताइन्छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेकामध्ये इलामको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका १९ वर्षीय सुजल राई र दमक नगरपालिका–७ का १९ वर्षीय गणेश शर्मा हातहतियार लुटपाट प्रकरणमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनीहरूविरुद्ध हातहतियार खरखजना, चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
त्यसैगरी, कार्यालयमा ढुंगामुढा, तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का साजन लुहागुन, दमक–३ का रियाज सिलवाल, इलाम चुलाचुली–३ का नकुल अधिकारी, दमक–१ का दिपचन महतो र दमक–६ का लोमस कटुवाल पक्राउ परेका छन्। यी पाँच जनामाथि आपराधिक उपद्रवसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यससँगै, दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको एसएलआर राइफल लुटपाट घटनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का स्थायी बासिन्दा तथा हाल दमक–३ बस्ने १७ वर्षीय आदित्य लिम्बु पक्राउ परेका छन्।
प्रहरीले सबै अभियुक्तलाई हातहतियार खरखजना ऐन र अन्य सम्बन्धित कानूनी प्रावधानअन्तर्गत थप अनुसन्धानका लागि हिरासतमा राखेको जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न अरू व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको छ।

































