रास्वपा सभापति रवि लामिछाने थुनामुक्त, ३.७४ करोड रुपैयाँ जमानत स्वीकृत
वि.सं.२०८२ पुस ४ शुक्रवार
shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन्।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि आवश्यक कागजी प्रक्रिया पूरा गरी लामिछाने शुक्रबार रिहा भएका हुन्।
उच्च अदालत बुटवलले बिहीबार बैंक ग्यारेन्टीमा थुनामुक्त गर्न आदेश दिएपछि लामिछाने शुक्रबार रुपन्देही पुगेका थिए। त्यहाँ अदालतले तोकेको सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेपछि उनलाई रिहा गरिएको हो। अदालतको आदेशअनुसार लामिछानेले ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएका छन्।
बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले यसअघि जिल्ला अदालतले साउन २६ गते दिएको थुनामा पठाउने आदेश बदर गरेको थियो। उच्च अदालतले बिगो बराबरको रकम बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो।
उक्त आदेशअनुसार लामिछानेमाथि लगाइएका आरोपसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आवश्यक नदेखिएको भन्दै अदालतले जमानतमा छाड्ने निर्णय गरेको हो। अदालतले मुद्दाको अनुसन्धान र सुनुवाइमा सहयोग गर्नुपर्ने, कानुनी प्रक्रिया अवरोध नगर्नुपर्ने लगायतका सर्तहरू पनि तोकेको छ।
रिहाइपछि लामिछानेले कानुनी प्रक्रियाप्रति विश्वास व्यक्त गर्दै आफू न्यायालयको आदेश पालना गर्न प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन्। रास्वपाका नेता तथा कार्यकर्ताहरूले अदालतको आदेशलाई स्वागत गर्दै यसलाई न्यायिक प्रक्रियाको सम्मानका रूपमा लिएका छन्।
यससँगै, लामिछानेविरुद्धको मुद्दा भने कानुनी प्रक्रियाअनुसार अगाडि बढ्नेछ। अदालतले तोकेको सर्त पालना गर्दै उनी अब बाहिरै बसेर मुद्दाको सामना गर्नेछन्।





























