“आमोद बाबु जस्तो नेता फेरि कहिले जन्मिन्छ?”
वि.सं.२०८२ पुस ११ शुक्रवार
shares
आमोदप्रसाद उपाध्यायको निधन नेपाली राजनीतिक इतिहासका लागि एउटा गम्भीर मौनजस्तै बन्यो। सक्रिय राजनीतिबाट विश्राम लिइसके पनि संगठन, लोकतन्त्र र जनताको चासोबाट कहिल्यै टाढा नभएका उहाँ जीवनको अन्तिम समयसम्म पार्टी र आन्दोलनप्रति चिन्तनशील रहनुभयो। उमेर, रोग र व्यक्तिगत पीडासँग जुध्दै गर्दा पनि उहाँको चिन्ता आफ्ना लागि होइन, आफूले रोपेको संगठन, राजनीतिक मूल्य र भावी पुस्ताको दिशाका लागि थियो।
उहाँको देहावसानले मोरङ मात्र होइन, समग्र नेपाली काँग्रेस र निष्ठावान् राजनीतिमा विश्वास गर्ने सबैका लागि एउटा युगको अन्त्यको अनुभूति गरायो। तर उहाँको मृत्युले उहाँलाई समाप्त गरेन—उहाँले जीवनभर अडान लिएका मूल्य, शिक्षा क्षेत्रमा ल्याएका सुधार, प्रजातन्त्रप्रतिको निडर प्रतिबद्धता र जनतासँग गाँसिएको आत्मीय सम्बन्ध आज पनि जीवित छन्। आमोदप्रसाद उपाध्याय अब व्यक्ति होइनन्, उहाँ एक स्मृति, एक मानक र निष्ठाको राजनीतिमा विश्वास गर्नेहरूका लागि एउटा स्थायी प्रेरणा बनेर इतिहासमा स्थापित हुनुभएको छ।
दक्षिणी मोरङको माटोमा संस्कृति, सहिष्णुता र सहअस्तित्वको सुगन्ध मिसिएको छ । सन्थाल समुदायले मनाउने सोहराय र मधेशी समुदायको जितिया पर्व एउटै आकाशमुनि मनाइँदा सामाजिक सद्भावको अनुपम दृश्य देखिन्छ । आर्थिक, सामाजिक र सांस्कृतिक दृष्टिले उर्वर यो भूमि राजनीतिक हिसाबले पनि सधैं गम्भीर अर्थ बोकेको क्षेत्र रहँदै आएको छ ।
यही भूमिले समय–समयमा देशलाई मन्त्रीदेखि प्रधानमन्त्रीसम्म प्रदान गरेको छ । साविक इटहरा, सिजुवा, महादेवा, झुर्किया, बरडङ्गा, गोविन्दपुर, डायनियाँ, अमरदह, टकुवा, रंगेली र आमगाछी गा.वि.स. समेटेर बनेको मोरङ निर्वाचन क्षेत्र नं. १, पछिल्लो पुनर्संरचनापछि केही नयाँ वडासहित निर्वाचन क्षेत्र नं. २ मा रूपान्तरित भयो । राष्ट्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने यस क्षेत्रका राजनीतिज्ञहरूमध्ये आमोदप्रसाद उपाध्याय (आमोद बाबु) को योगदान विशेष रूपमा स्मरणीय छ ।
२०४६ सालको जनआन्दोलनपछि २०४८ मा सम्पन्न पहिलो संसदीय निर्वाचनमा नेपाली काँग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले मोरङको सबैभन्दा पिछडिएको र दुर्गम मानिने यही क्षेत्रबाट चुनाव लड्ने निर्णय गरे । त्यो निर्णय त्यो क्षेत्रप्रतिको प्रतिबद्धता थियो । यही यात्रामा आमोदप्रसाद उपाध्याय गिरिजाबाबुको राजनीतिक सारथीका रूपमा उदाए । गिरिजाबाबु प्रधानमन्त्री बनेपछि निर्वाचन क्षेत्रको सम्पूर्ण राजनीतिक, संगठनात्मक र विकासीय जिम्मेवारी आमोद बाबुले काँधमा बोके ।
संसदीय अभ्यासमा गहिरो पकड, विषयवस्तुप्रति सूक्ष्म अध्ययन, विश्लेषण क्षमता र निष्कलंक नैतिक छविका कारण २०४८ सालमा मन्त्रिपरिषद्को सिफारिसमा श्री ५ बाट आमोदप्रसाद उपाध्याय चार वर्षका लागि राष्ट्रिय सभा सदस्यमा मनोनित भए । राष्ट्रिय सभामा रहँदा विभिन्न समितिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै उहाँको उपस्थितिले सदनलाई गम्भीरता र गरिमा प्रदान गर्यो ।
गिरिजाप्रसाद कोइरालालाई २०४८, २०५१ र २०५६ का निर्वाचनमा विजयी बनाउन आमोद बाबुको भूमिका निर्णायक रह्यो । २०५६ मा गिरिजाबाबु सुनसरी क्षेत्र नं. ५ बाट समेत निर्वाचित भएपछि मोरङ क्षेत्र छोड्नुपर्यो । त्यसपछि भएको उपनिर्वाचनमा आमोदप्रसाद उपाध्यायलाई उत्तराधिकारीका रूपमा अघि सारिएसँगै उहाँको राजनीतिक यात्रा अझ दृढ र सशक्त बन्यो ।पार्टी संगठनप्रतिको निरन्तर समर्पण, मासिक अन्तरक्रिया कार्यक्रम, कार्यकर्तासँगको निकट सम्बन्ध र क्षेत्रमै बसेर गर्ने संगठनात्मक सक्रियताले २०५६ को उपनिर्वाचनमा उहाँलाई भारी मतान्तरसहित विजयी गरायो । यससँगै उहाँ यस क्षेत्रका जनताका लोकप्रीय नेताका रूपमा स्थापित हुनुभयो ।
२०५६ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा आमोद बाबु शिक्षा तथा खेलकुद मन्त्री नियुक्त हुनुभयो । त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा पुनः शिक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै उहाँले करिब दुई वर्ष शिक्षा क्षेत्रको नेतृत्व गर्नुभयो । यही कार्यकालमा शिक्षा ऐनको सातौँ संशोधनमार्फत सार्वजनिक शिक्षामा ऐतिहासिक सुधारको आधारशिला राखियो।
शिक्षकको गुणस्तरले नै शिक्षाको स्तर निर्धारण गर्छ भन्ने मान्यताबाट निर्देशित हुँदै अध्यापन अनुमति पत्रको अनिवार्यता, विद्यालय व्यवस्थापन समितिमा अभिभावकको प्रत्यक्ष सहभागिता, शिक्षकको सेवा–सुविधा निजामती सरह बनाउने व्यवस्था र लामो समयदेखि रोकिएको शिक्षक पदपूर्तिको प्रक्रिया सार्वजनिक गर्ने जस्ता दूरगामी सुधारहरू लागू गरिए । यी परिवर्तनहरू सहज थिएनन् । ती सुधार लागू गर्न उहाँले ठूलो राजनीतिक दबाब र विरोधसमेत सहनुपर्यो ।
२०५९ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि त्यसको विरोधस्वरूप अर्थमन्त्री डा. रामशरण महत, शिक्षामन्त्री आमोदप्रसाद उपाध्याय र मन्त्री राजेन्द्र खरेलले राजीनामा दिए । पदभन्दा प्रजातन्त्र ठूलो हो भन्ने सन्देशले नेपाली राजनीतिमा गहिरो तरङ्ग पैदा गर्यो ।राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध विराटनगरस्थित कोइराला निवासबाट सुरु भएको विरोध जुलुसको नेतृत्व आमोद बाबुले गरे । सो क्रममा उहाँ पक्राउ परेर करिब पाँच महिना थुनामा बस्नुभयो ।
विभाजित काँग्रेसले देशलाई स्थिर प्रजातन्त्र दिन सक्दैन भन्ने विश्वाससहित उहाँले पार्टी एकीकरणको पहल सुरु गर्नुभयो । लामो संवाद, परामर्श र सहमतिपछि २०६४ असोजमा नेपाली काँग्रेसको ऐतिहासिक एकीकरण सम्पन्न भयो । यस प्रक्रियामा पनि आमोद बाबुको भूमिका नेतृत्वदायी रह्यो ।
संसद नचलेका बेला अधिकांश समय आफ्नै निर्वाचन क्षेत्रमा बिताउने उहाँ जनताको गुनासो ध्यानपूर्वक सुन्नुहुन्थ्यो । झुटा आश्वासन होइन, सकिने काम तत्काल गर्ने उहाँको शैली थियो । दुःखी जनतालाई सहयोग गर्दा पार्टी घेराभन्दा माथि उठेर काम गर्नु उहाँको स्वभाव थियो ।बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातक, कठोर अनुशासन, तीक्ष्ण स्मरणशक्ति र मिजासिला स्वभावका आमोद उपाध्याय ७३३ नम्बरको गाडीमा यात्रा गर्दा बालकदेखि वृद्धसम्म “जय नेपाल” भन्दै झुम्मिने दृश्य आज पनि जनस्मृतिमा ताजा छ ।कृषिबाटै राष्ट्र समृद्ध हुन सक्छ भन्ने विश्वासका साथ उहाँले सिँचाइ, विद्युत् विस्तार, बक्राहा खोलामा पक्की पुल, उर्लाबारी–कुटुमगंज सडक कालोपत्रे, बक्राहा नदी नियन्त्रण परियोजना जस्ता ठूला विकास आयोजनाहरू सम्पन्न गराउन निर्णायक भूमिका खेले ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा मोरङका अधिकांश क्षेत्रमा काँग्रेस पराजित हुँदा पनि आमोदप्रसाद उपाध्यायको विजय उहाँप्रतिको जनविश्वासको प्रमाण थियो ।
आमोदप्रसाद उपाध्याय नेपाली राजनीतिमा सत्ता र पदभन्दा माथि उठेर सेवा, निष्ठा र सिद्धान्तलाई केन्द्रमा राख्ने दुर्लभ व्यक्तित्वका रूपमा चिनिन्छन्। दक्षिणी मोरङको माटोबाट उदाएका उहाँले राजनीति व्यक्तिगत उन्नतिको साधन होइन, जनताको पीडा बुझ्ने र राज्यलाई नैतिक दिशामा डोर्याउने माध्यम हो भन्ने मान्यतालाई जीवनभर व्यवहारमा उतार्नुभयो। जनताको बीचमै बस्न रुचाउने उहाँ खेत, विद्यालय, कच्ची सडक र दुर्गम बस्तीहरूमा देखिनुहुन्थ्यो, जहाँ राजनीति भाषणभन्दा बढी काम र उपस्थितिबाट प्रमाणित हुन्थ्यो। संगठन निर्माणमा उहाँको शैली अदृश्य तर गहिरो थियो—प्रत्येक कार्यकर्ताको नाम, परिवार र दुःख–सुखसम्म जान्ने उहाँको सम्बन्ध राजनीतिक होइन, मानवीय थियो। संसद र राष्ट्रिय सभामा उहाँको भूमिका आवाजको उचाइले होइन, विचारको तौलले चिनिन्थ्यो, जसले उहाँलाई निष्ठावान् र अध्ययनशील राजनीतिज्ञका रूपमा स्थापित गर्यो।
शिक्षामन्त्रीको हैसियतमा शिक्षा ऐनको सातौँ संशोधनमार्फत शिक्षकको योग्यता, विद्यालयको उत्तरदायित्व र सार्वजनिक शिक्षाको गरिमालाई कानुनी आधार दिनु उहाँको दूरदर्शी योगदान हो, जसका लागि उहाँले ठूलो राजनीतिक दबाबसमेत सहनुभयो। प्रतिनिधिसभा विघटनको विरोधमा मन्त्री पद त्याग्नु उहाँको जीवनको निर्णायक क्षण थियो, जसले पदभन्दा प्रजातन्त्र ठूलो हुन्छ भन्ने सन्देशलाई इतिहासमा अमिट बनायो। आन्दोलन, कारागार र आलोचनाबाट नडराई लोकतन्त्र र संगठनको पक्षमा उभिनु उहाँको साहस र प्रतिबद्धताको प्रमाण हो।
बक्राहा खोलाको तटबन्ध, पुल, सडक, सिँचाइ र विद्यालय निर्माणजस्ता विकास कार्यहरू उहाँको श्रम र सोचका प्रत्यक्ष परिणाम हुन्, जो आज पनि जनजीवनमा देखिन्छन्। आज सक्रिय राजनीतिबाट विश्राममा रहँदा पनि आमोदप्रसाद उपाध्यायको राजनीति जीवित छ—जनताको स्मृतिमा, सार्वजनिक शिक्षाको संरचनामा र निष्ठावान् राजनीतिक संस्कारको उदाहरणका रूपमा, जसले उहाँलाई केवल एक नेता होइन, एउटा मूल्यका रूपमा स्थापित गरेको छ।
सायद यही कारणले होला—आज पनि मोरङमा प्रश्न उब्जन्छ,
“आमोद बाबु जस्तो नेता फेरि कहिले जन्मिन्छ?”

































