हृदयको उज्यालोले रचिने सहिष्णु मानव समाज 

15.7K
shares
Nabil bank

आजको विश्व प्रविधि–विस्फोट, जनसङ्ख्या दबाब, जलवायु परिवर्तन र नैतिक संकटको सामना गरिरहेको छ। यस्ता चुनौतीहरू कानुनी, आर्थिक वा प्राविधिक उपायले समाधान गर्न सकिँदैन। यहाँ अन्तर्मनको उज्यालो र आध्यात्मिक चेतनाको आवश्यकता अपरिहार्य छ। उदाहरणका लागि, जलवायु परिवर्तनको समाधानमा उपभोगवादी मानसिकता त्यागेर पृथ्वीलाई साझा घर मानेर नीति निर्माण गर्नु पर्छ। प्रविधि क्षेत्रमा कृत्रिम बुद्धिमत्ता वा जैव–प्रविधिमा नैतिक सीमारेखा कायम नगरेको खण्डमा मानवीय जीवन जोखिममा पर्छ। यसैले व्यक्तिगत अन्तर्मनको उज्यालो मात्र नभई नेतृत्व र नीति–निर्माणमा पनि आध्यात्मिक दृष्टिकोण आवश्यक हुन्छ।

अध्यात्म जीवनको आभूषण हो। यसले मानिसलाई भित्री संसारसँग भेट गराउँछ। बाहिरका आडम्बरहरू क्षणभंगुर हुन्, तर अन्तर्मनको सत्य चिरन्तन हुन्छ।अध्यात्म कर्मकाण्ड होइन। यो आत्म–अन्वेषणको बाटो हो। ऋषि–मनीषीहरूले यसलाई सत्य, आत्मा र परमात्माको सन्देशका रूपमा व्याख्या गरेका छन्। अध्यात्मले भन्छ— आत्मालाई शुद्ध गर, चेतनालाई जागृत गर, अनि मात्र जीवन अर्थपूर्ण हुन्छ।

शुद्ध अन्तर्मन अहंकार, ईर्ष्या, क्रोध र लोभबाट मुक्त हुन्छ। यस्ता विकृतिहरूले चेतनालाई प्रदूषित गर्छन्। जब चेतना मलिन हुन्छ, व्यवहार असन्तुलित हुन्छ। जब चेतना शुद्ध हुन्छ, व्यवहार करुणामय हुन्छ।मानव जीवनको लक्ष्य बाहिरी सम्पत्ति होइन। यो आन्तरिक सम्पत्ति हो। विवेक, धैर्य, करुणा र सहिष्णुता— यी नै अमूल्य सम्पत्ति हुन्। यिनको उदय अन्तर्मनको शुद्धताबाट मात्र सम्भव हुन्छ।

मानव जीवन भौतिक उपलब्धि, सत्ता वा सामाजिक प्रतिष्ठामा सीमित छैन। यसको वास्तविक मर्म अन्तर्मनको उज्यालोमा निहित छ, जसले व्यक्तिलाई आत्मचेतना, आत्मसंयम र नैतिकता आत्मसात् गर्न प्रेरित गर्छ। जब व्यक्तिले आफ्नो अन्तरमनलाई शुद्ध, सुसंस्कृत र उज्यालो बनाउँछ, तब मात्र उसले जीवनका जटिल समस्याहरूको सामना धैर्य, विवेक र संयमका साथ गर्न सक्छ। अन्तर्मनको उज्यालो ज्ञानको प्रकाश मात्र होइन, यो करुणा, सहिष्णुता, प्रेम, क्षमा र सेवा–भावको प्रकाश हो, जसले समाजलाई नैतिक आधार प्रदान गर्दछ।

सहिष्णु समाजको निर्माणको पहिलो आधार व्यक्ति–स्तरको अन्तर्मन सुधार हो। जब प्रत्येक नागरिकले आफ्नो अन्तरमनमा अनुशासन, नैतिक मूल्य र आध्यात्मिक चेतना विकास गर्छ, तब उसले आफ्नो स्वार्थका लागि होइन, समग्र समाजका लागि निर्णय र कार्य गर्ने क्षमता प्राप्त गर्छ। गीता, उपनिषद्, बौद्ध दर्शन लगायत प्राचीन ग्रन्थहरूले यही कुरा स्पष्ट पारेका छन् कि आत्म–जागरण र आत्म–परिष्कार नै समाजिक सद्भावको मूल आधार हो। उदाहरणका लागि, गीता अध्याय २ मा कृष्णले अर्जुनलाई आत्म–विवेक र धर्मसंगत कार्यको महत्त्व सिकाउनुहुन्छ। यही चेतनाले व्यक्तिलाई स्वार्थ, लोभ, द्वेष र क्रोधका अन्धकारबाट मुक्त गर्छ, जसले समाजमा मेलमिलाप र सहिष्णुताको वातावरण सिर्जना गर्छ।

मानव सभ्यताको वास्तविक मूल्य बाह्य संरचना, प्रविधि वा शक्तिमा होइन, मानव हृदयभित्र प्रज्वलित चेतनाको उज्यालोमा निहित हुन्छ। जब हृदय उज्यालो हुन्छ, विचार शुद्ध हुन्छ; विचार शुद्ध हुँदा आचरण संयमित हुन्। आचरण संयमित हुँदा समाज सहिष्णु बन्छ। यस अर्थमा सहिष्णु मानव समाज कुनै कानुनी दस्तावेज वा राजनीतिक घोषणाबाट होइन, आत्मचेतनाले प्रकाशित हृदयबाट निर्माण हुन्छ।

सहिष्णुता आत्मबोधको उपज हो। उपनिषदले “तत्त्वमसि” भनेर आत्मा र समष्टिको ऐक्यबोध गराउँछ। जब व्यक्ति आफूलाई मात्र होइन, अरूलाई पनि आफ्नै अस्तित्वको विस्तारका रूपमा बुझ्न थाल्छ, तब द्वेष, अहंकार र हिंसाको आधार स्वतः कमजोर हुन्छ। यही आत्मिक अनुभूतिले सहअस्तित्वको भावना जन्माउँछ। सहिष्णु समाज भनेको मतभेदभित्र पनि मानवता जोगाउने चेतनाको उपस्थिति हो।

आध्यात्मिक तहमा सहिष्णुता करुणाको रूप हो। बुद्ध दर्शनले करुणालाई सबैभन्दा उच्च मानवीय गुण मानेको छ। करुणा तब सम्भव हुन्छ, जब हृदय संवेदनशील हुन्छ र पीडामा परेकालाई “अरू” होइन, “आफ्नै” ठानिन्छ। यस्तो हृदय उज्यालोले भरिएको हुन्छ—जहाँ घृणाको अन्धकार टिक्न सक्दैन। जब समाजका सदस्यहरू करुणामा आधारित व्यवहार गर्न थाल्छन्, तब सामाजिक विभाजन, हिंसा र असहिष्णुता क्रमशः क्षीण हुँदै जान्छ।

आधुनिक समाजमा असहिष्णुता प्रायः अहंकार, असुरक्षा र आत्मविच्छेदनबाट जन्मिन्छ। व्यक्ति जब आत्मिक रूपमा रिक्त हुन्छ, तब बाह्य पहिचान—जात, धर्म, विचार वा शक्ति—लाई नै सबैथोक ठान्न थाल्छ। यही संकीर्णता सामाजिक टकरावको कारण बन्छ। तर आध्यात्मिक चेतनाले व्यक्तिलाई भित्र फर्काउँछ, आत्मसँग जोड्छ, र भित्री शून्यतालाई उज्यालोले भरिदिन्छ। आत्मसँग जोडिएको व्यक्ति अरूलाई नकारेर होइन, स्वीकार गरेर बाँच्न सिक्छ।

हृदयको उज्यालोले रचिने समाजमा न्याय केवल कानुनी अवधारणा हुँदैन, नैतिक अनुभूति बन्छ। त्यहाँ सहिष्णुता कमजोरी होइन, चेतनाको उच्चतम अवस्था मानिन्छ। यस्तो समाजमा शक्ति होइन, विवेक निर्णायक हुन्छ; प्रतिस्पर्धा होइन, सहकार्य मूल्यवान् हुन्छ। यही आध्यात्मिक आधारमा उभिएको समाज दीर्घकालीन रूपमा शान्त, समावेशी र मानवीय हुन्छ। सहिष्णु मानव समाज अन्तर्मनको रूपान्तरणको फल हो। जब प्रत्येक व्यक्तिको हृदयमा आत्मज्ञानको उज्यालो बल्छ, तब समाज स्वतः उज्यालो हुन्छ। यही उज्यालो नै मानव सभ्यताको वास्तविक भविष्य हो।

इतिहासमा पनि देखिएको छ कि सहिष्णु समाज निर्माणका लागि अन्तर्मनको उज्यालो अपरिहार्य छ। महात्मा गान्धीले आफ्नो व्यक्तिगत जीवनलाई नैतिकता, सत्य र अहिंसामा समर्पित गरेर भारतीय स्वतन्त्रता आन्दोलनलाई मात्र सफल बनाएनन्, समाजमा सहिष्णुता र सहअस्तित्वको संस्कृति पनि प्रवर्द्धन गरे। समान रूपमा, डा. अब्दुल कलामको जीवनमा शान्ति, सेवा–भाव र नैतिकता आत्मसात् गरेर उनले शिक्षा, विज्ञान र समाज सुधारका माध्यमबाट सहिष्णु समाजको निर्माणमा योगदान दिए। यी उदाहरणहरूले प्रमाणित गर्छन् कि व्यक्तिगत अन्तर्मनको उज्यालो समाजिक मेलमिलाप र सहअस्तित्वको मूल स्रोत हो।

सहिष्णुता दृष्टिकोण वा आदर्शवादमा सीमित छैन; यो व्यवहारिक अभ्यास हो। जब नागरिकले जातीय, सांस्कृतिक, धार्मिक वा भाषागत भिन्नतालाई सम्मान गर्छन्, तब मात्र समाजमा स्थायी सद्भाव कायम हुन्छ। स्क्यान्डिनेभियन मुलुकहरूको अनुभव यस सन्दर्भमा उल्लेखनीय छ। स्वीडेन, नर्वे र डेनमार्कले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र मानव–अधिकारमा समावेशी नीति अपनाउँदै समाजमा असमानता न्यून गरेका छन्। यहाँको नागरिकहरूले अन्तरमनमा समानता, करुणा र सहिष्णुता विकास गरेका छन्, जसले सामाजिक विवाद, द्वन्द्व र असमानता कम गर्ने कार्य गरेको छ।

अन्तर्मनको उज्यालोले सांस्कृतिक र धार्मिक सहिष्णुतालाई पनि प्रवर्द्धन गर्छ। नेपालजस्ता बहुजातीय, बहुधार्मिक र बहुभाषिक समाजमा सहअस्तित्वको आवश्यकता अत्यधिक छ। जब व्यक्ति आफ्नो अन्तरमनमा शुद्धता र नैतिक मूल्य आत्मसात् गर्छ, तब उसले अन्य समूहको अधिकार र संस्कारको सम्मान गर्न सिक्छ। यसले समाजमा द्वन्द्व र विभाजनको सट्टा मेलमिलाप र समरसता सिर्जना गर्छ।

समाज शान्ति खोज्छ। तर समाजको मूल आधार व्यक्ति हो। अशान्त व्यक्ति मिलेर स्थिर समाज जन्मँदैन। शान्त अन्तर्मनले मात्र सहअस्तित्व सम्भव हुन्छ। त्यसैले, समाज सुधारको बाटो व्यक्ति–सुधार हो। व्यक्ति सुधारको बाटो अन्तर्मनको शुद्धि हो।हिन्दू योगले ध्यानमार्फत अन्तर्मनलाई निखार्छ। बौद्ध दर्शनले करुणा र माया मार्फत आत्मालाई पवित्र बनाउँछ। यी परम्पराहरू फरक देखिए पनि उद्देश्य एउटै छ— चेतनाको शुद्धि।

शुद्ध चेतनाले द्वेषलाई भङ्ग गर्छ। यसले मानिसलाई ‘म’ बाट ‘हामी’ तर्फ डोर्याउँछ। जब आत्माले भिन्नताको पर्दा हटाउँछ, तब सामाजिक मेलमिलाप जन्मिन्छ। जात, धर्म, भाषा, पद— यी सबै कृत्रिम भित्ताहरू भत्किन्छन्। शुद्ध आत्मा मानवताको भाषा बोल्छ।सामाजिक सद्भाव कुनै व्यवस्थाले मात्र ल्याउन सक्दैन। कानुनले दण्ड दिन सक्छ, तर प्रेम जन्माउन सक्दैन। प्रेम र भाईचारो अन्तर्मनको उज्यालोबाट मात्र जन्मिन्छ।

अध्यात्मिक अभ्यासहरू जस्तै योग, ध्यान, प्रार्थना र आत्मचिन्तन— यी आत्मिक औषधिहरू हुन्। यसले मनलाई शान्त गर्छ। शरीरलाई स्वस्थ बनाउँछ। चेतनालाई बल दिन्छ। यसले जीवनलाई सन्तुलित बनाउँछ।

अध्यात्मले मानवलाई भयबाट मुक्त गर्छ। धर्मले ‘पाप गर्छौ भने दण्ड भोग्छौ’ भन्छ। तर अध्यात्म भन्छ— ‘सद्गुणमा आकर्षित हो, तब दण्डको भय नै रहँदैन।’ धर्म नियमन हो। अध्यात्म आत्म–जागरण हो।संस्कार र आचरण पनि अन्तर्मनसँग गाँसिएका छन्। शुद्ध अन्तर्मनले असल संस्कार जन्माउँछ। असल संस्कारले सद्व्यवहार जन्माउँछ। सद्व्यवहारले समाजलाई नैतिक र स्थिर बनाउँछ। यसरी, अध्यात्म, अन्तर्मन र समाज एउटै शृङ्खलाका कडिहरू हुन्।

सत्य के हो भने, बाह्य व्यवस्था सुधार्नुअघि भित्री व्यवस्था सुधार्नुपर्छ। यदि अन्तर्मन असन्तुलित छ भने, बाह्य सुधार असफल हुन्छ। तर अन्तर्मन शुद्ध भयो भने, समाज स्वतः शुद्ध हुन्छ।अध्यात्म बिना जीवन अधुरो हुन्छ। अन्तर्मन शुद्ध बिना समाज अस्थिर हुन्छ। शुद्ध चेतनाले मात्र करुणा, समानता र सद्भाव जन्माउँछ। त्यसैले, अध्यात्म मार्गले आत्म–परिष्कार गरौं। आत्म–परिष्कारले सामाजिक सहअस्तित्व सुनिश्चित गर्छ। यही नै दिगो समाज निर्माणको शाश्वत सूत्र हो।

अन्तर्मनको शुद्धिकरणले मात्र व्यक्ति स्वयम् शान्त, सन्तुष्ट र सफल हुँदैन, वरन् समाज पनि सुन्दर, समृद्ध र स्थिर बन्न सक्छ। अध्यात्मिक अभ्यासले मानिसलाई आफ्नो भित्री स्वभावलाई चिनेर सुधार्न र आफू मात्र होइन, अरूको जीवनमा पनि सकारात्मक प्रभाव पार्न सक्षम बनाउँछ। यसले हाम्रो दैनिक जीवनलाई मात्र होइन, सम्पूर्ण समाज र राष्ट्रलाई नै उज्यालो बनाउने सामर्थ्य राख्दछ। त्यसैले, अन्तर्मनको शुद्धिकरण र सामाजिक सद्भावलाई मानव जीवन र विकासको अभिन्न अङ्गको रूपमा लिन आवश्यक छ।

जीवनको वास्तविक यात्रा बाहिरी उपलब्धिमा मात्र सीमित हुँदैन। बाह्य सफलता, सम्पत्ति र नामले क्षणिक सन्तुष्टि त दिन सक्छ तर आत्मा त अझ गहिरो अर्थ खोजिरहेको हुन्छ। जब मानिस आफ्नो अन्तरमनलाई निखार्न थाल्छ, त्यतिबेलामात्र आत्मिक परिष्कारको द्वार खुल्छ। आत्मा शुद्ध भए समाज शान्त हुन्छ। आत्मा दूषित भए, सभ्यता नै असन्तुलित हुन्छ।

आत्मिक परिष्कार अहंकार, ईर्ष्या, द्वेष र लोभको चपेटाबाट चेतनालाई मुक्त गर्ने प्रक्रिया हो। जब मनुष्य आफ्नो अस्तित्वलाई परम सत्यसँग जोड्छ, तब उसको आचरणमा शुद्धता झल्किन्छ। शब्दमा मधुरता, व्यवहारमा करुणा र सोचमा व्यापकता आउँछ। यही शुद्धता नै सहअस्तित्वको बीज हो। किनकि सहअस्तित्व शारीरिक नजिकताले होइन, आत्मिक निकटताले जन्म लिन्छ।

मानवीय सहअस्तित्वको आधार परस्पर विश्वास हो। विश्वास तब मात्र जन्मिन्छ जब हामीभित्र कपट, लोभ वा स्वार्थको छाया छैन। यदि अन्तरात्मा असत्यले आच्छादित छ भने, सम्बन्धमा विश्वास टिक्दैन। त्यसैले, आत्मिक परिष्कारलाई सामाजिक सद्भावको जरुरी पूर्वशर्त भन्न सकिन्छ। आत्मा निर्मल भयो भने समाजमा समरसता स्वाभाविक रूपमा बग्छ।

आज विश्व असन्तुलन, द्वन्द्व र संघर्षले आक्रान्त छ। राष्ट्रहरूबीच युद्ध, समुदायबीच घृणा र परिवारभित्रै कलह देखिन्छ। यसको मूल कारण बाहिरी कारण मात्र होइन, भित्री प्रदूषण हो। जब प्रत्येक व्यक्तिले आफ्नै आत्मालाई अनुशासित गर्ने, लोभ–मोहको बन्धन चिर्ने र सत्यलाई आत्मसात् गर्ने अभ्यास गर्छ, तब समाज स्वतः शान्त हुन्छ।

आत्मिक परिष्कारले मानिसलाई “म” बाट “हामी” तर्फ डोर्याउँछ। यसले सानो घेराबाट ठूलो परिवारको बोध गराउँछ। सहअस्तित्व सहनशीलता होइन, गहिरो स्तरमा आत्मीयता हो। जसले अर्कोको पीडालाई आफ्नै पीडाजस्तै महसुस गर्छ, उसले मात्र सहअस्तित्वलाई जीवन्त पार्न सक्छ।यसरी, आत्मिक परिष्कार बिना सहअस्तित्व सम्भव छैन। समाजले चाहेको वास्तविक शान्ति, सद्भाव र सामूहिक समृद्धि बाह्य व्यवस्थाबाट होइन, अन्तरमनको जागरणबाट आउँछ। आत्मा उज्यालो भयो भने समाजमा घृणाको अन्धकार टिक्दैन। चेतना स्वच्छ भयो भने सभ्यताको आधार बलियो हुन्छ। त्यसैले, आत्मिक परिष्कारलाई व्यक्तिगत मात्र होइन, सामूहिक उद्धारको मूल आधार मान्नुपर्छ।

आत्मिक परिष्कारले नै मानिसलाई मानव बनाउँछ। यसले उसको चेतनालाई उदात्त बनाउँछ र उसको जीवनलाई समर्पण र सेवा तर्फ मोड्छ। यही परिष्कृत आत्माले मानवीय सहअस्तित्वलाई सम्भव बनाउँछ। जब प्रत्येक आत्मा निर्मल हुन्छ, तब मात्र विश्वमा वास्तविक शान्ति र सद्भाव स्थापित हुन्छ।प्रकृति, ईश्वर र मानव जीवनको अनसुल्झिएको रहस्यलाई समाधान गर्ने तत्व नै अध्यात्म ज्ञान हो। अध्यात्म मार्गले मानव जीवनलाई प्रयोग गरी भित्री चेतनालाई परम चेतनामा रूपान्तरण गर्न सकिन्छ। ईर्ष्या, द्वेष, घृणा र प्रतिशोधले समाजलाई पथभ्रष्ट बनाउँछन् भने अध्यात्म मार्गले संस्कार, आचरण र व्यवहार सुधार्न महत्वपूर्ण मार्गदर्शन दिन्छ। यसले व्यक्तिलाई आत्मिक शान्ति र उच्च नैतिक मूल्यहरूको अभ्यासमा जोड दिन्छ। जब समाजका सबै सदस्यले अध्यात्मिक मूल्य र आचरणलाई अंगाल्छन्, तब समाजमा एकता, शान्ति र समृद्धि वृद्धि हुन्छ। त्यसैले अध्यात्ममा आधारित जीवन यापनले नैतिक प्रशासन, सामाजिक सुधार र मानवता सुधारमा सकारात्मक योगदान पुर्याउँछ।

सहिष्णु समाजको अर्को महत्वपूर्ण पक्ष शिक्षा र मूल्य–आधारित प्रशिक्षण हो। जब बालबालिकामा नैतिकता, करुणा, सहिष्णुता र सेवा–भाव विकास गरिन्छ, तब भविष्यमा उनीहरू समाजमा सकारात्मक परिवर्तनको वाहक बन्छन्। यहाँ औपचारिक शिक्षा पर्याप्त छैन; नैतिक शिक्षा, संस्कार, ध्यान, योग र आत्म–अन्वेषण जस्ता अभ्यासले अन्तर्मन उज्यालो बनाउँछ।अन्ततः, अन्तर्मनको उज्यालो र सहिष्णु समाज निर्माण एकअर्कासँग अविच्छिन्न छन्। व्यक्तिगत चेतना र नैतिकता मात्र समाजलाई स्थायित्व, मेलमिलाप र समृद्धि तर्फ डोर्याउन सक्छ। जब प्रत्येक नागरिकले आत्म–परिष्कार, नैतिक मूल्य र सेवा–भाव आत्मसात् गर्छ, तब समाजमा समानता, न्याय, करुणा र सहिष्णुताको संस्कृति स्थापित हुन्छ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x