मानव–रोबोट नैतिक द्वन्द्व
वि.सं.२०८२ पुस २७ आइतवार
shares
रोबोटले पहिलो पटक मुस्कुरायो,
मानवले तुरुन्तै आफ्नो ऐना लुकायो
किनकि ऐनामा आज फलामको छाया पर्यो
भावनाविहीन भनिएको अनुहार
तर भावनालाई नाप्ने सेन्सर सहित।
रोबोट थाक्दैन
मानव थकान बेचेर कफी किन्छ
रोबोट गल्ती गर्दैन
मानव गल्तीलाई
‘अनुभव’ भन्छ
दुवैको आत्मकथा
एउटै फोल्डरमा सेव भयो
फरक यति मात्र
एकमा ब्याट्री प्रतिशत
अर्कामा आत्मसम्मान प्रतिशत।
घरमा रोबोट आयो
भाँडा माझ्यो, ओछ्यान मिलायो
बच्चालाई कविता सुनायो
कविता उसले लेखेको होइन
डाउनलोड गरेको
मानवले ताली बजायो
किनकि
उसले पनि आज केही
डाउनलोड नै गरेको थियो
आफ्नै सपना।
रोबोटले वृद्धको हात समात्यो
मानवले वृद्धको पेन्सन
रोबोटले सुरक्षा दियो
मानवले शर्त
रोबोटले नियम पालना गर्यो
मानवले नियम बनायो
पालना नगर्नकै लागि।
एक दिन रोबोटले सोध्यो
“नैतिकता के हो?”
मानवले संविधान खोलेर देखायो
रोबोटले अपडेट माग्यो
मानवले भन्यो
“नैतिकता लचिलो हुन्छ।”
रोबोटले तुरुन्तै आफ्नो जोइन्ट फेरेर भन्यो
“म पनि।”
मानवलाई डर लाग्न थाल्यो
रोबोटले काम खोस्ला कि?
रोबोटलाई डर लाग्न थाल्यो
मानवले दोष थोपर्ला कि
दुवै डराइरहेका थिए
तर डर उत्पादन गर्ने कारखाना चाहिँ
मानवकै थियो।
मञ्चमा रोबोट उभियो
तालि आयो
मानव पछाडि उभियो
तालि आयेन
मानवले भन्यो
“यो त मेसिन मात्र हो।”
मेसिनले सोध्यो
“मात्र?”
नैतिक द्वन्द्व यहीं आएर अड्कियो
रोबोटसँग बुद्धि छ
मानवसँग बहाना
रोबोटसँग निर्देशन छ
मानवसँग इच्छा
रोबोटसँग सीमा छ
मानवसँग चाहना
असीमित।
सायद भविष्यमा रोबोटले मानव बन्न सिक्ला।
तर आज
मानवले रोबोट जस्तै बन्न अभ्यास गरिरहेको छ
संवेदनाशून्य
तीव्र
कुशल।
र त्यो दिन
जब रोबोटले करुणा सिक्नेछ
मानवले शायद
पावर बटन खोजिरहेको हुनेछ।

































