ओखलढुंगामा हराएका प्रत्यक्ष मतपत्र समानुपातिकको ढ्वाङमा भेटियो, अब के हुन्छ?
वि.सं.२०८२ फागुन २५ सोमवार
shares
ओखलढुंगा । ओखलढुंगामा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनाका क्रममा हराएका भनिएका प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएपछि विवाद उत्पन्न भएको छ।
मतगणनाका क्रममा प्रत्यक्षतर्फको केही मतपत्र हराएको भन्दै आशंका गरिएको थियो। पछि गणना जारी रहँदा ती मतपत्र समानुपातिकतर्फको ढ्वाङभित्र भेटिएको पाइएको हो।
घटनाबारे सहायक निर्वाचन अधिकृतले पनि प्रत्यक्षतर्फका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएको स्वीकार गरेका छन्।
यस विषयमा नेपाली कांग्रेसका उम्मेदवार लुइँटेलले औपचारिक आपत्ति जनाउँदै मुचुल्का तयार गर्न माग गरेका थिए। उनले नियमअनुसार ती मतपत्र बदर गर्नुपर्ने माग राखेका थिए।
उनको मागअनुसार मुचुल्का तयार गरी ती मतपत्र बदर गरिएको निर्वाचन स्रोतले जनाएको छ।
घटनापछि मतगणना स्थलमा केहीबेर तनावको अवस्था सिर्जना भए पनि पछि सर्वदलीय सहमतिमा प्रक्रिया अगाडि बढाइएको बताइएको छ।
निर्वाचनको संवेदनशील प्रक्रियामा यस्तो घटना देखिएपछि स्थानीय स्तरमा पारदर्शिता र सतर्कता आवश्यक रहेको सरोकारवालाले बताएका छन्।





























