मनको प्रकाशले उजागर गर्ने जीवन लक्ष्य

396
shares

      

मानव जीवनको मूल आधार नै मनको प्रकाश हो। जब हाम्रो मन उज्यालो र सकारात्मक हुन्छ, तब जीवनका मार्गहरू स्पष्ट र सुव्यवस्थित देखिन्छन्। अन्धकारमा टुंगिएजस्तो लाग्ने कठिनाइहरू, असफलताका क्षणहरू र निराशाका भावहरू पनि मनको उज्यालोले हराउन सक्छन्। मनको प्रकाशले बाह्य परिस्थितिलाई मात्रै होइन आन्तरिक चेतना, निर्णय क्षमता र नैतिक दृष्टिकोणलाई पनि सुसज्जित बनाउँछ।

जीवनमा लक्ष्य निर्धारण र त्यसतर्फ अग्रसर हुनु कठिनाइपूर्ण प्रक्रिया हो। तर उज्यालो मनले व्यक्तिलाई आफ्नो लक्ष्य स्पष्ट रूपमा देखाउँछ र त्यसका लागि आवश्यक साहस, धैर्य र लगन प्रदान गर्दछ। सकारात्मक सोच, आत्म–विश्वास र आध्यात्मिक चेतनाले जीवनका प्रत्येक क्षणलाई अर्थपूर्ण बनाउँछ। मनको प्रकाशले हामीलाई मार्गदर्शनको क्रममा नैतिकता, करुणा र परोपकारको मूल्यलाई पनि अपनाउन प्रेरित गर्छ।

अध्यात्म, दार्शनिकता र नैतिक अभ्यासले मनको प्रकाशलाई अझ सुदृढ बनाउँछ। जब हामी आफ्नो आन्तरिक मनलाई सकारात्मक ऊर्जाले भरिन्छौँ, तब हाम्रो व्यवहार, सम्बन्ध र समाजमा योगदान पनि उज्यालो र सार्थक बनिन्छ। जीवनका कठिन निर्णयहरूमा मनको प्रकाश नै हाम्रो मार्गदर्शक बन्छ, जसले भ्रम, डर र निराशालाई हटाएर स्पष्टता र आत्म–सन्तुष्टितर्फ उन्मुख गर्दछ।

मनको प्रकाश जीवनको उद्देश्य, नैतिक मूल्य र सामाजिक उत्तरदायित्व बुझ्ने साधन पनि हो। जीवनका प्रत्येक चरणमा उज्यालो मनको मार्गदर्शनले व्यक्ति आफैँलाई र समाजलाई सुधार्ने शक्तिशाली साधनको रूपमा काम गर्छ। यसैले मानव जीवनको वास्तविक लक्ष्य पत्ता लगाउन, आत्म–विकास र सकारात्मक योगदान दिन मनको प्रकाश अपरिहार्य आधारभूत शक्ति हो।

आज विश्व असन्तुलन, द्वन्द्व र संघर्षले आक्रान्त छ। राष्ट्रहरूबीच युद्ध, समुदायबीच घृणा र परिवारभित्रै कलह देखिन्छ। यसको मूल कारण भित्री प्रदूषण हो। जब प्रत्येक व्यक्तिले आफ्नै आत्मालाई अनुशासित गर्ने, लोभ–मोहको बन्धन चिर्ने र सत्यलाई आत्मसात् गर्ने अभ्यास गर्छ, तब समाज स्वतः शान्त हुन्छ।

आत्मिक परिष्कारले मानिसलाई सानो घेराबाट ठूलो परिवारको बोध गराउँछ। सहअस्तित्व  आत्मीयता हो। जसले अर्कोको पीडालाई आफ्नै पीडाजस्तै महसुस गर्छ उसले मात्र सहअस्तित्वलाई जीवन्त पार्न सक्छ। आत्मिक परिष्कार बिना सहअस्तित्व सम्भव छैन। समाजले चाहेको वास्तविक शान्ति, सद्भाव र सामूहिक समृद्धि अन्तरमनको जागरणबाट आउँछ। आत्मा उज्यालो भयो भने समाजमा घृणाको अन्धकार टिक्दैन। चेतना स्वच्छ भयो भने सभ्यताको आधार बलियो हुन्छ। त्यसैले, आत्मिक परिष्कारलाई सामूहिक उद्धारको मूल आधार मान्नुपर्छ।

अध्यात्मिक अभ्यासले मानिसलाई आफ्नो भित्री स्वभावलाई चिनेर सुधार्न र आफू मात्र होइन, अरूको जीवनमा पनि सकारात्मक प्रभाव पार्न सक्षम बनाउँछ। यसले हाम्रो दैनिक जीवनलाई मात्र होइन, सम्पूर्ण समाज र राष्ट्रलाई नै उज्यालो बनाउने सामर्थ्य राख्दछ। अन्तर्मनको शुद्धिकरण र सामाजिक सद्भावलाई मानव जीवन र विकासको अभिन्न अङ्गको रूपमा लिन आवश्यक छ।

जीवनको वास्तविक यात्रा बाहिरी उपलब्धिमा मात्र सीमित हुँदैन। बाह्य सफलता, सम्पत्ति र नामले क्षणिक सन्तुष्टि त दिन सक्छ तर आत्मा त अझ गहिरो अर्थ खोजिरहेको हुन्छ। जब मानिस आफ्नो अन्तरमनलाई निखार्न थाल्छ, त्यतिबेलामात्र आत्मिक परिष्कारको द्वार खुल्छ। आत्मा शुद्ध भए समाज शान्त हुन्छ। आत्मा दूषित भए, सभ्यता नै असन्तुलित हुन्छ।

मनको उज्यालो मानव जीवनको आधारभूत शक्ति हो। यसले सामाजिक र आध्यात्मिक उन्नतिलाई पनि सुनिश्चित गर्छ। जहाँ मन उज्यालो छ, त्यहाँ विवेक, करुणा, सहिष्णुता र मानवत्वको विकास स्वतः हुन्छ। पौराणिक, दार्शनिक र आध्यात्मिक दृष्टान्तहरूले स्पष्ट देखाउँछन् कि मन उज्यालो बिना साँचो मानवत्व सम्भव छैन। मनको उज्यालो र मानवत्वको सम्बन्ध दार्शनिक दृष्टिले गहिरो छ। प्लेटो र अरिष्टोटलका अनुसार, चेतनाको शुद्धता नै जीवनको सर्वोच्च लक्ष्य हो। पूर्वीय दर्शनले पनि यही कुरा पुष्टि गर्छ। भगवद् गीता, उपनिषद् र बौद्ध ग्रन्थले मनको उज्यालोलाई जीवनको मार्गदर्शक शक्ति मान्छन्।

जहाँ मन उज्यालो हुन्छ, त्यहाँ विवेक, करुणा र निःस्वार्थ प्रेम प्रकट हुन्छ। मन अन्धकारपूर्ण छ भने शक्ति, ज्ञान वा प्रतिष्ठा भए पनि व्यक्ति पतनको बाटोमा हुन्छ। मन उज्यालो बनाउन आत्म-परिष्कार आवश्यक छ। योग, ध्यान, साधना, प्रार्थना र सत्कर्मले आत्मा उज्यालो बनाउँछ र मनको प्रकाश फैलाउँछ।

 

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

civil hospital
Hams Hospitals