इट्टा भट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु, दुई जना घाइते

192
shares

 

 

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका – ५ मजुर्वास्थित कृष्ण इट्टा उद्योगमा शुक्रबार साँझ इट्टाको चयाङ खस्दा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साँझ करिब ६ बजे इट्टा निकाल्ने क्रममा अचानक इट्टाको प्रखाल भत्किँदा काम गरिरहेका मजदुरहरू माटो र इट्टाले पुरिएका थिए। स्थानीयले घटनाबारे जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो।

 

घाइते तथा पुरिएकाहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ। उपचारका क्रममा गौडेता नगरपालिका – ७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडेता नगरपालिका – ९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखेमपुर निवासी ३५ वर्षीय अंगद कुमारलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

 

घटनामा मलंगवा नगरपालिका-७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन्। तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतोको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

दुवैको अवस्था सामान्य रहेको बताइएको छ। घटनास्थलमा जेसीबी प्रयोग गरी थप खोजी तथा इट्टा पन्छाउने काम गरिएको थियो। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईले जानकारी दिए।

civil hospital
Hams Hospitals