नेपाल बायोमेडिकल संघको अध्यक्षमा विकेस श्रेष्ठ सर्वसम्मत निर्वाचित
वि.सं.२०८३ जेठ १७ आइतवार
shares
काठमाडौं ।नेपाल बायोमेडिकल संघको दोस्रो अधिवेशन गोकर्णेश्वरमा सम्पन्न भएको छ। अधिवेशनले विकेस श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अनु नेपाली, सचिवमा निशेष खतिवडा, सहसचिवमा राजेश आचार्य तथा कोषाध्यक्षमा उत्तम पोखरेल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सुशील सिटौला, ताराबहादुर कुबर, सुजन बाबु बास्तोला, जीवन गौतम, श्रीजन गौतम र कञ्चन चौधरी रहेका छन्।
अधिवेशनमा बायोमेडिकल क्षेत्रको व्यावसायिक विकास, स्वास्थ्य उपकरणहरूको सुरक्षित तथा प्रभावकारी व्यवस्थापन, प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि तथा पेशागत हकहितका विषयमा व्यापक छलफल भएको थियो। सहभागीहरूले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा बायोमेडिकल प्राविधिकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष विकेस श्रेष्ठले संघलाई थप सशक्त, सक्रिय र परिणाममुखी बनाउँदै बायोमेडिकल क्षेत्रमा कार्यरत सम्पूर्ण पेशाकर्मीहरूको हित, क्षमता विकास तथा पेशागत एकताका लागि प्रतिबद्धतापूर्वक काम गर्ने बताएका छन्।
यसैबीच, संघका नवनिर्वाचित सचिव निशेष खतिवडाले बायोमेडिकल प्राविधिक स्वास्थ्य सेवाको अभिन्न अंग भए पनि उनीहरूको पेशागत योगदान अझै पर्याप्त रूपमा पहिचान हुन नसकेको बताए। अस्पतालहरूमा प्रयोग हुने अत्याधुनिक स्वास्थ्य उपकरणहरूको सञ्चालन, मर्मतसम्भार तथा व्यवस्थापनमा बायोमेडिकल प्राविधिकहरूको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ।
अधिवेशनले बायोमेडिकल क्षेत्रको संस्थागत विकास, पेशागत सम्मान तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि संघले थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा समेत व्यक्त गरेको छ।




























