धरहराको इतिहास
वि.सं.२०८३ जेठ ३० शनिवार
shares
नेपाल एक सुन्दर शान्त विशाल देश भनेर विश्वमा चिनिन्छ। पक्कै पनि यस देशभित्र यस्ता असङ्ख्य चिजहरू छन्, जसले विश्वमानचित्रमा एसिया महादेशको एक भाग हो भन्ने बुझिन्छ | अर्थात सर्वोच्च हिमशिखर सगरमाथा भएको देश, बुद्धको जन्मभूमि, असङख्य ऋषि महर्षिहरूले ज्ञान प्राप्त गरेको तपोभूमि, भगवानहरूले पनि विशेष मन पराउँनु भएको धार्मिक तीर्थस्थलहरू रहेको भूमि,भौगोलिक विविधता भएको, उत्तरमा चीनको तिब्बत र दक्षिणमा भारत, पूर्वमा मेची र महाकालीसम्म फैलिएको एक सार्वभौमसत्ता सम्पन्न राष्ट्र भनेर विश्वसामु चिनिन्छ ।
इतिहासका पाना पल्टाएर हेर्दा अत्यन्त रोचक, विशेष महत्त्व बोकेको, राजामहाराजाहरूले राजकाज चलाउँनका लागि अवलम्बन गरेका कुटिल नीति नियमहरूले झक्झक्याउँछ । अनि सोच्न बाध्य तुल्याउँछ कि पुर्खाले त्यत्तिकै आर्जेको मुलुक होइन रछ ? त्यसका लागि गरिएको त्याग, बलिदान, समर्पण, बफादारिता, इमान्दारिताको मिसाल रहेछ । देशप्रतिको अगाध माया, माटोप्रतिको प्रेम, मातृभूमि कति प्यारो हुँने रहेछ भन्ने कुरा थाहा पाउँन हामीले इतिहासका पाना पल्टाउँनै पर्छ | “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने श्लोकबाट पनि यो सिद्ध हुन्छ कि ‘आमा, र जन्मभूमि स्वर्गभन्दा पनि महान हुन्छ।” भन्ने भनाइ चरितार्थ भएको पाइन्छ |
त्यसैको एक प्रमाण हो,कीर्तिस्तम्भ !
स्तम्भ आकारमा बनेको अग्लो भवन जसलाई हामी धरहराको नामले चिन्छौँ | मुगल भाषामा मस्जिदको “मिनार” शब्दको अर्थ उँचो स्तम्भ भन्ने बुझिन्छ | जसलाई हामी मिनार नामले पनि चिन्छौँ |
धरहरा किन बनाइयो त ? यसलाई बनाउँनुको मुख्य ऊद्देश्य के हो ? भन्ने जान्नका लागि यस्को इतिहासतर्फ फर्कौँ है त |
धरहरा नेपालको राजधानी काठमाडौंको सुन्धारामा अवस्थित रहेको छ। उक्त कीर्तिस्तम्भ हालको अवस्थामा ९ तल्ले रहेको छ । भित्रभित्रैबाट माथिसम्म जाने सिंढी भएको अग्लो डोलो आकारको धररा जसलाई कीर्तिस्तम्भ अर्थात मिनारका नामले पनि बुझिन्छ | वि.सं. १९९० साल भन्दा पहिला यो स्तम्भ ११ तल्लाको थियो, यसको बार्दली यानिकी छानामुनि गारोभन्दा बाहिरपट्टी रेलिङ बेरेर बस्नका लागि बनाइएको खुला गोलाकार ठाउँ जसबाट बाहिरी परिदृश्य नियाल्न सकिन्छ। धरहराको बार्दली ९ औं तल्लामा रहेको थियो। वि.सं. १९९० साल माघ २ गते गएको महाभूकम्पको कारण बार्दलीभन्दा माथिको १० र ११ तल्ला भत्किएको थियो र ९ तल्लामा मात्र सीमित भयो । वि. सं. १८८२ सालमा महारानी ललित त्रिपुरासुन्दरीको आदेशमा तत्कालीन जनरल भीमसेन थापाद्वारा ६१.८८ मिटर अग्लो ११ तल्ले स्तम्भ निर्माण गरिएको थियो | महारानीको आदेशअनुरुप उक्त धरहरा बनाइएको पाइन्छ |
महारानी ललित त्रिपुरासुन्दरीका पिता काजी नैनसिंह थिए | बगाले थापाकी छोरी, मुख्तियार भीमसेन थापाकी भतिजी थिइन् । उनीलाई साहित्यिक स्रष्टा तथा नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रुपमा पनि चिनिन्छ। उनी नेपालका राजा श्री ५ रणबहादुर शाहकी कान्छी पत्नी थिइन् । उनकै आदेशमा धरहरा निर्माण गरिएको थियो। उनले काठमाडौँको त्रिपुरेश्वर मन्दिर, बागमती पुल, धरहरा, सुन्धाराको निर्माण गरेकी थिइन् | उनी साहित्यिक, सामाजिक, धार्मिक लगाव भएकी राजमाता, कुशल शासकका रूपमा छोटो समयमानै आफ्नो अलग पहिचान बनाउँन सफल भएकी थिइन् । उनको मृत्यु वि.सं. १८८८ साल चैत्र १६ गते ३८ वर्षको अल्पायुमै बिफरका कारणले भएको थियो । उनले संस्कृतबाट अनुवाद गरेको ‘राजधर्म’ र केही कविताहरु पनि रहेको पाइन्छ |
महारानीको आदेशमा निर्माण गरिएको धरहरा पछि वि. सं. १९१३ सालमा चट्याङ्ग परि भत्किएको थियो । भत्किएको १० वर्ष पछि वि.सं. १९२३ सालमा धरहराको जीर्णोद्वार गरिएको थियो । वि.सं. १९९० सालको महाभूकम्पमा परि पुन: भत्कियो । भने वि. सं. १९९२ सालमा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाद्वारा पुन: निर्माण गरिएको थियो | जुन ११ तल्लाबाट ९ तल्लामा सीमित रहन पुग्यो ।
वि.सं. २०७२ साल वैशाख १२ गते शनिबारका दिन आएको ७.८ रेक्टरको महाभूकम्पले यो स्तम्भ पूर्ण रूपमा नष्ट भई इतिहास बन्न गयो। धरहराको निर्माण भीमसेन थापा प्रधानमन्त्री भएको बेलामा निर्माण गरिएकाले भीमसेन स्तम्भ पनि भन्ने गरिन्छ | उनले सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउँन पहिले त्यही धरहराको प्रयोग गरिन्थ्यो | धरहराको टुप्पोबाट बिगुल बजाउँने र बिगुल बजेको सुनेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुंडिखेलमा जम्मा हुनपुर्ने अनिवार्य नियम थियो ।
हाल निर्माण भएको धरहरा सातौँ तल्लामा बार्दली उचाइ ६१.८८ मिटर (२०३ फिट ) रहेको छ। धरहरा भित्र २१३ सिंढी र बाहिर १५ सिंढी रहेका छन् । धरहराको १८८ सिंढी उक्लिएपछि बार्दली आउँछ । बार्दलीबाट काठमाडौं उपत्यकाको अधिकांश भाग सजिलैसँग देख्न सकिन्छ | त्यहाँबाट हेर्दा उपत्यका गुजुम्म, साँगुरो देखिन्छ | मनोरञ्जनका दृष्टिले पनि हजारौँको सङ्ख्यामा आन्तरिक एवम् वाह्य पर्यटकहरू घुम्न आउँने गरेको पाइन्छ | धरहराको सबैभन्दा माथिल्लो तल्लामा शिवलिङ्ग र टुप्पोमा गजुर रहेको छ | धरहरामा शिवलिङ्ग राख्नुको विशेष आध्यात्मिक महत्त्व रहेको छ | ब्रह्माण्डको प्रतीक,ब्रह्मा, विष्णु र महादेव अर्थात् सत्य, ज्ञान र अनन्त त्रिमूर्तिको प्रतिनिधित्व गर्दछ | जसले, नेपाल एक हिन्दु राष्ट्र हुँनुका साथै धार्मिक सम्पदाको ऐतिहासिक निरन्तरतालाई पनि दर्शाउँछ | आध्यात्म केवल आस्था विश्वासको धरोहर मात्र होइन | यो त आत्मचिन्तन अनि जीवन जिउँने कला पनि हो | जसले जीवनलाई गहिराइबाट बुझ्न, अनुशासनमा रहन,लोभ लालच, मोहबाट टाढा राख्न मद्दत गर्छ | अनि सत्यको समीपमा लान्छ |
ऐतिहासिक स्मारक धरहरा धार्मिक तथा पर्यटकीय दुवै दृष्टिले महत्त्वपूर्ण रहेको छ। धरहराको निर्माण मुगलशैलीमा गरिएको छ भने वरिपरि पर्खाल पनि सोही शैलीमा निर्माण गरिएको छ । धरहरा निर्माण ईटा, बज्र ( सुर्की, मास,चाकुको मिश्रण) बाट भएको छ |
वि. सं. २०७२ सालको विनाशकारी भूकम्पबाट भत्किएको ऐतिहासिक, पुरातात्त्विक धरहराको पुननिर्माण वि.सं. २०७५ साल पुस १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ज्यूबाट शिलान्यास भएको थियो | नेपाल सरकार राष्ट्रिय पुन निर्माण प्राधिकरणद्वारा निर्माण कार्य सम्पन्न भएको थियो | वि. सं. २०७८ साल वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यूद्वारा धरहराको विधिवत रुपमा समुदघाटन भएको थियो |
नेपालको प्राचीन इतिहास, धार्मिक, सामाजिक,सूचना सम्प्रेषणका साथै सौन्दर्यको प्रतीकका रुपमा लिइन्छ । धरहरा निर्माण गर्नुको मुख्य उद्देश्य आपतकालमा बिगुल बजाएर सैन्य शक्तिलाई एकत्रित गर्नु रहेको थियो । अहिले धरहराको परिसर ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ।
तत्कालीन राजा राजेन्द्रविक्रम शाहबाट जनरल भीमसेन थापालाई वि. सं. १८९२ साल असोज १८ गते लालमोहरद्वारा “कमान्डर-इन चिफ” पद प्रदान गरिएको थियो | उनको कामको सम्मान गर्दै पहिले कमान्डर इन चिफ पद पाएका थापाद्वारा निर्मित धरहराको माथिल्लो भित्री भागमा बसेर कोतपर्वअघिसम्म पनि सैनिक बिगुल फुक्ने परम्परा थियो । ऐतिहासिक रणनैतिक दृष्टिकोणले अति नै महत्त्वपूर्ण मानिएको मानव निर्मित संरचना, जसले काठमाडौँ उपत्यकाको मात्र नभई सिङ्गो मुलुकबासीकै शान रहेको बुझिन्छ | राष्ट्रिय एवम् अन्तराष्ट्रिय जगतमा धरहरा शोभायमान रहेको पाइन्छ । थापाले नेपाली धर्म संस्कृतिको मूल्य मान्यतालाई ख्याल गरी दैवीप्रकोपबाट रक्षार्थ हेतु धरहराको माथिल्लो भित्री भागमा शिवलिङ्गको स्थापना गरेकाले ऐतिहासिक, धार्मिक, पुरातात्त्विक सम्पदाको जगेर्ना भएको पाइन्छ । धरहराबाट काठमाडौं उपत्यका सबैतिर नियाल्न सकिन्छ। गुजुम्म, बाक्ला, आलिसान विल्डिङ हेर्दा लाग्छ, उपत्यका सानो क्षेत्रफलमा पनि बस्ती धेरै नै बाक्लो भएको पाइन्छ । राष्ट्रको शान,रणनैतिक आधारको जग, आपतकालीन अवस्थामा सूचना सम्प्रेषण गरिने ऐतिहासिक थलो, पुरातात्त्विक सम्पदाको संरक्षण एवम् प्रवर्धन गर्नमा सरोकार पक्ष जिम्मेवार रहनु आवश्यक हुन्छ | आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याई आय आर्जनको स्रोत बढाउँन सकिन्छ | नेपाल र नेपालीको पहिचानसङ्ग जोडिएको कीर्तिस्तम्भको आवश्यक प्रचारप्रसार गरी सबैमा यसको महत्त्व बुझाउँनु आवश्यक हुन्छ |
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर




























