‘माझिहाडाम’: बहु–आवाजहरूको जीवित संगम:समीक्षा
वि.सं.२०८३ जेठ ३० शनिवार
shares
समकालीन नेपाली कविताका संवेदनशील, सजग र सांस्कृतिक चेतनाले सम्पन्न कवि हुन् रमेशचन्द्र अधिकारी। उहाँको काव्ययात्राले उपेक्षित समुदायको मौन इतिहास, सामाजिक पीडा र मानवीय संवेदनालाई साहित्यिक आवाज दिने गम्भीर दायित्व बोकेको छ। विशेषतः ‘माझिहाडाम’ जस्तो कृतिमार्फत उहाँले नेपाली कवितामा सन्थाल, मधेसी तथा सीमान्तकृत समुदायको अनुभूति, संघर्ष र सांस्कृतिक अस्तित्वलाई अत्यन्त इमानदार ढंगले प्रस्तुत गर्नुभएको छ।
उहाँको कविता सरल छ, तर सतहमा मात्र सरल छैन। त्यसभित्र गहन सामाजिक चेतना, प्रतीकात्मक शक्ति र मौन विद्रोहको आगो लुकेको हुन्छ। उहाँको लेखनमा भोगिएको जीवनको यथार्थ बोल्छ। यही कारण उहाँका कविता पाठकको मनमा तत्काल प्रभाव पार्नुका साथै लामो समयसम्म प्रतिध्वनित भइरहन्छन्।
अधिकारीको अर्को विशेषता उहाँको भाषिक साहस हो। उहाँले स्थानीय शब्द, भूगोल, लोकस्मृति र सांस्कृतिक विम्बलाई निर्भीक रूपमा कवितामा प्रतिष्ठित गर्नुभएको छ। यसले नेपाली कवितालाई अझ बहुलतामूलक, समावेशी र जीवन्त बनाएको छ। उहाँको काव्य चेतनामा प्रेम पनि छ, प्रतिरोध पनि छ, करुणा पनि छ, इतिहासप्रतिको प्रश्न पनि छ। समकालीन नेपाली साहित्यमा उहाँ एक आशालाग्दो र दीर्घकालीन प्रभाव छोड्ने कविका रूपमा स्थापित हुँदै जानुभएको छ।
अधिकारीको कवितासङ्ग्रह ‘माझिहाडाम’ उपेक्षित समुदायको मौन इतिहासमाथि लेखिएको काव्यिक घोषणापत्र हो। यो स्मृतिको दस्तावेज हो। सांस्कृतिक प्रतिरोधको स्वर हो। ।
‘माझिहाडाम’ पढ्दा अनुभूति हुन्छ चेतनाको गहिरो कम्पन हो। अधिकारी यहाँ मौन इतिहासका अनुवादक बनेका छन्। उनले ती आवाजहरूलाई भाषा दिएका छन्, जो राज्य, सत्ता र मुख्यधाराको साहित्यिक दृष्टिबाट लामो समयसम्म ओझेलमा परे। यही कारण ‘माझिहाडाम’ स्मृति, पहिचान र अस्तित्वको दार्शनिक दस्तावेज बनेर उभिन्छ।
शब्द त माध्यम मात्र हुन्। भाव त त्यसको प्रवाह हो। लय त आत्माको कम्पन हो। तर साँचो कविता त्यहाँ जन्मिन्छ, जहाँ मानव अनुभवले मौनतालाई पनि बोल्न बाध्य बनाउँछ। कविता तब महान् हुन्छ, जब त्यसले अदृश्य पीडालाई दृश्य बनाउँछ, साधारण जीवनभित्र लुकेको असाधारण सत्य उजागर गर्छ।यसका कविताहरूमा भूगोल छ, इतिहास छ, स्मृति छ, विद्रोह छ र सबैभन्दा बढी— मानवताको मौन धड्कन छ। यही धड्कन नै कविताको अन्तिम शक्ति हो।
साँचो कविता त्यही हो, जसले अदृश्य पीडालाई दृश्य बनाओस्। जसले मौनतालाई पनि बोल्न सिकाओस्। ‘माझिहाडाम’ यही अर्थमा महत्त्वपूर्ण छ।
सङ्ग्रहको शीर्षक “माझिहाडाम” स्वयंमा एउटा सांस्कृतिक उद्घोष हो। यो इतिहासको ध्वनि हो। सन्थाल समुदायको भाषिक र सांस्कृतिक संरचनासँग जोडिएको यो शब्दले नेतृत्व, सामुदायिक न्याय, परम्परा र सामूहिक स्मृतिको गहन अर्थ बोकेको छ। शीर्षक चयनमै अधिकारीको सांस्कृतिक संवेदनशीलता र वैचारिक स्पष्टता उजागर हुन्छ। उनले एउटा उपेक्षित समुदायको पहिचानलाई कविताको केन्द्रमा ल्याएका छन्।
“माझिहाडाम” शब्द उच्चारण गर्नेबित्तिकै पाठक एउटा फरक भूगोलमा प्रवेश गर्छ त्यो भूगोल, जुन नेपाली साहित्यमा धेरैपटक अनुपस्थित रह्यो। यहाँ सत्ता केन्द्रको चम्किलो भाषा छैन। यहाँ माटोको गन्ध छ। श्रमको पसिना छ। विस्थापनको पीडा छ र मौन समुदायको दबिएको आवाज छ।
यस अर्थमा “माझिहाडाम” शीर्षक आफैँमा प्रतिरोधको काव्यिक संकेत हो। यसले साहित्यलाई सौन्दर्यको अभ्यासबाट मुक्त गरेर सांस्कृतिक न्यायको यात्रातर्फ मोड्छ। यही कारण शीर्षक मात्रले पनि पाठकलाई गम्भीर सामाजिक–दार्शनिक संवादमा प्रवेश गराइदिन्छ।
यही सन्दर्भमा यस कृतिलाई विश्व साहित्यका केही महत्त्वपूर्ण कृतिसँग तुलना गर्न सकिन्छ। जसरी पाब्लो नेरुदाले लाटिन अमेरिकी जनताको पीडा, श्रम र प्रेमलाई कविता बनाए, जसरी मह्मूद दरविशले विस्थापन र पहिचानलाई शब्द दिए, जसरी लैंग्स्टन ह्युजले अश्वेत समुदायको मौन इतिहासलाई कवितामा उतारे,त्यसैगरी अधिकारीले सन्थाल र मधेसी समुदायको सांस्कृतिक स्मृतिलाई नेपाली कवितामा प्रतिष्ठित गर्ने प्रयास गरेका छन्।
उनको कविता कुनै कृत्रिम वैचारिक घोषणापत्र होइन।यो भोगिएको यथार्थ हो।माटोले बोलेको भाषा हो।
‘कर्कलाको पातमा खसेको भाग्य’ कविता यसको उत्कृष्ट उदाहरण हो। कविता अत्यन्त सरल छ। तर त्यसको प्रतीकात्मक गहिराइ विशाल छ।
हत्केलामा
जसोतसो जोगिएको थियो
केही थोपा पानी।
यी पङ्क्ति पढ्दा तत्काल जापानी हाइकु परम्पराको स्मरण हुन्छ। विशेषतः मात्सुओ बाशोको प्रकृतिमूलक सूक्ष्म संवेदनाको। तर रमेशचन्द्रको कविताले प्रकृतिभित्र वर्ग, नियति र असमानताको राजनीतिक अर्थ पनि खोज्छ।
कर्कलाको पात अस्थिर जीवनको सूक्ष्म रूपक हो। यसको सतहमा अडिएको पानीजस्तै मानव अस्तित्व पनि क्षणभंगुर र अनिश्चित छ। थोरै आशा बोकेको समुदायको नियति यही अस्थिरतामा झुन्डिएको छ। यही प्रतीकात्मक गहिराइले कवितालाई दार्शनिक र मार्मिक शक्ति प्रदान गर्छ।
अधिकारीको काव्यभाषा सरलताको आवरणमा गहन दार्शनिक संरचना बोकेको छ। उनी भाषा प्रदर्शन गर्दैनन्, बरु भाषा मार्फत जीवनको मौन सत्य उजागर गर्छन्। यही कारण उनको कविता सजिलै पढिन्छ तर सजिलै समाप्त हुँदैन। त्यो पाठकको चेतनामा लामो समयसम्म गुञ्जिरहन्छ। रमेशचन्द्रको विशेषता के हो भने, उनी विद्रोह लेख्दैनन् विद्रोहलाई मानवीय संवेदनासँग गाँस्छन्। उनका कवितामा आक्रोश छ, तर त्यो आक्रोश करुणाबाट छुट्टिएको छैन।
‘भीमसेनको पसिना’ यसैको उदाहरण हो। यहाँ धार्मिक प्रतीकलाई सत्ता र भ्रष्टाचारको आलोचनात्मक ऐनामा रूपान्तरण गरिएको छ। कविता नैतिक विघटनको दार्शनिक टिप्पणी हो। यसमा देखिने तीव्रता एलेन गिन्सबर्गको प्रतिरोधी चेतनासँग तुलना गर्न सकिन्छ, तर रमेशचन्द्रको स्वर अधिक संयमित छ। उनको विद्रोह चिच्याउँदैन।तर भित्रभित्रै पोल्छ।
भीमसेनको पसिनाले भिजेर
भीमसिने बोकाहरू
आफ्नै मुतको गन्ध सुँघ्दै
थुतुनो उचाल्ने गर्छन्
र देखाउने गर्छन्
दाँतमा टाँसिएको सत्ताको कामवासना ।
(भीमसेनको पसिना)
‘भीमसेनको पसिना’ कविता सतही रूपमा हेर्दा एउटा धार्मिक प्रतीकको विघटन जस्तो लाग्छ, तर भित्री तहमा यो सत्ता–संरचनाको घोर व्यङ्ग्यात्मक विश्लेषण हो। यहाँ भीमसेन परम्परागत पवित्रता, इतिहास र सांस्कृतिक विश्वासको प्रतीक हो, तर जब पसिना बग्छ, त्यो देवत्वको मानवीकरण होइन, बरु देवत्वभित्रको अस्थिरता र विघटनको संकेत बन्छ। कविले देवत्वलाई आकाशबाट उतारेर सडकको यथार्थमा राख्छन्, जहाँ त्यो अब पूजा होइन, प्रश्न बन्छ।
“भीमसिने बोकाहरू” सत्ता वरिपरि घुम्ने अन्धभक्त, अवसरवादी र विचारहीन अनुयायीहरूको व्यङ्ग्यात्मक प्रतिनिधित्व हुन्। यहाँ “बोका” चेतनाहीन अनुकरणको राजनीतिक रूपक हो। उनीहरू आफ्नै “मुतको गन्ध सुँघ्दै” भन्ने अत्यन्त कठोर बिम्बमार्फत कविले आत्म–उत्पादित भ्रष्टतामा रमाउने समाजको चित्र कोरेका छन् जहाँ पतन नै पहिचान बन्छ, तर त्यही पतनलाई गौरव मानिन्छ।
“थुतुनो उचाल्ने” र “सत्ताको कामवासना” जस्ता पंक्तिहरूले सत्ता जैविक लोभ र यौनिक शक्ति–भोकको रूपक हो भन्ने देखाउँछन्। यहाँ सत्ता नैतिक होइन, पशुवत् आकांक्षाको प्रदर्शन हो। दाँतमा टाँसिएको कामवासना भनेको शक्ति उपभोगको अवशेष हो जुन सफा हुँदैन, केवल लुकाइन्छ।
पृथ्वीनारायण
तिमी हेर्न सक्छौ/सक्दैनौ
तिम्रै चोरीऔँलाले देखाइरहेको स्थानबाट
आजभोलि तिम्रै रैतीहरूले दगुर्ने गरेको
सत्ताको लिगलिगे दौड ?
(लिगलिगे दौड)
‘लिगलिगे दौड’ कवितामा पृथ्वीनारायण वर्तमान सत्ताको विडम्बनात्मक साक्षी बन्छन्। कवि सोध्छन् के इतिहासले आफ्नै विडम्बना देख्न सक्छ ? “चोरीऔँला” मार्फत देखाइएको दिशा अब मार्गदर्शन होइन, भ्रम हो। रैतीहरू अब स्वतन्त्र नागरिक होइनन्, सत्ताको वरिपरि दौडिने प्रशिक्षित शरीर बनेका छन्। यो दौड विकास वा प्रगति होइन, अवसरको अनन्त प्रतिस्पर्धा हो। यहाँ सत्ता स्थिर छैन, तर निरन्तर भागिरहेको खेल हो। व्यङ्ग्य यही हो जसले राज्य बनायो, आज उसकै नाममा राज्यको अर्थ हराइरहेको छ। इतिहास स्वयं आफ्नै व्यङ्ग्यमा फसेको छ।कवितामा सत्ता वरिपरि घुम्ने मानसिकताको सूक्ष्म मनोवैज्ञानिक चित्रण छ। यो राजनीतिक आलोचना मात्र होइन, शक्ति–संरचनाको मानव मनोविज्ञान हो। यहाँ कविता इतिहासको वर्णन होइन, इतिहासमाथिको दार्शनिक प्रश्न हो।
नेपालको साहित्यिक परिदृश्यमा लामो समयसम्म एक प्रकारको केन्द्र–परिधि संरचना हावी रह्यो। राज्यले जसरी इतिहास, भाषा र स्मृतिलाई एकीकृत राष्ट्रिय कथामा बाँध्ने प्रयास गर्यो, त्यसैको छायाँ साहित्यमा पनि पर्यो। परिणामस्वरूप आदिवासी, दलित, मधेसी र अन्य सीमान्तकृत समुदायका अनुभवहरू प्रायः “विषय” मात्र बने, “स्वर” बन्न सकेनन्। उनीहरूको जीवनको अनुभूति साहित्यको केन्द्रमा आउन सकेन। यही ऐतिहासिक रिक्तताको सन्दर्भमा ‘माझिहाडाम’ एउटा महत्वपूर्ण हस्तक्षेप हो।
‘आदिम सभ्यता’ जस्ता कवितामा कविले किराँत, मधेसी र स्थानीय सांस्कृतिक चेतनालाई त्यससँग आत्मीय संवाद गरेका छन्। यहाँ कवि बाह्य पर्यवेक्षक होइनन् उनी भित्री सहभागी हुन्। यसले उनलाई “वर्णनकर्ता” बाट “सांस्कृतिक साक्षी” बनाउँछ।
मधेसमै जन्मिएर, हुर्किए पनि
औँल्याइरहेछौँ पुर्ख्यौली थलो
झुकेर चढाइरहेछौँ श्रद्धा ।
(आदिम सभ्यता)
साँझ परेपछि
एक मजदुर बाबुले
बिहेमा छोरीसँगै दिने दाहेजबाहेक केही सोच्न सक्दैन ।
(सधैँ उदाउने घाम)
गीरतनी
तपाईँ भन्नुहुन्छ राजनीतिले सबै ठीक गर्छ
मलाई त लाज छोप्न पनि धौधौ छ
मेरो देशको राजनीतिले
छोप्न मिल्छ कि मिल्दैन औरतको लाज ?
(उत्तर खोजिरहेकी चानो)
“मेरो देशको राजनीतिले छोप्न मिल्छ कि मिल्दैन औरतको लाज ?” जस्ता पङ्क्तिहरू राज्यीय विकास–भाषणमाथिको दार्शनिक प्रश्न हुन्। यस सन्दर्भमा यसको सामाजिक यथार्थवाद फैज अहमद फैजको मानवीय प्रतिबद्धतासँग तुलना गर्न सकिन्छ, जहाँ कविता पीडित वर्गको नैतिक आवाज बन्छ।
तर माझिहाडाम सामाजिक–राजनीतिक दस्तावेज मात्र होइन। यसमा गहिरो भावनात्मक तह पनि छ, जहाँ स्मृति, विछोड र अधुरोपन निरन्तर उपस्थित छन्। ‘भिडन्त नभएको रात’ जस्तो कविता युद्ध र प्रेमलाई एउटै अस्तित्वमा राखेर मानव चेतनाको द्वैधता उजागर गर्छ। यहाँ क्रान्ति व्यक्तिगत भावनाबाट अलग छैन; बरु प्रेम नै राजनीतिक स्मृतिको रूप लिन्छ।
प्रकृतिको प्रयोग पनि यस सङ्ग्रहमा अत्यन्त सूक्ष्म छ। बतास, वर्षा, खोला, जून र चराहरू केवल दृश्य होइनन्, चेतनाका जीवित प्रतीक हुन्। ‘चरा र नानीहरू’ कवितामा बन्दुक र चरा सँगसँगै उपस्थित हुनु बाल मनोविज्ञान र हिंसात्मक समाजको गहिरो द्वन्द्व हो। “दुवै रोज्छन् नानीहरू” भन्ने पङ्क्तिले भविष्यको नैतिक संकटलाई अत्यन्त सरल तर शक्तिशाली ढंगले प्रस्तुत गर्छ, जसले विस्वावा सिम्बोर्स्काको सूक्ष्म दार्शनिक दृष्टि सम्झाउँछ, जहाँ साधारण दृश्यभित्र असाधारण प्रश्न लुकेको हुन्छ।
माझिहाडाम सीमान्तकृत अनुभवहरूको सौन्दर्यशास्त्र हो। यसले नेपाली कवितालाई केन्द्रबाट परिधितर्फ सार्ने प्रयास गर्छ। यसमा कविता अभिव्यक्ति मात्र होइन, पुनर्लेखन हो इतिहासको, स्मृतिको र पहिचानको। यही कारण यो सङ्ग्रह साहित्यिक मात्र नभई दार्शनिक–सांस्कृतिक हस्तक्षेप पनि हो।
माझिहाडाम’ को अर्को अत्यन्त महत्त्वपूर्ण पक्ष यसको भाषिक बहुलता हो। यहाँ भाषा सांस्कृतिक स्मृतिको वाहक बनेको छ। मधेसी, सन्थाली र स्थानीय शब्दहरूको निर्भीक प्रयोगले कवितालाई कृत्रिम साहित्यिकता होइन, जीवनको प्रत्यक्ष स्पन्दन प्रदान गर्छ। लामो समयदेखि नेपाली साहित्यिक वृत्तमा मानक भाषाको एकरूप आग्रह हावी रहँदा, यस्तो भाषिक विविधताको प्रयोग आफैँमा सौन्दर्य होइन, प्रतिरोध हो। यो प्रतिरोध मौन, तर गहिरो सांस्कृतिक हस्तक्षेप हो। यहाँ भाषा पहिचानको राजनीति बन्छ। अस्तित्वको घोषणा बन्छ।
अधिकारीको कवितामा विद्रोह चिच्याएर आउँदैन, तर व्यङ्ग्यको सूक्ष्म धार बनेर शरीरभित्र पस्छ। यही उनको सौन्दर्य पनि हो र असहजता पनि। विद्रोह जब कोमल भाषामा आउँछ, तब त्यो तत्कालको विस्फोट होइन, दीर्घकालीन घाउ बन्छ। पाठक हाँस्छ, तर त्यो हाँसोभित्र असहजता लुकेको हुन्छ। यही कारण उनका कविता राजनीतिक भाषणजस्ता होइनन् ती सत्ता–मनोविज्ञानका सूक्ष्म विच्छेदन हुन्।
‘भीमसेनको पसिना’ मा देखिने प्रतीकात्मक विकृति सत्ता–नैतिकताको विघटन हो। देवत्व, इतिहास र अन्धभक्ति एकै ठाउँमा राखेर कविले देखाउँछन्। शक्ति सधैँ पवित्र हुँदैन, त्यो प्रायः पाखण्डको मेकअप लगाएर बाँच्दछ। “दाँतमा टाँसिएको सत्ताको कामवासना” यो राजनीतिक शरीरको अनावरण हो। यहाँ दर्शन पनि छ शक्ति जति पूजिन्छ, त्यति नै सड्छ।
‘माझिहाडाम’ उत्तर–औपनिवेशिक साहित्यिक चेतनासँग जोडिन्छ। जसरी अफ्रिकी साहित्यकारहरूले औपनिवेशिक भाषिक संरचनालाई चुनौती दिँदै आफ्नै स्थानीय बोली, मिथक र सांस्कृतिक संकेतहरूलाई साहित्यमा स्थापित गरे, त्यसैगरी अधिकारीले पनि नेपाली साहित्यको केन्द्र–परिधि संरचनालाई प्रश्न गर्छन्। उनी भाषा प्रयोगमार्फत सत्ता संरचनाको मौन आलोचना गर्छन्।
यद्यपि यो सङ्ग्रह पूर्णतः निर्दोष छैन। केही कवितामा अर्थको अस्पष्टता देखिन्छ। कतिपय ठाउँमा कविता रिपोर्ताज शैलीतर्फ झुकिएको अनुभूति हुन्छ, जसले काव्यिक घनत्वलाई केही कमजोर बनाउँछ। तर यी सीमाहरूभन्दा ठूलो कुरा यसको इमानदार अभिव्यक्ति हो। यहाँ कुनै बनावटी बौद्धिकता छैन। कुनै फैशनेबल भावुकता छैन। अनुभूतिलाई सजाउने होइन, जस्ताको तस्तै प्रस्तुत गर्ने साहस
‘म बाँचेकी भए’ जस्तो कविता यस सङ्ग्रहको अस्तित्ववादी आयाम हो।
म बाँचेकी भए
मेरा रहरहरूले उडान भर्थ/भर्थेनन् ?
यी पङ्क्तिमा जीवनप्रतिको गहिरो द्विविधा, मौन पीडा र अस्तित्वको प्रश्न उपस्थित छ। यहाँको संवेदना सिल्भिया प्लाथको आन्तरिक बेचैनीसँग तुलना गर्न सकिन्छ, तर रमेशचन्द्रको दृष्टि आत्मविनाशतर्फ होइन, सामाजिक संरचनाले निर्माण गरेको दबाबतर्फ बढी केन्द्रित छ।प्रदेश नामकरणको बहस प्रशासनिक निर्णयको विवाद होइन, यो स्मृति, सत्ता र पहिचानबीचको दार्शनिक संघर्ष हो। “कोशी” नाममाथिको असहमति पनि यही गहिरो सांस्कृतिक असन्तुलनको संकेत हो। एक पक्षले यसलाई ऐतिहासिक र भौगोलिक एकता भन्छ, अर्को पक्षले यसमा आफ्नै सभ्यताको अदृश्यीकरण देख्छ। यही द्वन्द्वमा भाषा केवल शब्द रहँदैन, शक्ति–संरचनाको औजार बन्छ।
यही सन्दर्भमा ‘माझिहाडाम’ भित्रको “आदिम सभ्यता” कविता वैकल्पिक इतिहास–बोध हो। यसले राज्यद्वारा परिभाषित एकल पहिचानको कथनलाई भत्काउने प्रयास गर्छ। कविता भन्छ सभ्यता कुनै केन्द्रबाट थोपिएको संरचना होइन, यो बहु–आवाजहरूको जीवित संगम हो। जब कवि किराँत, मधेसी र स्थानीय स्मृतिलाई एउटै काव्यिक स्पन्दनमा ल्याउँछन्, तब “समेट्ने” र “समेटिन नहुने” भन्ने राजनीतिक तर्क स्वयं कमजोर हुन्छ।
सुब्बे फाब्बे होस्
दुःख बिराम नहोस् भनी
भाकी आयौँ सगुने, बूढीबजु
अनि किराँती देउ–देवीहरू ।
मधेसमै जन्मिएर, हुर्किए पनि
औँल्याइरहेछौँ पुर्ख्यौली थलो
झुकेर चढाइरहेछौँ श्रद्धा ।
(आदिम सभ्यता)
यहाँ कविता तर्कको प्रतिवाद होइन, तर्कको पुनर्लेखन हो। सत्ता “कोशी” नामलाई एकीकृत पहिचानको प्रतीक बनाउँछ, तर कविता त्यो एकीकृतताको भित्र लुकेको मौन बहुलता देखाउँछ। यही विडम्बना हो— राज्य नामकरण गर्छ, तर नामभित्रको जीवन सुन्न सक्दैन।
समग्रमा ‘माझिहाडाम’ समकालीन नेपाली कवितामा एउटा सशक्त साहित्यिक हस्तक्षेप हो। यो कविता इतिहास पनि हो, प्रतिरोध पनि हो, स्मृति पनि हो र पहिचान पनि हो।




























