उत्तराधिकारीहरूलाई सुझाव : कांग्रेस फुटाउने होइन, जोड्ने हो
वि.सं.२०८३ साउन १७ आइतवार
shares
प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण र ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीति आज ४४ वर्षपछि पनि उत्तिकै सान्दर्भिक छ ।
–सृजना बुर्लाकोटी
नेपाली राजनीतिको आकाशमा जब–जब संकटका काला बादलहरू मडारिन्छन, तब–तब नेपाली कांग्रेसले देशलाई सही दिशा निर्देश गर्ने प्रकाश–स्तम्भका रूपमा काम गरेको छ । ०७ सालको क्रान्ति होस् वा ०४६ सालको जनआन्दोलन, या ०६२।०६३ को ऐतिहासिक परिवर्तन होस, हरेक मोडमा कांग्रेसको रुखले मुलुकलाई न्याय र लोकतन्त्रको शीतल छहारी प्रदान गरेकै हो । कांग्रेसको यो विशाल वृक्ष जति बलियो छ, यसका जराहरू त्यत्तिकै गहिरा र आदरणीय छन् । बीपी कोइराला, सर्वमान्य नेता गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, र त्यागी नेता महेन्द्रनारायण निधि जस्ता मुर्धन्य व्यक्तित्वहरूको रगत र पसिनाले यो जरा सिञ्चित छ ।
तर, आज इतिहासको एउटा यस्तो संवेदनशील घडी आइपुगेको छ, जहाँ कांग्रेस आफैं आन्तरिक संकटको भुमरीमा फसेको छ । विशेष महाधिवेशनपछि विकसित घटनाक्रम, निर्वाचन आयोगको निर्णय, सर्वोच्च अदालतको आदेश र त्यसपछि संस्थापन इतर समूह (हाल पूर्णबहादुर खड्काको नेतृत्वमा) भित्र भइरहेका नयाँ पार्टी गठनसम्मका आन्तरिक रणनीतिहरूले हरेक लोकतन्त्रवादीको मन अमिलो बनाएको छ ।
साउनको अन्तिम साताका लागि तय गरिएको राष्ट्रिय भेला र देशभरका १६५ निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि परिचालन गर्ने तयारीले कतै हामी विभाजनको आत्मघाती बाटोतर्फ त अग्रसर भइरहेका छैनौँ भन्ने गम्भीर प्रश्न खडा गरेको छ ।
चुनदेवीस्थित सम्पर्क कार्यालयदेखि गोल्फुटारस्थित खड्का निवासमा तीन दिनदेखि जारी इतरपक्षका शीर्ष नेताहरूको बैठकमा नयाँ पार्टी गठन गरेर जानुपर्छ भन्ने रणनीति र अडानमा नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा.प्रकाशशरण महत, एनपी साउद, रमेश लेखकलगायत पुगेको चर्चाले आम कार्यकर्तामा गम्भीर चिन्ता थपिदिएको छ ।
इतिहासले हरेक पुस्तालाई कुनै न कुनै परीक्षा दिन्छ । कसैले त्यो परीक्षा जितेर आफ्नो नाम इतिहासमा स्वर्ण अक्षरले लेखाउँछन्, कसैले आफ्नै कमजोरीका कारण इतिहासको एउटा दुःखद अध्याय बन्छन् । आज नेपाली कांग्रेस पनि यस्तै एउटा निर्णायक मोडमा उभिएको छ । प्रश्न केवल नेतृत्वको छैन, प्रश्न एउटा विचार, एउटा आन्दोलन, एउटा विरासत र एउटा राष्ट्रिय जिम्मेवारीको हो ।
इतिहासको ऐना र राष्ट्रिय मेलमिलापको मर्म
हामीले इतिहासका ती पानाहरू पल्टाउनै पर्छ, जसले हामीलाई मार्गनिर्देशन गर्छन् । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएर बीपी कोइरालालगायतका नेताहरूलाई जेल हाले । राजनीतिक दलहरूमाथि प्रतिबन्ध मात्र लागेन, नेताहरूमाथि देशद्रोहको मुद्दासमेत लगाइयो । २०२५ कात्तिक १४ गते जेलमुक्त भएपछि नेताहरू भारत निर्वासनमा गए ।
त्यसको आठ वर्षपछि अर्थात २०३३ साल पुस १६ गते बीपी, गणेशमान सिंह, शैलजा आचार्य र खुमबहादुर खड्कालगायतका नेताहरू आफूमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै, राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरू भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए । दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन दृढ संकल्पित ती कांग्रेस नेताहरूले जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
बीपीले भन्नुभएको थियो, ‘देश रहे मात्र राजनीति रहन्छ ।’ व्यक्तिगत पीडा र प्रतिशोधभन्दा राष्ट्रिय हित ठूलो हो भन्ने सोचेरै उनले राजाले फाँसी दिनसक्ने अवस्था हुँदाहुँदै यो साहसिक निर्णय लिएका थिए । ०४६ सालमा त्यही मेलमिलापकै जगमा गणेशमान सिंहको नेतृत्वमा कम्युनिस्ट पार्टाीहरू समेतलाई समेटेर जनआन्दोलन सफल पारियो ।
प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण र ‘राष्ट्रिय एकता तथा मेलमिलाप’को नीति आज ४४ वर्षपछि पनि उत्तिकै सान्दर्भिक छ ।
आज प्रश्न उठ्छ : जुन कांग्रेसका संस्थापकहरूले देश र लोकतन्त्र बचाउन कट्टर दुश्मन र विपरित विचारधारा भएकाहरूसँग त मेलमिलाप गर्न सक्थे भने, आजका कांग्रेसजन आफ्नै हितैषी, ऊर्जावान् र क्रान्तिकारी कार्यकर्ता (गगन थापा र विश्वप्रकाश शर्मा) सँग किन मिल्न सकिरहेका छैनन् ? राजा महेन्द्रसँग संवादको ढोका बन्द नगर्ने बीपीका उत्तराधिकारीहरू आज आफ्नै घरभित्रका सहयात्रीसँग संवाद र सहमति गर्न किन हिचकिचाइरहेका छन् ? यो प्रश्न इतिहासले सिंगो नेतृत्वलाई सोधिरहेको छ ।
लिगेसीको कसौती र वीर योद्धाका सुपुत्रहरूको दायित्व
अहिलेको इतर समूहको बुझाइमा जैविक र वैचारिक कांग्रेसका नेताहरू एक ठाउँमा छन् । कांग्रेसका संस्थापकहरू बीपी कोइरालाको लिगेसी पुत्र शशांक कोइराला, गणेशमान सिंहको लिगेसी पुत्र प्रकाशमान सिंह, महेन्द्रनारायण निधिको लिगेसी पुत्र विमलेन्द्र निधि, किसुनजी (कृष्णप्रसाद भट्टराई) को लिगेसी नेता पूर्णबहादुर खड्का र शेरबहादुर देउवाको लिगेसी प्रकाशशरण महत, एनपी साउद, रमेश लेखिकसँग छ । नेता कृष्णप्रसाद सिटौलाले खड्का निवासको बैठकमा यी नेताहरूसँग ‘ब्रान्ड’ रहेको र सो ब्रान्डको निर्णयमा आफ्नो सहमति रहेको र आफूलाई कुनै पद नचाहिएको बताउनुभएको थियो ।
तर, के यो ब्रान्ड पार्टी विभाजनका लागि वा नयाँ पार्टी खोल्ने मनस्थितिका लागि प्रयोग हुनु उचित हो ? बीपीका सुपुत्र शशांक कोइराला र भतिजा शेखर कोइराला जस्ता शालिन व्यक्तित्वहरू कांग्रेस विभाजनको मतियार वा फड्के किनाराको साक्षी मात्र बन्न मिल्छ ? उनीहरूलाई इतिहासले केवल एउटा पद वा वंश दिएको छैन् । एउटा गम्भीर नैतिक जिम्मेवारी पनि दिएको छ । इतिहासले उहाँहरूलाई विभाजनको डिलमा उभिएको होइन, बरु एकताको सुत्रधार बनेको हेर्न चाहन्छ ।
नेल्सन मन्डेलाले भन्नुभएको थियो, ‘यदि तपाईं आफ्नो शत्रुसँग शान्ति बनाउन चाहनुहुन्छ भने, तपाईंले उनीसँगै काम गर्नुपर्छ । तब मात्र उनी तपाईंको साझेदार बन्छन् । यहाँ त शत्रु होइन, आफ्नै पार्टीका भाइबन्धु र भविष्यका कर्णधारहरूसँग सहकार्य गर्नुछ । १४औँ महाधिवेशनबाट निर्वाचित १११ जना केन्द्रीय सदस्यहरूको पुनस्र्थापना वा कार्यविधिको असन्तुष्टिलाई आन्तरिक संवाद र राजनीतिक परिपक्वताबाट हल गर्न सकिन्छ, तर यसैलाई प्रतिष्ठाको लडाइँ बनाएर विभाजनको बाटो रोज्नु आत्मघाती कदम बाहेक केही हुन सक्दैन ।
कानुनी निरुपण र गगन थापाको नेतृत्व स्वीकारोक्ति
नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णयलाई गत वैशाख ४ गते सर्वोच्च अदालतको संयुक्त इजलास (न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौला) ले पनि सदर गरिसकेको छ । सुरुमा देउवा र त्यसपछि कार्यवाहक सभापति रहेका पूर्णबहादुर खड्काले फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्चमा पुनरावलोकनको माग लिएर निवेदन दिए पनि न्यायिक र कानुनी रूपमा यो विषय स्थापित भइसकेको छ । अब यसलाई प्रतिष्ठाको विषय बनाएर निरन्तर मुद्दा–मामिलामा अल्झिरहनुले पार्टीलाई थप कमजोर मात्र बनाउनेछ ।
लोकतन्त्रको सबैभन्दा ठूलो सुन्दरता अदालतको ढोका ढकढक्याउनु मात्र होइन, आवश्यक पर्दा आफ्नै मनको ढोका पनि खोल्नु हो । कानुनी अधिकारभन्दा माथि राजनीतिक परिपक्वता हुन्छ । गगन थापा र उहाँको टिमले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व सम्हाल्नु कुनै दुर्घटना होइन, बरु यो पार्टीभित्र लामो समयदेखि प्रतीक्षित ‘पुस्तान्तरण’ र ‘रूपान्तरण’को प्रतिविम्ब हो ।
आज देशमा जेनजी आन्दोलन र युवाहरूको नयाँ लहर चलिरहेको बेला, पुरानै शैली र ढर्राबाट कांग्रेस अगाडि बढ्न सक्दैन । युवा पुस्ताको ढुकढुकी बनेका गगन थापाको नेतृत्वलाई सहज रूपमा स्वीकार गर्नु र उहाँको ऊर्जालाई पुराना नेताहरूको अनुभवसँग जोड्नु नै आजको बुद्धिमता हो । विशेष महाधिवेशन स्वीकार्नु भनेको आत्मसमर्पण गर्नु होइन, त्यो लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्नु हो । लोकतन्त्रको सुन्दरता नै यही हो कि नेतृत्व परिवर्तन हुन्छ, तर संस्था बाँचिरहन्छ ।
नेता प्रकाशमान सिंहले मेलमिलाप दिवसको सन्दर्भमा सामाजिक सञ्जालमा लेख्नुभएझैँ–‘संविधानको सफल कार्यान्वयन, देशको विकास, सुदृढ अर्थतन्त्रको निर्माण, जनताको जीवनमा सकारात्मक परिवर्तन आजको राजनीतिको मूल कार्यभार हो । यसलाई पूरा गर्न राष्ट्रिय रूपमा र अन्तर पार्टी विवाद तथा मतभेदलाई अन्त्य गर्न जरूरी छ । परिवर्तनका बाहक शक्ति राजनीतिक दलहरूका बीचमा राष्ट्रिय मुद्दामा मेलमिलापको सान्दर्भिकता सरकार सिर्जित अहिलेको प्रतिकूल राजनीतिक परिस्थितिमा थप टड्कारो देखिन्छ।’
अबको बाटो ः रूपान्तरित र एकताबद्ध कांग्रेस
इतिहासले देखाएको छ–फुटेका कांग्रेसहरू कहिल्यै बलिया भएका छैनन् । तर एकताबद्ध कांग्रेसले हरेक कठिन मोडमा राष्ट्रलाई निकास दिएको छ । इतर समूहले आगामी राष्ट्रिय भेला र रणनीतिक दबाबलाई पार्टी विभाजनको अस्त्र होइन, बरु पार्टीभित्र नीतिगत बहस र आन्तरिक एकताको माध्यम बनाउनुपर्छ ।
आज देश पनि सहज अवस्थामा छैन । युवाहरू विदेशिइरहेका छन् । अर्थतन्त्र दबाबमा छ र जनतामा राजनीतिक दलप्रति निराशा बढेको छ । यस्तो बेला कांग्रेस आफैं विभाजित भयो भने त्यसले केवल एउटा पार्टीलाई होइन, सम्पूर्ण लोकतान्त्रिक आन्दोलन र समृद्धिको जगलाई कमजोर बनाउनेछ ।
डा.शशांक कोइराला र प्रकाशमान सिंह जस्ता अग्रजहरूलाई आज कार्यकर्ताको विशेष प्रश्न छ–आफ्ना पिताहरू बीपी र गणेशमानले जस्तै संकटको घडीमा व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर आफ्नै पार्टीभित्र संवादको पुल बनाउने जिम्मेवारी तपाईंहरूको होइन र ? विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला र अन्य सबै नेताहरूको अनुभवको सबैभन्दा ठूलो उपयोग नयाँ पार्टी खोल्नु होइन, कांग्रेसलाई फेरि एउटै छानामुनि उभ्याउनु हो ।
राजनीतिमा सबैभन्दा ठूलो विजय चुनाव वा पद जित्नु मात्र होइन, कहिलेकाहिं आफ्नो अहंकारमाथि विजय हासिल गर्नु पनि हुन्छ । बीपीले जीवनभर एउटा सन्देश दिए–‘राष्ट्र पहिले, व्यक्ति पछि ।’ आज त्यसलाई अझ विस्तार गरेर भन्नुपर्ने बेला आएको छ–‘कांग्रेस पहिले, गुट पछि । विचार पहिले, पद पछि । इतिहास पहिले, अहंकार पछि ।’
आउनुहोस, इतिहासका गल्तीहरूबाट सिकौँ । बीपीको नाम जपेर कांग्रेस नफुटाऔँ, बीपीको विचार अपनाएर कांग्रेस जोडौँ। गणेशमानको साहस सम्झेर गुट होइन, संगठन बलियो बनाऔँ । विशेष महाधिवेशनबाट आएको गगन थापाको नेतृत्वलाई लोकतान्त्रिक यथार्थका रूपमा स्वीकार गर्दै अनुभवी नेताहरूले मार्गदर्शकको भूमिका खेलौँ । अनुभवी नेताहरूको मार्गदर्शन र नयाँ पुस्ताको ऊर्जा एकै ठाउँमा उभियो भने मात्र रुखको जरा जोगिनेछ । किनभने बलियो कांग्रेस नै बलियो लोकतन्त्रको आधार हो, र बलियो लोकतन्त्र नै समृद्ध नेपालको सबैभन्दा ठूलो आशा हो । (लेखक तारकेश्वर नगरपालिकाकी उप–प्रमुख तथा नेपाली कांग्रेसकी क्षेत्रीय सचिव हुन्)





























