एमालेको पुर्नगठन बहशः ‘हात्ती आयो फुस्सा’

231
shares

 

कुनै पनि राजनीतिक दल एकै व्यक्तिका कारण बलियो हुँदैन, न त एकै व्यक्तिका कारण कमजोर हुन्छ। दललाई बलियो वा कमजोर बनाउने कुरा नेतृत्वको शैली र नेतृत्वलाई घेरेर बस्ने पात्रहरूको चरित्रले निर्धारण गर्छ। नेता निरंकुश बन्न खोजे पनि वरिपरि सत्य बोल्ने सहकर्मी छन् भने संस्था बाँच्छ। तर वरिपरि प्रश्न नगर्ने, आदेश पर्खिने र पदको अपेक्षामा मौन बस्नेहरू मात्र भए संस्था विस्तारै व्यक्तिको छायामा विलीन हुन्छ।

नेकपा एमालेको पछिल्लो दुई दशकको राजनीतिक यात्राले यही यथार्थ उजागर गरेको छ। केपी शर्मा ओली लगातार तीन कार्यकाल अध्यक्ष रहे। त्यो अवधिमा पार्टीभित्र नीतिगत बहसभन्दा आदेश पालना गर्ने संस्कृतिले स्थान पायो। निर्णयहरू संस्थागतभन्दा नेतृत्वकेन्द्रित भए, तर त्यसलाई चुनौती दिने साहस गर्ने नेता बिरलै देखिए।

ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेललगायतका नेताहरूलाई पार्टीको दोस्रो तहका शक्तिशाली अनुहार मानिन्थ्यो। तर निर्णायक क्षणहरूमा उनीहरू स्वतन्त्र राजनीतिक व्यक्तित्वका रूपमा होइन, अध्यक्षको इच्छाको कार्यान्वयन गर्ने पात्रका रूपमा देखिए। यही कारण आज उनीहरूले उठाएको ‘पुनर्गठन’को नारा धेरैका लागि स्वाभाविकभन्दा पनि ढिलो जागेको विवेकजस्तो देखिन्छ, अथवा पदको बार्गेनिङजस्तो।

यदि पार्टी वास्तवमै व्यक्तिकेन्द्रित बन्दै थियो भने त्यो देख्न उनीहरूलाई यति धेरै वर्ष किन लाग्यो? यदि संस्थागत निर्णयको अभाव थियो भने उनीहरूले बैठकमै किन आवाज उठाएनन्? यदि अध्यक्षको शैली गलत थियो भने त्यसको प्रतिवाद गर्ने नैतिक साहस किन देखाएनन्?

पूर्वीय दर्शनले धेरै पहिल्यै यस्तो प्रवृत्तिबारे उल्लेख गरेको थियो। कौटिल्यले अर्थशास्त्र मा लेखेका छन्— “राजालाई सबैभन्दा ठूलो खतरा शत्रुबाट होइन, सत्य बोल्न छाडेका आफ्नै दरबारबाट हुन्छ।” दरबार चापलुसले भरिएपछि राजाले आफूलाई अजेय ठान्छ, तर राज्यभित्रै पतनको बीउ उम्रिसकेको हुन्छ।

बौद्ध दर्शनले मोह लाई बन्धनको मूल मान्छ। पदको मोह, अवसरको मोह र उत्तराधिकारी बन्ने मोहले मानिसलाई सत्य बोल्नबाट रोक्छ। त्यही मोहले नेता मात्र होइन, नेताका वरिपरिका मानिसलाई पनि कैदी बनाउँछ। उनीहरू संस्था बचाउनेभन्दा आफ्नो राजनीतिक भविष्य जोगाउने हिसाब गर्न थाल्छन्। एमालेको पछिल्लो महाधिवेशनमा विष्णु पौडेल र शंकर पोखरेलले यो पथ नअँगालेका भए प्रतिनिधिसभाको निर्वाचनमा एमालेको अवस्था यस्तो हुने थिएन।

राजनीतिमा खजान्चीको भूमिका मालिकको सम्पत्ति सुरक्षित राख्ने हो, नीति निर्धारण गर्ने होइन। तर जब वरिष्ठ नेताहरूको काम पनि नेतृत्वका निर्णयको औचित्य पुष्टि गर्ने, आलोचनाको प्रतिवाद गर्ने र पदअनुसार निष्ठा बदल्ने मात्र हुन्छ, तब उनीहरू नेता होइन, राजनीतिक खजान्चीमा रूपान्तरित हुन्छन्। उनीहरूको मूल्य विचारले होइन, वफादारीले निर्धारण गर्न थाल्छ। त्यसको ज्वलन्त उदाहरण विष्णु र शंकर हुन्।

आज एमालेभित्र पुनर्गठनको बहस चलिरहेको छ। तर पुनर्गठनको पहिलो सर्त नेतृत्व परिवर्तन मात्र होइन, चेतनाको परिवर्तन पनि हो। किनभने व्यक्तिपूजाको संस्कृति बोकेर नयाँ नेतृत्व ल्याइयो भने नयाँ अध्यक्षको वरिपरि पनि उही पुराना अनुहार, उही पुरानो मौनता र उही पुरानो चाकडी संस्कृतिले स्थान लिनेछ।

कन्फ्युसियसले भनेका छन्— “गल्ती देखेर पनि नसच्याउनु अर्को गल्ती हो।” यही वाक्य आज एमालेको दोस्रो पुस्ताका नेताहरूलाई पनि उत्तिकै लागू हुन्छ। किनभने लामो समयसम्म मौन बसेर प्रणालीलाई बलियो बनाउनेहरू आज त्यही प्रणालीका आलोचक बनेका छन्।

राजनीतिक इतिहासले एउटा कुरा बारम्बार प्रमाणित गरेको छ— निरंकुश नेता एक्लै जन्मिँदैन; उसलाई मौन सहकर्मीहरूले जन्माउँछन्। जहाँ प्रश्न मर्छ, त्यहाँ व्यक्तिपूजा जन्मिन्छ। जहाँ व्यक्तिपूजा जन्मिन्छ, त्यहाँ संस्था कमजोर हुन्छ।

आजको वास्तविक बहस केपी ओलीको विकल्प को हो भन्ने होइन। वास्तविक बहस त यस्तो राजनीतिक संस्कृतिको अन्त्य कसरी गर्ने भन्ने हो, जहाँ नेताभन्दा पद ठूलो हुन्छ, सिद्धान्तभन्दा अवसर ठूलो हुन्छ र संस्थाभन्दा व्यक्ति ठूलो हुन्छ। ओलीलाई अध्यक्षबाट हटाउन अहिलेकै दास प्रवृत्तिको दोस्रो पुस्ताबाट सम्भव देखिँदैन। किनभने जो हट्नुपर्ने हो, उसैको अध्यक्षतामा बैठक बसेको दृश्यले पुनर्गठनको आवाज उठाउनेहरूलाई नै गिज्याएको जस्तो लाग्छ।

अध्यक्ष बदल्नु सजिलो छ, तर राजनीतिक संस्कृतिको परिवर्तन कठिन हुन्छ। जबसम्म नेतृत्वको वरिपरि स्वतन्त्र चेत भएका सहकर्मीहरू जन्मिँदैनन्, तबसम्म कुनै पनि दलमा पुनर्गठनको नारा केवल अनुहार फेरिने प्रक्रिया हुनेछ, चरित्र फेरिने होइन। अनि खजान्चीहरू फेरिए पनि दरबार उही रहनेछ।

केपीपछि पौडेल अध्यक्ष ?

civil hospital
Hams Hospitals