तुलिकाघातमा मञ्जरा
वि.सं.२०८३ साउन १९ मंगलवार
shares
काठमाडौं । चित्रकला शिक्षक तथा कलाकार प्रकाश मिजार ‘आर्टिस्ट’ले साहित्यकार बालकृष्ण गजुरेल ‘साहित्यमा स्माइल’को नवीन साहित्यिक कृति ‘मञ्जरा’ माथि विस्तृत समीक्षा प्रस्तुत गर्दै यसलाई जीवन, दर्शन, मनोविज्ञान, संस्कार र मानवीय चेतनाको गहिरो यात्रालाई समेट्ने उत्कृष्ट सिर्जनाका रूपमा व्याख्या गरेका छन्।
अल्पाइन स्कुल, डाँछी काठमाडौंमा अध्यापनरत मिजारले आफूले ‘मञ्जरा’लाई एकपटक मात्र होइन, दोहोर्याएर अध्ययन गरेको उल्लेख गर्दै पहिलो अध्ययनमा सामान्य र सहज लाग्ने कृतिले दोस्रो अध्ययनमा भने शब्द–शब्दमै नयाँ अर्थ, गहिराइ र चुनौती प्रस्तुत गरेको बताएका छन्।
उनका अनुसार ‘मञ्जरा’ केवल एउटा साहित्यिक कृति नभई पाठकलाई आफ्नै जीवन, अनुभव र अस्तित्वसँग संवाद गराउने दार्शनिक दस्तावेज हो।
समीक्षामा मिजारले कृतिको सुरुआत नेपाली समाजको मौलिक परम्परागत पेशा ‘आरन’बाट सुरु हुनु अर्थपूर्ण रहेको उल्लेख गरेका छन्। विज्ञान, परम्परा, जनजीवन, पीडा, संस्कार, संस्कृति, चेतना, दर्शन, मूल्य र मान्यताका अनेक आयामहरूलाई जोड्दै अन्ततः पशुपतिनाथको आध्यात्मिक भावभूमिसम्म पुग्ने संरचनाले कृतिलाई विशेष बनाएको उनको मूल्यांकन छ।
उनले ‘मञ्जरा’लाई दशकौंको साधना र मेहनतबाट तयार पारिएको सिर्जना भन्दै यसमा समेटिएका ६० भन्दा बढी खण्ड र ३०० भन्दा बढी पृष्ठले नेपाली साहित्यमा विशिष्ट स्थान बनाउने विश्वास व्यक्त गरेका छन्।
समीक्षामा कृतिका प्रमुख पात्र ‘साधना’ र ‘विश्वास’ लाई जीवन सफलताको मूल आधारका रूपमा चित्रण गरिएको उल्लेख छ।
मिजारका अनुसार लेखकले यी दुई पात्रलाई केवल पात्रका रूपमा मात्र नभई मानवीय चेतना, ज्ञान, चिन्तन, हृदय र मस्तिष्कबीचको सन्तुलनको प्रतीकका रूपमा प्रयोग गरेका छन्। पात्रहरूका माध्यमबाट जीवनका विविध आयामहरूलाई गहिरो मनोवैज्ञानिक र दार्शनिक दृष्टिकोणबाट प्रस्तुत गरिएको उनको निष्कर्ष छ।
उनले ‘मञ्जरा’मा अन्तरदेशीय सम्बन्ध, भाषा, परम्परा, आधुनिकता, यौवन, प्रेम, धैर्य, यथार्थ र बाध्यताजस्ता विषयलाई अत्यन्त कलात्मक ढंगले प्रस्तुत गरिएको बताएका छन्।
पूर्वीय दर्शन र पाश्चात्य सोचबीचको भिन्नता, शास्त्रीय मान्यता तथा व्यवहारिक जीवनको सत्यलाई लेखकले अत्यन्त सन्तुलित शैलीमा प्रस्तुत गरेको भन्दै मिजारले कृतिलाई “चित्रकारले क्यानभासमा रङ्ग भर्ने शैलीमा शब्दहरूको संयोजन गरिएको साहित्यिक चित्र” को संज्ञा दिएका छन्।
आफू मूलतः चित्रकलासँग आबद्ध व्यक्ति भएको उल्लेख गर्दै मिजारले साहित्य र चित्रकलाबीच गहिरो सम्बन्ध रहेको बताएका छन्।
उनका अनुसार साहित्य शब्दमार्फत चेतना निर्माण गर्छ भने चित्रकलाले रेखा र रङ्गमार्फत त्यही चेतनालाई अभिव्यक्त गर्छ। विधागत रूपमा फरक भए पनि दुवैको उद्देश्य मानव चेतनालाई स्पर्श गर्नु नै रहेको उनको भनाइ छ।
समीक्षामा मिजारले सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर भएका साहित्यकार बालकृष्ण गजुरेलसँग प्रत्यक्ष भेट नभए पनि कला र साहित्यले जोडेको आत्मीय सम्बन्धको स्मरण गरेका छन्।
गजुरेलले आफूलाई ‘मञ्जरा’ उपहारस्वरूप प्रदान गरेको उल्लेख गर्दै उनले त्यसलाई आफ्ना लागि गौरवको विषय बताएका छन्। सामाजिक सञ्जाल तथा मूलधारका सञ्चारमाध्यममा सक्रिय गजुरेल गजल, गीत र लघुकथाका क्षेत्रमा निरन्तर सिर्जनाशील रहेको पनि उनले उल्लेख गरेका छन्।
समीक्षाको अन्त्यमा मिजारले ‘मञ्जरा’को अन्तिम सन्देशलाई विशेष रूपमा उद्धृत गर्दै जीवनको वास्तविक सौन्दर्य उत्तरमा नभई प्रश्नहरूमा रहेको लेखकको दृष्टिकोण अत्यन्त प्रभावशाली रहेको बताएका छन्।
उनका अनुसार—
“जीवनको सबैभन्दा ठूलो कथा अधुरोपनमै बाँच्छ। जहाँ अन्त्य हुँदैन, केवल यात्रा हुन्छ। हरेक यात्रामा मानिसले आफैंलाई पुनः भेट्छ र नयाँ प्रश्न बोकेर अघि बढ्छ।”
यही दार्शनिक निष्कर्षले ‘मञ्जरा’लाई सामान्य साहित्यिक कृतिभन्दा माथि उठाएर जीवनको निरन्तर यात्राको दस्तावेज बनाएको मिजारको समीक्षा छ।
समीक्षाको अन्त्यमा उनले साहित्यकार बालकृष्ण गजुरेल ‘साहित्यमा स्माइल’ लाई ‘मञ्जरा’ जस्तो उत्कृष्ट कृति प्रकाशन गरेकोमा हार्दिक बधाई ज्ञापन गर्दै आगामी साहित्यिक यात्राका लागि सफलताको शुभकामना व्यक्त गरेका छन्।





























