ईभीको बढ्दो बजारसँगै मोबिलिटीमा विदेशी लगानीको सम्भावना, नीतिगत स्थिरतामा जोड
वि.सं.२०८३ साउन २७ बुधवार
shares
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग र बजार विस्तारसँगै मोबिलिटी क्षेत्र विदेशी लगानी (एफडीआई) आकर्षित गर्न सक्ने सम्भावनायुक्त क्षेत्रका रूपमा अघि बढ्न थालेको छ । बढ्दो ईभी बजार, जलविद्युत् उत्पादनमा भइरहेको वृद्धि तथा चार्जिङ पूर्वाधारको विस्तारले नेपाललाई हरित मोबिलिटीमा लगानीका लागि नयाँ गन्तव्यका रूपमा विकास गर्न सक्ने सरोकारवालाहरूले बताएका छन् ।
यही सम्भावनालाई केन्द्रमा राखेर काठमाडौंमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा लगानी, प्रविधि हस्तान्तरण, औद्योगिक विकास र हरित यातायात प्रणालीका विषयमा व्यापक छलफल भएको छ ।नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको पहिलो दिन मंगलबार मात्रै २९ हजारभन्दा बढीले अवलोकन गरेका छन् । एक्स्पोमा विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । आयोजकका अनुसार एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
एक्स्पोको उद्घाटन समारोहमा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नेपालमा मोबिलिटी क्षेत्र तीव्र परिवर्तनको चरणमा प्रवेश गरेको बताइन् । उनका अनुसार मोबिलिटी क्षेत्रलाई केवल सवारीसाधन बिक्री गर्ने बजारका रूपमा नभई लगानी, प्रविधि हस्तान्तरण, रोजगारी र औद्योगिक विकाससँग जोडेर हेर्न आवश्यक छ ।
नेपालमा नयाँ लगानी आकर्षित गर्न नीतिगत स्थिरता र दीर्घकालीन नीति आवश्यक रहेको उनको भनाइ थियो । नीतिमा हुने बारम्बारको परिवर्तनले लगानीकर्तामा अन्योल सिर्जना गर्ने भएकाले सरकारले लगानीमैत्री र पूर्वानुमानयोग्य वातावरण बनाउनुपर्ने उनले बताइन् ।उनले नेपालमा ईभीको प्रयोग बढ्दै गएको अवस्थामा त्यससँग जोडिएका उद्योग तथा पूर्वाधारमा समेत लगानी विस्तार गर्ने अवसर रहेको उल्लेख गरिन् ।
एक्स्पोको पहिलो दिन आयोजित ‘इन्भेष्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेष्टमेन्ट (एफडीआई): मोबिलिटी–फ्युल्ड इकोनोमिक ग्रोथ’ विषयक विशेष छलफलमा सहभागी वक्ताहरूले नेपालमा मोबिलिटी क्षेत्रले विदेशी लगानी आकर्षित गर्ने आधार तयार हुँदै गएको बताएका छन् ।
नेपालमा जलविद्युत् उत्पादन बढ्दै जानु, पेट्रोलियममा निर्भरता घटाउँदै विद्युतीय सवारीतर्फ उपभोक्ताको आकर्षण बढ्नु तथा चार्जिङ पूर्वाधार विस्तार हुनु सकारात्मक आधार भएको उनीहरूको भनाइ छ ।
ईभीको बजार विस्तारसँगै अब सवारीसाधन आयातमा मात्र सीमित नरही उत्पादन, एसेम्बली, ब्याट्री व्यवस्थापन, चार्जिङ स्टेसन, स्पेयर पार्ट्स, सफ्टवेयर तथा प्राविधिक सेवाजस्ता क्षेत्रमा लगानीको सम्भावना बढेको व्यवसायीहरूको धारणा छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिनाले विश्वभर हरित अर्थतन्त्र र स्वच्छ ऊर्जामा आधारित उद्योगहरू लगानीकर्ताको प्राथमिकतामा पर्न थालेको उल्लेख गर्दै नेपालले त्यसबाट लाभ लिन सक्ने बताए ।नेपालमा उपलब्ध स्वच्छ ऊर्जा र बढ्दो विद्युतीय सवारी बजारलाई रणनीतिक रूपमा उपयोग गर्न सके मोबिलिटी क्षेत्र आर्थिक वृद्धिको नयाँ आधार बन्न सक्ने उनको भनाइ थियो ।
उनका अनुसार विश्वव्यापी रूपमा लगानीको प्रवृत्ति वातावरणमैत्री प्रविधि र स्वच्छ ऊर्जातर्फ केन्द्रित भइरहेका बेला नेपालले आफ्नो जलविद्युत् क्षमता र ईभी बजारलाई लगानी आकर्षित गर्ने आधारका रूपमा प्रस्तुत गर्न सक्छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले मोबिलिटी क्षेत्रलाई केवल अटोमोबाइल व्यापारका रूपमा हेर्न नहुने बताए ।उनले मोबिलिटीलाई ऊर्जा, वित्त, पूर्वाधार र प्रविधिसँग जोडिएको एकीकृत आर्थिक इकोसिस्टम का रूपमा विकास गर्नुपर्ने धारणा राखे ।
ईभीको संख्या बढेसँगै बैंक तथा वित्तीय संस्थाका लागि अटो लोन, चार्जिङ पूर्वाधारमा लगानी, ऊर्जा क्षेत्रसँगको सहकार्य तथा नयाँ प्रविधिमा वित्तीय सेवा विस्तार गर्ने अवसरसमेत सिर्जना हुने उनको भनाइ छ ।
व्यवसायीहरूका अनुसार नेपालमा ईभीको बिक्री बढेसँगै यससँग सम्बन्धित सहायक क्षेत्रमा लगानीको ठूलो सम्भावना सिर्जना भइरहेको छ ।विशेषगरी देशभर चार्जिङ नेटवर्क विस्तार, ब्याट्री व्यवस्थापन तथा रिसाइक्लिङ, स्पेयर पार्ट्स उत्पादन, एसेम्बली प्लान्ट स्थापना, मर्मत तथा प्राविधिक सेवा र दक्ष जनशक्ति विकासका क्षेत्रमा लगानी बढाउन सकिने उनीहरूको भनाइ छ ।
नेपालमा ईभीको माग निरन्तर बढ्दै गएमा भविष्यमा सवारीसाधन आयातमा मात्र निर्भर रहनेभन्दा नेपालमै केही तहको उत्पादन तथा एसेम्बली गर्ने वातावरण बनाउन सकिने व्यवसायीहरूले बताएका छन् ।यसले प्रत्यक्ष विदेशी लगानी भित्र्याउनुका साथै प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना र स्थानीय उद्योगको विकासमा समेत योगदान पुर्याउन सक्ने उनीहरूको विश्वास छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई केवल राजस्व संकलनको माध्यमका रूपमा हेर्न नहुने बताए ।उनले यस क्षेत्रलाई औद्योगिक विकास, लगानी प्रवद्र्धन र रोजगारी सिर्जनासँग जोडेर हेर्नुपर्नेमा जोड दिए ।नेपालमा ईभीको बजार विस्तार भइरहेको अवस्थामा सरकारले दीर्घकालीन नीति बनाएर निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो ।
उनका अनुसार सवारीसाधन आयातबाट मात्रै राज्यले राजस्व संकलन गर्नेभन्दा त्यससँग सम्बन्धित उद्योग स्थापना र उत्पादन क्षमता विकास गर्न सके अर्थतन्त्रमा यसको योगदान अझ व्यापक बनाउन सकिन्छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ७ प्रतिशत योगदान पुर्याइरहेको उल्लेख गर्दै यस क्षेत्रमा हुने नयाँ लगानीले आर्थिक गतिविधि थप विस्तार गर्न सक्ने बताए ।उनले मोबिलिटी क्षेत्रमा लगानी बढाउँदा सवारीसाधनको व्यापारसँगै ऊर्जा, बैंकिङ, बीमा, पूर्वाधार, सूचना प्रविधि, मर्मतसम्भार तथा रोजगारीका क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।
व्यवसायी तथा लगानीकर्ताहरूले भने नेपालमा विदेशी लगानी आकर्षित गर्न सबैभन्दा महत्वपूर्ण विषय नीतिगत स्थिरता रहेको बताएका छन् ।ईभी तथा मोबिलिटी क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले लामो समयका लागि लगानी योजना बनाउने भएकाले कर, भन्सार, आयात नीति, विद्युतीय सवारीसम्बन्धी व्यवस्था तथा औद्योगिक नीतिमा बारम्बार परिवर्तन हुँदा लगानी जोखिम बढ्ने उनीहरूको भनाइ छ ।
सरकारले लगानीकर्तालाई स्पष्ट, स्थिर र पूर्वानुमानयोग्य नीति उपलब्ध गराउन सके नेपाल दक्षिण एसियामै हरित मोबिलिटी लगानीको आकर्षक गन्तव्य बन्न सक्ने उनीहरूको विश्वास छ
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लाई आयोजकले नयाँ सवारीसाधन प्रदर्शन गर्ने थलोका रूपमा मात्रै नभई नेपालको बदलिँदो मोबिलिटी क्षेत्र र त्यसमा सिर्जना भइरहेका लगानीका सम्भावना प्रस्तुत गर्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा अघि सारेको छ ।एक्स्पोमा ईभी, हाइब्रिड तथा अन्य नयाँ प्रविधिमा आधारित सवारीसाधनसँगै मोबिलिटीसँग सम्बन्धित प्रविधि, सेवा र पूर्वाधारबारे जानकारी दिइएको छ ।
विभिन्न ब्रान्डका ४८ नयाँ मोडल सार्वजनिक हुनु र पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकको सहभागिता हुनु नेपाली बजारमा नयाँ प्रविधि र विद्युतीय सवारीप्रति बढ्दो चासोको संकेतका रूपमा हेरिएको छ ।आयोजकका अनुसार एक्स्पोमा करिब डेढ लाख दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
समग्रमा, नेपालमा ईभीको बढ्दो बजार, जलविद्युत् उत्पादनको विस्तार र चार्जिङ पूर्वाधारको विकासले मोबिलिटी क्षेत्रलाई नयाँ लगानीको आधार बनाउन सक्ने देखिएको छ । तर त्यसका लागि नीतिगत स्थिरता, लगानी सुरक्षा, पूर्वाधार विकास र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाहरूको निष्कर्ष छ ।
नाइमा मोबिलिटी एक्स्पोको भव्य उद्घाटन, पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक





























