काभ्रे रेडक्रसका पूर्वमन्त्री तामाङमाथि गम्भीर आरोप, महत्वपूर्ण कागजात र मोटरसाइकल नबुझाएको दाबी
वि.सं.२०८३ असोज २ शुक्रवार
shares
काभ्रेपलान्चोक । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला शाखाका पूर्वमन्त्री हेमलाल तामाङमाथि शाखाको सम्पत्ति, महत्वपूर्ण कागजात तथा कार्यालयीय सामग्री व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ।
२०७९ भदौ ३१ गते सम्पन्न जिल्ला शाखाको निर्वाचनबाट मन्त्री पदमा निर्वाचित तामाङ लामो समयदेखि रेडक्रस अभियानमा आबद्ध रहेको बताइन्छ। जुनियर युवा रेडक्रसदेखि शिक्षक नायक तथा स्वयंसेवकका रूपमा काम गर्दै काभ्रेका विभिन्न उपशाखा र पालिका तहमा योगदान गरेको उनको समर्थकहरूको दाबी छ।
तर, मन्त्रीको जिम्मेवारीमा रहँदा उनले शाखाको गोदाम अद्यावधिक गर्ने क्रममा आफन्त तथा आफू निकट राजनीतिक कार्यकर्तालाई सामग्री वितरण गरेको आरोप लगाइएको छ। आरोप लगाउने पक्षले गोदाममा रहेका सामग्रीको वितरण प्रक्रिया पारदर्शी नभएको र त्यसको अभिलेख तथा जिम्मेवारीबारे छानबिन आवश्यक रहेको जनाएको छ।
त्यस्तै, शाखाको प्रयोगमा रहेको बा.७७ प २४११ नम्बरको होण्डा मोटरसाइकल तामाङले आफ्नो कार्यकालमा बुझेको तर हालसम्म शाखालाई फिर्ता नगरेको आरोप पनि लगाइएको छ। उनी स्वयं मोटरसाइकल चलाउन नजान्ने भए पनि उक्त मोटरसाइकल आफन्तमार्फत प्रयोग गराइएको दाबी गरिएको छ। मोटरसाइकल हाल कसको जिम्मामा छ र शाखाको अभिलेखमा यसको अवस्था के छ भन्ने विषय स्पष्ट हुनुपर्ने माग उठेको छ।
२०८१ कात्तिक ३ गते भएको जिल्ला कार्यसमितिको निर्वाचनमा मन्त्री पदमा पराजित भएपछि पनि तामाङले शाखाको माइन्युट बुक, दराजको चाबी तथा अन्य महत्वपूर्ण कागजातहरू जिम्मेवारी हस्तान्तरण नगरेको आरोप छ। यसले जिल्ला शाखाको प्रशासनिक निरन्तरता र अभिलेख सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउने पक्षको भनाइ छ।
तामाङको राजनीतिक आबद्धताका विषयमा समेत प्रश्न उठाइएको छ। उनी नेपाली कांग्रेससँग लामो समयदेखि जोडिएको र २०५१ सालमा जिल्ला विकास समिति सदस्यदेखि महासमिति सदस्यसम्मको जिम्मेवारीमा रहेको तथा कांग्रेस जिल्ला अधिवेशनमा सचिव पदका लागि उम्मेदवार बनेको विवरण सार्वजनिक रूपमा उल्लेख हुने गरेको छ।
यद्यपि, पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टी निकट रहेको दाबी गर्दै केही पक्षले काभ्रे रेडक्रस जिल्ला शाखाको वर्तमान कार्यसमिति समयावधि पूरा नहुँदै विघटन गराउन राजनीतिक दबाब दिएको आरोप लगाएका छन्। आफ्ना निकटका व्यक्तिहरूलाई जिल्ला रेडक्रसमा जिम्मेवारी दिने विषयमा सोधपुछ गरेकोसमेत आरोप लगाइएको छ।
यसैबीच, तामाङ नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष डा. विशाल भण्डारी र महामन्त्री ऋषिरमण खनालसँग निकट रहेर काम गरिरहेको दाबीसमेत गरिएको छ। केन्द्रीय समितिको कार्यकाल, नयाँ नेतृत्व तथा केन्द्रीय सदस्य चयनसम्बन्धी विषयमा मन्त्रालयमा समेत सक्रिय रहेको आरोप लगाउने पक्षको भनाइ छ।
तर, यी आरोपहरूबारे तामाङको आधिकारिक धारणा सार्वजनिक रूपमा स्पष्ट हुन बाँकी छ। आरोप पुष्टि हुन बाँकी रहेकाले मोटरसाइकल, कार्यालयीय कागजात, गोदाम सामग्री वितरण तथा शाखा विघटनका लागि दबाब दिएको भनिएको विषयमा सम्बन्धित निकायबाट अभिलेख, निर्णय पुस्तिका, सम्पत्ति दर्ता तथा हस्तान्तरण विवरणको छानबिन आवश्यक देखिन्छ।
रेडक्रसजस्तो मानवीय संस्थामा पदाधिकारीको जिम्मेवारी परिवर्तन हुँदा सम्पत्ति, कागजात र कार्यालयीय सामग्रीको विधिवत् हस्तान्तरण हुनु संस्थागत पारदर्शिता र जवाफदेहिताका दृष्टिले महत्वपूर्ण मानिन्छ। त्यसैले काभ्रे शाखामा उठेका प्रश्नहरूको आधिकारिक अभिलेख र सम्बन्धित पक्षको जवाफका आधारमा यथार्थ सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटीका हालका केन्द्रीय अध्यक्ष डा. विशाल भण्डारी र महामन्त्री ऋषिरमण खनालमाथि पनि विवादित तथा संगठनभित्र विभाजन सिर्जना गरेका पात्रहरूलाई साथमा लिएर हिँडेको र संरक्षण गरेको आरोप लागेको छ। सरोकारवालाहरूले नेतृत्वले यस्ता पात्रहरूलाई जिम्मेवारी र पहुँच दिँदै जाँदा उनीहरूको प्रभाव रेडक्रसमा झन् बलियो हुँदै गएको दाबी गरेका छन्।
आरोप लगाउने पक्षका अनुसार, विवादमा परेका व्यक्तिहरूमाथि छानबिन र संस्थागत कारबाही अघि बढाउनुको सट्टा नेतृत्वकै संरक्षण प्राप्त हुँदा उनीहरूले रेडक्रसमा ‘जरा गाडेर’ बस्ने अवस्था सिर्जना भएको छ। यसले व्यक्ति विशेषको संरक्षण मात्र होइन, समग्र संस्थालाई नै विवाद र गुटबन्दीको चक्रमा धकेलेको आरोप छ।
सरोकारवालाहरूको प्रश्न छ—यदि कुनै पात्रमाथि सम्पत्ति, प्रशासनिक जिम्मेवारी, संस्थागत अनुशासन वा अन्य विषयमा गम्भीर प्रश्न उठेका छन् भने त्यस्ता व्यक्तिलाई संरक्षण गर्ने होइन, निष्पक्ष छानबिनको दायरामा ल्याउनुपर्ने होइन र?
भण्डारी र खनालले विवादित पात्रहरूलाई निरन्तर साथ दिएको आरोप सत्य भएमा यसले नेतृत्वको जवाफदेहिता, पारदर्शिता र संस्थागत सुशासनमाथि नै गम्भीर प्रश्न खडा गर्ने सरोकारवालाहरूको भनाइ छ। उनीहरूका अनुसार, रेडक्रसलाई गुट, पहुँच र व्यक्तिको प्रभावबाट मुक्त नगरेसम्म संस्थाभित्रको विवाद अन्त्य हुने सम्भावना कमजोर रहन्छ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
रेडक्रसका सल्लाहकारले लुकाएको मोटरसाइकल समाचार प्रकाशित भएको तीन घण्टामै प्रहरी नियन्त्रणमा






























